सहुलियत बजारबाट ४८ सय क्विन्टल बढी खाद्यान्य बिक्री



काठमाडौं । कोरोना महामारीको समयमै सरकारको तर्फबाट खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सञ्चालनमा ल्याएको सहुलियत बजारले हालसम्ममा ४८ सय क्विन्टलभन्दा बढी खाद्यान्य सामान बिक्री गरेको छ । गत असोज १५ बाट सञ्चालनमा आएको सहुलियत बजारले हालसम्ममा ४ हजार ८ सय ४८ क्विन्टल खाद्य बिक्री गरेको हो ।

हाल देशभरको २९ वटा स्थानमा सहुलियत बजार सञ्चालन रहेका छन् । जसमा उपत्यकामा ५ स्थानमा र उपत्यका बाहिर २४ स्थानमा सहुलियत बजार सञ्चालनमा रहेको छ । कम्पनीले हालसम्ममा उपत्यका बाहिर बिक्री गरेको चामलको मात्रै तथ्याङ्क समावेश गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ ।

त्यस्तै, उपत्यकामा मात्रै कम्पनीले कर्णालीको सिमी ४० क्वीन्टल, फापर १५६ क्विन्टल, सिमी १० क्विन्टल, विभिन्न थरीको दाल गरेर १३ क्विन्टल, केराउ १.७ क्विन्टल खाद्य बिक्री भएको कम्पनीको सुचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् ।

त्यसैगरी , सहुलियत बजारबाट हालसम्म सबैभन्दा बढी बिक्री उपत्यकामा काठमाडौंले गर्दै आएको छ भने उपत्यका बाहिर सुर्खेत र धनगढी रहेको उनले बताइन् ।

सहुलियत बजारबाट ३६ लाख ५८ हजार छुट

कम्पनीले विभिन्न खाद्य सामानमा बजार मूल्यभन्दा करिब ५ देखि १० रुपैयाँ कम मूल्यमा खाद्य सामान बिक्री गर्दै आएका छन् । गत असोज १५ बाट सञ्चालनमा आएको सहुलियत बजारले विभिन्न खाद्य सामानमा छुट दिई हालसम्म आइपुग्दा करिब ३६ लाख ५८ हजार ग्राहकलाई छुट दिएको कम्पनीको सुचना अधिकारी सुवेदीले बताइन् ।

त्यसैगरी, कम्पनीले दशैंको लागि १६ सय खसी बोका ल्याउने तयारी गरेको थियो । तर, कम्पनीले १५ सय १० वटा मात्रै ल्याएको उनले बताइन् । पहिलो चरणमा कम्पनीले एक हजार खसी बोका ल्याएका थियो । पहिलो चरणमा उल्लेखनीय बिक्री भएको कारण दोस्रो चरणमा भने ५ सय १० मात्रै ल्याएको उनको भनाइ छ ।

कम्पनीले चालु आर्थिक वर्षमा च्याङ्ग्रा नल्याउने भएपछि खसीबोकाको माग भएमा थप गर्ने भनिएको थियो तर, कम्पनीले फुलपातीसम्म मात्रै खसी बोका बिक्री गर्ने समय भएकाले दुई चरणमा १५ सय १० वटा खसी बोका बिक्री गरेको छ ।

६० हजार मेट्रिक टन धान खरिद गर्ने तयारीमा कम्पनी

कम्पनीले सँधैझैं यो वर्ष पनि धान खरिद गर्न शुरू गरेको छ । कम्पनीले चालु आर्थिक वर्षमा ६० हजार मेट्रिक टन धान खरिद गर्ने तयारी गरेको कम्पनीको सुचना अधिकारी सुबेदी बताउँछिन् । ‘धान खरिदमा राजापुर र धनगढीबाट शुरु भइसकेको छ,’ उनले भनिन्, ‘राजापुरमा १३ गतेबाट धान खरिद गर्न शुरु गरेको थियो भने धनगढीमा सोमबारबाट शुरु भएको छ ।’

उनका अनुसार अन्य कार्यालयबाट पनि खरिद गर्ने तयारी भइरहेको बताइन् । जसमा खरिद गरेको धानमा बजारको मूल्यभन्दा करिब २ सय रुपैयाँ महँगो हुन पुग्ने उनको दाबी छ ।


क्लिकमान्डु