अर्थतन्त्र पुरानो लयमा फर्काउन चुनौती : अर्थमन्त्री पौडेल



अर्थमन्त्री विष्णु पौडेलले कोभिडका कारण देशको अर्थतन्त्रमा देखिएको संकुचनलाई पुरानै लयमा फर्काउन चुनौतिपूर्ण रहेको बताएका छन् ।

कोभिड संक्रमणको जोखिमका कारण देशको उत्पादन र रोजगारीमा गम्भिर प्रभाव परेकोले अर्थतन्त्रमा संकुचन देखा परेको बताए । शनिबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)का पदाधिकारीहरुसँग सिंहदरबारमा भएको भेटमा अर्थमन्त्री पौडेलले उत्पादन र रोजगारीमा परेको असरले देशको अर्थतन्त्रमा गम्भिर संकुचन देखा परेको बताए ।

कोभिडको कारण देखा परेको संकुचनलाई पुरानै लयमा फर्काउन चुनौतिपूर्ण भएपनि आफुले अधिकतम प्रयास गर्ने उनले बताए । स्वास्थ्य सजगता अपनाउँदै उत्पादन बढाउने र रोजगारी सिर्जना गरी अर्थतन्त्रलाई चलायमान बनाउने तर्फ अर्थमन्त्री पौडेलले जोड दिए ।

मानिसको जीवन र जिविकाको रक्षाको निमित्त अहिलेको परिस्थितिको सीमा भित्र रहेर चुनौतिहरुलाई सामना गर्दै रोजगारी बढाउने समेत अर्थमन्त्री पौडेलले स्पष्ट पारे ।

त्यसका लागि स्वास्थ्य सुरक्षाका मापदण्डलाई अपनाएर आर्थिक क्रियाकलापलाई अगाडी बढाई समग्र आर्थिक जीवनलाई गतिशिल बनाउन सरकार प्रतिवद्ध रहेको उनले  बताए ।


क्लिकमान्डु