कोरोना संक्रमणबाट मुक्त भएपछि नयाँ गन्तव्य खोज्न पर्यटनमन्त्री तिलिचोमा



काठमाडौं । कोरोना संक्रमणबाट मुक्त भएपछि संस्कृती पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराई आन्तरिक पर्यटनहरुको लागि उत्कृष्ट गन्तव्यको खोजिमा निस्केका छन् ।
कोरोना संक्रमणबाट निको भएपछि पहिलो पटक मन्त्री भट्टराई विश्वकै अग्लो स्थानमा रहेको मनाङ जिल्लामा रहेको तिलिचो तालमा पुगेका छन् ।

मन्त्री भट्टराईले तिलिचो ताल क्षेत्रबाट ४ हजार ९१९ मिटर उचाइमा रहेको ताल पर्यटकीय हिसाबले निकै महत्वपूर्ण भएको बताए । मन्त्री भट्टराईले तिलिचो ताल क्षेत्रमा घुम्न जानेका लागि गर्नु पर्ने सवारी र पैदल यात्राको बारेमा समेत जानकारी गराएका छन् ।

‘हामीले पर्यटकीय क्षेत्रको रुपमा रहेको तिलिचो ताल क्षेत्रलाई कसरी विकास गर्न सकिन्छ, अझै धेरै भन्दा धेरै स्वदेशी तथा विदेशी पर्यटक आउने गन्तव्य कसरी बनाउन सकिन्छ भनेर अवलोकन गर्न यहाँ आएका हौ’ मन्त्री भट्टराईले भने ‘कथा उपन्यास लगायतमा स्वर्गको कुरा सुन्ने गरेको भएपनि तिलिचो ताल क्षेत्र पनि स्वर्गको एक टुक्रा भएकोले यो क्षेत्र भ्रमण गर्न आग्रह गर्दछु ।’

मन्त्री भट्टराईले तिलिचो क्षेत्रमा चालु आर्थिक वर्षमा नै ३ वटा सार्वजनिक शौचालय र एउटा विश्राम गृह निर्माण गर्ने बताए । त्यसको लागि बजेट समेत विनियोजन गर्ने मन्त्री भट्टराईको भनाइ छ । उनले त्यस क्षेत्रको विकासको लागि अन्य काम पनि गर्ने बताए ।

भ्रमणमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मी लगायत उपस्थित रहेका थिए ।

तिलिचो ताल पुग्नको लागि लमजुङको बेशिसहर हुँदै जानुपर्छ । बेशिसहरबाट मध्य हाईड्रोपावरको सुरुङमार्ग हुँदै मनाङको चामेबाट खाङ्सारसम्म सवारी साधानमा पुग्न सकिन्छ ।

खाङ्सारबाट पैदलयात्रा जानुपर्छ । त्यसको लागि खाङ्सारबाट ५ घण्टा वा सो भन्दा केही बढी पैदलयात्रा गरेपछि ४ हजार १५० मिटरको उचाईमा रहेको तिलिचो बेसक्याम्प पुगिन्छ ।

बेसक्याम्पबाट ताल पुग्न झण्डै ६ घण्टा लाग्नेछ । त्यसको लागि मानिसको हिँडाइमा समेत भरपर्छ ।

मन्त्री भट्टराईसहितको टोली शनिबार उक्त क्षेत्र पुगेर शनिबार नै काठमाडौं फर्केका हुन् ।


क्लिकमान्डु