प्रचण्डलाई ओलीले भनेः अब अलग्गिनु !
काठमाडौं । अन्ततः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटको संघारमा पुगेको छ ।
नेकपाका अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई पार्टीबाट अलग हुन प्रस्ताव गरेसँगै पार्टी फुटको अन्तिम संघारमा पुगेको छ ।
स्रोतका अनुसार दाहालले नीजि निवास खुमलटारमा आयोजना गरेको सचिवालयका सदस्यहरुसँगको बैठकमा ओलीले आफूलाई अलग हुन भनेको कुरा सार्वजनिक गरेका हुन् ।
बैठकमा नेकपाका वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल,उपाध्यक्ष वामदेब गौतम,पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका साथै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ समेत रहेका थिए ।
पछिल्लो समयमा ओलीले पार्टीका बहुमत नेताले गरेको निर्णय नमान्ने र आफूले भनेको कुरा नै हुनुपर्छ भन्ने खालको प्रवृति देखाएपछि सँगै बाँकी यात्रा तय गर्न सम्भव नहुने अवस्थामा पुगेको दाहालको तर्क रहेको छ ।
केही समयअघि नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले नेकपा फुट नजिक पुगेको तर्फ संकेत गर्दै सामाजिक संजाल ट्वीटरमा ट्विट गरेका छन् । अर्थमन्त्री समेत रहेका नेकपा महासचिव पौडेललले पार्टी एकता गंभीर संकटको मोडमा आईपुगेको बताएका छन् ।
उनले नेतृत्व तहमा उत्पन्न अन्तरविरोधले पार्टी एकताको औचित्य खण्डित नसक्ने तथा आपसी अन्तरविरोधलाई संवादको कार्यसूची बनाउन, सहमतिका साथ समाधान खोज्न र पार्टी एकताको रक्षा एवम् विकासका लागि सकारात्मक योगदान गर्न समस्त नेता, कार्यकर्तालाई अनुरोध गरेका छन् ।