प्रम ओलीको कार्यकालमा संसदको अन्तिम बैठक बस्नेगरी संसद भवन बनाउनुः मन्त्री श्रेष्ठ
काठमाडौ । शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले सिहदरबार भित्र निर्माणाधिन संघीय संसद भवन र ललितपुरका भैसेपाटीमा निर्माण भैरहेको संघीय मन्त्री, प्रदेश मुख्यमन्त्री र प्रदेशप्रमुखको आवास भवन निर्माणको अवलोकन गरेका छन् ।
शहरी विकास मन्त्रालय अन्तर्गतको गौरबको आयोजना अवलोकन गर्ने गर्ने क्रममा मन्त्री श्रेष्ठले दुई स्थानको संरचना अवलोकन गरेका हुन् ।
शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयले अन्तर्गत निर्माण भैरहेको संघीय संसद भवन र मन्त्री, मुख्यमन्त्री र प्रदेश प्रमुखको आवास भवनको प्रगतिबारे जानकारी लिन मन्त्री श्रेष्ठ निर्माण स्थल पुगेका हुन् । अवलोकन गर्ने क्रममा मन्त्री श्रेष्ठले तोकिएकै समयमा निर्माण सम्पन्न गर्न निर्देशन दिए ।
‘गुणस्तरमा कुनै कमी कमजोरी नहुने गरी तोकिएकै समयमा निर्माण गर्न सरकारले जस्तोसुकै सहयोग गर्न तयार छ’ उनले भने ‘मैले यो आशा राखेको छु कि संघीय संसदको अन्तिम बैठक यही भवनमा बस्नेछ ।’
संघीय संसद भवन आयोजना प्रमुख प्रकृण तुलाधरले कोभिड संक्रमणको कारण निर्माण सम्पन्न हुन केही ढिलो हुनसक्ने बताए । तोकिएकै समयमा सम्पन्न गर्नेगरी कम्पनीलाई दबाव दिइसकेको र छठ लगत्तै करिब एक हजार मजदुर परीचालन गरी तोकिएकै समयमा सम्पन्न गर्ने लक्ष लिएको बताए ।
‘दुई सिफ्ट गरेर भएपनि २४ घण्टा काम गर्नेगरी तयारी भैरहेको छ’ उनले भने ‘केही प्राविधिक कठिनाई बाहेक अन्य कुनै समस्या छैन ।’
शहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाल सिंहले गुणस्तरमा कुनै कम्परमाइज नहुनेगरी योजना अघि बढिरहेको बताए । प्रधानमन्त्री केपी ओलीको कार्यकालमा संसदको अन्तिम बैठक बस्न मिल्नेगरी काम गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिदै सचिव सिहले समस्या परे तल्काल समाधान गर्ने आश्वासन दिए ।
शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले कोभिडको कारण काम गर्न केही समस्या भएको स्वीकार्दै अब जस्तो परिस्थिति भएपनि कामलाई निरन्तर रुपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
सिहदरबारको पुतली बगैँचामा १ सय ७३ रोपनी क्षेत्रफलमा प्रतिनिधि सभा, राष्ट्रिय सभा, अति विशिष्ट व्यक्तिको कार्यालय भवन, संसदीय दल, समिति, सचिवालय, चमेनागृह र प्रिन्टिङ प्रेस भवन रहनेछ । भवन परिसरमा ७ सय सवारी पार्किङ गर्ने व्यवस्था रहेको छ ।
भवनको गत असोज १ गते प्रधानमन्त्री केपी ओलीले सिलान्यास गरेका थिए । चालु आवमा २५ प्रतिशत प्रगति गर्ने योजना भएपनि हालसम्म करिब १२ प्रतिशत मात्र प्रगति भएको आयोजना प्रमुख प्रकृण तुलाधरले जानकारी दिए । उक्त परियोजनाको अवधी २०७९ असोज १५ सम्म रहेको छ ।
त्यसैगरी भैसेपाटी स्थित मन्त्री, मुख्यमन्त्री, र प्रदेश प्रमुखको निवास अवलोकन गर्न पुगेका मन्त्री श्रेष्ठले समयमा काम सम्पन्न निर्देशन दिए । उनले काम सन्तोषजनक भएको भन्दै समयमै सक्नेगरी थप मजदुरको व्यवस्थापन गर्न आग्रह गरेका छन् ।
गत कातिक २७ बाट सम्झौता भएर आगामी वर्ष २७ गते सम्पन्न गर्नेगरी तयार भएको मन्त्री २४ वटा मन्त्री निवास उपसभामुख, राष्ट्रिय सभाको अध्यक्षको भवनको लागत १ अर्ब ३ करोड रहेको छ । मुख्यमन्त्री र प्रदेश प्रमुखको निवासको लागत ७२ करोड ४७ लाख छ ।