कोभिड संकटलाई न्यूनिकरण गर्न प्याकेज घोषणाको तयारीमा अर्थमन्त्री पौडेल



काठमाडौं । अर्थमन्त्री बिष्णु पौडेलले कोभिडको असरलाई न्यूनिकरण गर्नको लागि राहतको प्याकेजको तयारी थालेका छन् ।

अर्थमन्त्री पौडेलले अहिले पुरक बजेट नल्याउने र यही बजेटबाट नै राहतको प्याकेज ल्याउने तयारीमा रहेका हुन् ।

‘अर्थमन्त्रीले पहिलो प्राथमिकता कोभिड १९ लाई थप फैलन नदिनको लागि चेकजाँच गर्न र उपचार गर्नको लागि प्रयाप्त रकम उपलबध गराउनु हो, त्यसपछि अर्थतन्त्रमा कोभिड असरको न्यूनिकरण गर्नको लागि केही राहत प्याकेज ल्याउने हो,’अर्थमन्त्री निकट स्रोतले भन्यो ।

अर्थमन्त्री पौडेलले अहिले सबै पक्षसँग अर्थतन्त्र सुधारको विषयमा छलफल गरेका छन् । दशैंको समयमा समेत अर्थमन्त्री पौडेलको ध्यान त्यसैमा थियो ।

अर्थमन्त्री पौडेललाई सुझाव दिएका केही अर्थशास्त्रीले पुरक बजेट समेत ल्याउन सुझाव दिएका थिए । जेठ १५ मा अर्थमन्त्री खतिवडाले ल्याएको बजेट अनुसार देशको अर्थतन्त्र चलाउन कठिन हुने र कोभिड असर बढ्ने हुँदा सो अनुसार पुरक बजेट ल्याउन सुझाव अर्थशास्त्रीहरुले दिएका थिए ।

मन्त्री परिवर्तन भएपनि पुरक बजेट ल्याउनको लागि प्रधानमन्त्री नै सहमत हुने सम्भावना देखिएको थिएन । जसको कारण पुरक बजेटको च्याप्टर क्लोज नै भइसकेको छ । अर्थमन्त्री पौडेलले बजेटको मध्यावधी समिक्षा मार्फत केही प्राथमिकताहरु परिवर्तन गर्ने छन् ।

निजी क्षेत्रले जेठ १५ मा खतिवडाले ल्याएको बजेटमा नै स्टिमुलस प्याकेज घोषणा गर्न माग गरेको थियो । बजेटबाट भने निजी क्षेत्र पूर्ण रुपमा निराश भएको थियो । त्यसपछि केन्द्रिय बैंकले ल्याएको मौद्रिक नीतिले ऋणको पुनरसंरचना लगायतको सुविधा दिएपनि अर्थतन्त्रले लय समाप्त भने सकेको छैन ।

पछिल्लो तीन महिनामा दुई पाङ्ग्रे सवारी साधनको बिक्री राम्रो भएपनि अन्य क्षेत्रमा अझै माग बढेको छैन ।

लकडाउन हटेको तथा दशैंको कारण केही क्षेत्रमा माग बढेको थियो । जसको प्रभाव अनुसार असोजसम्म नराम्रो भन्न नसकिने स्थितीमा राजस्व संकलन भएको छ ।

सरकारले कोरोना भाइरस संकम्रण रोक्नको लागि चालेको कदम प्रभावकारी भएको छैन । यो भाइरस अझै फैलने र पुनः लकडाउन नै गर्नुपर्ने स्थिती समेत आउने खतरा स्वास्थ्य विज्ञहरुले दिएका छन् । कोभिड फैलनबाट रोक्नको लागि सम्भावित संक्रमितको पहिचान र परिक्षण नै हो । जसको लागि स्रोत जुटाइदिने काम अर्थमन्त्री पौडेलको हो । यसको लागि स्रोत कमी हुन नदिने प्रतिबद्धता पौडेलले गरेका छन् ।

राहत प्याकेजको लागि सबै क्षेत्रसँग अर्थमन्त्रीले छलफल गर्ने छन् । अहिले अर्थतन्त्रको प्राविधिक विषयमा अर्थमन्त्रीलाई सल्लाहकार प्रकाश श्रेष्ठले सहयोग गरेका छन् । मौद्रिक अर्थशास्त्रका जानकार श्रेष्ठ अहिले अर्थमन्त्रीको कोरटिमभित्र छन् । यसबाहेक केही अर्थशास्त्रीहरुले समेत अर्थमन्त्री पौडेललाई सहयोग गरेका छन् ।


क्लिकमान्डु