कोरोना बीमामा १ अर्ब २० करोड रुपैयाँको बक्यौता, बीमामा उठ्यो विश्वसनियताको प्रश्न
काठमाडौं । कोरोना बीमामा १ अर्ब ३६ करोड ५९ लाख ५० हजार रुपैयाँको दावी परेको छ । जसमध्ये १६ करोड २३ लाख ५० हजार रुपैयाँमात्र कम्पनीहरुले बीमितलाई दावी भुक्तानी गरेको छन् ।
निर्जीवन बीमा कम्पनीहरुमार्फत् गत बैशाखबाट शुरु भएको कोरोना बीमा लेख बिक्री गरी हालसम्म कम्पनीहरुले प्रिमियम भने ८७ करोड ८७ लाख ७९ हजार रुपैयाँ संकलन गरेका छन् । जुन कम्पनीमा परेको दावी भुक्तानीको रकमको तुलनामा ३५.६७ प्रतिशत अर्थात् ४८ करोड ७१ लाख ७० हजार रुपैयाँ बढी हो ।
बीमा समितिद्वारा उपलब्ध तथ्यांकअनुसार कोरोना बीमा गरी संक्रमित भएका १४ हजार १ सय ५१ जना बीमितले दावी गर्दा हालसम्म १ हजार ७ सय जनाले मात्र भुक्तानी पाएका छन् । कोरोना बीमा दावी गर्ने १२ हजार ४ सय ५१ जना बीमितले १ अर्ब २० करोड ३६ लाख रुपैयाँ भुक्तानी हालसम्म नपाएका हुन् ।
सञ्चालनमा रहेका २० वटा निर्जीवन बीमा कम्पनीहरुमार्फत भइरहेको कोरोना बीमा दावीमा शिखर इन्स्योरेन्स, राष्ट्रिय बीमा र नेको इन्स्योरेन्स कम्पनीको दावी भुक्तानी बक्यौता १० करोड माथि छ । साथै अन्य कम्पनीहरुको दावी भुक्तानी बक्यौता १ करोड रुपैयाँ भन्दा बढी छ ।
कुन कम्पनीमा कति कोरोना दावी ?
हालसम्म सबैभन्दा बढी शिखर इन्स्योरेन्सले २ हजार १ सय ५५ जना बीमितको २० करोड ८९ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ । कम्पनीमा २ हजार ४ सय ७१ जना बीमितले २३ करोड ९६ लाख रुपैयाँ बरारबरको दावी गरेका थिए ।
यस्तै, राष्ट्रिय बीमा कम्पनीमा हालसम्म १ हजार ४ सय ८३ जना बीमितले १४ करोड ८३ लाख बराबरको दावी गरेको थिए ।जसमा कम्पनीले १ हजार ४ सय ६४ जना बीमितको १४ करोड ६४ लाख दावी भुक्तानी गर्न बाँकी छ ।
नेको इन्स्योरेन्समा हालसम्म ११ करोड ५८ लाख रुपैयाँ बराबरको १ हजार २ सय ४२ वटा कोरोना बीमा दावी परेको छ । जसमध्ये कम्पनीले १ हजार १ सय २० वटा दावीको १० करोड ४२ लाख ५० हजार रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।
हालसम्म कोरोना बीमा गर्ने कम्पनीहरु मध्ये हालसम्म सगरमाथा इन्स्योरेन्समा ८ सय ९४ जना बीमितको ८ करोड ८२ लाख, हिमालयन इन्स्योरेन्समा ८ सय ४७ जना बीमितको ८ करोड २ लाख रुपैयाँ र आइएमइ जनरल इन्स्योरेन्समा ७ सय ६४ जना बीमितको ७ करोड ६२ लाख रुपैयाँ बढीको दावी भुक्तानी हुन बाँकी छ ।
यसैगरी, लुम्बिनी जनरल इन्स्योरेन्समा ७ सय ३८ जना बीमितको ७ करोड ३५ लाख रुपैयाँ, युनाइटेड इन्स्योरेन्समा ७ सय जना बीमितको ६ करोड ३५ लाख रुपैयाँ र प्रभु इन्स्योरेन्सले ४ सय ७३ जना बीमितको ४ करोड ७२ करोड रुपैयाँ बढी कोरोना बीमा दावी भुक्तान गर्न बाँकी छ ।
यसैगरी, एनएलजी इन्स्योरेन्सले ४ सय ८२ जनाको ४ करोड ६३ लाख रुपैयाँ, सानिमा जनरल इन्स्योरेन्सले ४ सय ६७ जना बीमितको ४ करोड ६१ लाख रुपैयाँ, एभरेष्ट इन्स्योरेन्सले ४ सय ७७ जना बीमितको ४ करोड ३१ लाख रुपैयाँ र पुडेन्सियल इन्स्योरेन्सले ३ सय ३४ जना बीमितको ३ करोड ७६ लाख रुपैयाँ बढी दावी भुक्तानी वितरण गर्न बाँकी छ ।
बीमा समितिद्वारा प्राप्त तथ्यांक अनुसार हालसम्म सिद्धार्थ इन्स्योरेन्सले २ सय ८७ जना बीमितको २ करोड ८६ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले २ सय ३२ जना बीमितको २ करोड २७ लाख रुपैयाँ र जनरल इन्स्योरेन्सले २ सय १३ जना बीमितको २ करोड ९ लाख रुपैयाँ कोरोना दावी भुक्तानी हुन बाँकी छ ।
यस्तै, हालसम्म ओरिन्टयल इन्स्योरेन्सले २ सय १८ जना बीमितको १ करोड ९५ करोड रुपैयाँ, प्रिमियर इन्स्योरेन्सले १ सय ८२ जना बीमितले १ करोड ७८ लाख रुपैयाँ र अजोड इन्स्योरेन्सले १ सय ८० जना बीमितको १ करोड ६४ लाख रुपैयाँ कोरोना बीमा दावी भुक्तानी गर्न बाँकी छ ।
कुन कम्पनीले कति दावी भुक्तानी बक्यौता (सुचीमा)