आज टीका लगाउने उत्तम साइत १०ः१९ बजे



काठमाडौं । विजयादशमीको दिन आज देवी विसर्जनको साइत बिहान १० बजेर ११ मिनेट र टीका ग्रहण गर्ने उत्तम साइत १० बजेर १९ मिनेट रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

बिजया दशमीका दिन मान्यजनबाट शुभ साइतमा रातो टीका र जमरा लगाइन्छ । जसलाई नव दुर्गा भवानीको प्रसाद पनि भनिन्छ ।

टिका लगाउने साइत १० बजेर १९ मिनेटमा भने पनि यो दिनभर नै शुभ साइत हुने भएकाले १० बजेर १९ मिनेटपछि जुनसुकै समयमा साइत नहेरी टिका लगाउन सकिन्छ ।

यो दिन गुरु पुरोहितका साथै हजुरबुबा, हजुरआमा, बुबा, आमा, मान्यजनका साथै ठूलाबडाबाट नवदुर्गा भवानीको प्रसाद स्वरुप टीका, जमरा लगाएर आशिर्वाद दिने गरिन्छ । आजदेखि पाँच दिन अर्थात कोजाग्रत पूर्णिमासम्म टीका, जमरा लगाउने चलन रहेको छ ।

यो पर्वलाई असत्यमाथि सत्यको जीतको रुपमा लिने गरिन्छ । सत्ययुगमा देवीले महिषासुर र त्रेता युगमा रामले रावणमाथि आजकै दिन विजय प्राप्त गरेको किम्बदन्तीमा उल्लेख छ । यो नेपाली हिन्दु धर्मावलम्बीहरुको निकै महान चाड हो ।


क्लिकमान्डु