अस्पतालको गेटभित्र प्रवेश गरेका बिरामी उपचार बिना फर्कनु पर्दैनः मन्त्री ढकाल



काठमाडौं । मन्त्री स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अस्पतालको गेडभित्र प्रवेश गरेको बिरामी उपचारबिना फर्कनु नपर्ने बताएका छन् ।

सबैको समान रुपमा उपचारहोस भनेर गरिब, बिपन्न र वेबरिस मानिसको आकस्मिक उपचार निःशुल्क गर्नेगरी व्यवस्था मिलाएको बताए । दशैँ, तिहार, नेपाल संवत, छठ लगायतका चाडपर्वको उपलक्ष्यमा सबै नेपालीमा शुभकामना व्यक्त गर्दै यस्तो बताएका हुन् ।

मन्त्री ढकालले मन्त्रालय सम्पूर्ण नागरिकको जीवन रक्षाको लागि सदैव प्रतिबद्ध रहेको जनाए । मन्त्रालयले सबै सरकारी, निजी तथा समुदायबाट संचालित अस्पतालहरूलाई कोभिड–१९को परीक्षण तथा उपचार गर्ने गरी व्यवस्था गरेको स्मरण गराएका छन् ।

अक्सिजन, आवश्यक औषधि तथा उपकरणहरूको अभाव हुन नदिन मन्त्रालयले ठोस योजना सहित प्रभावकारी व्यवस्था मिलाएको जानकारी गराउँदै अस्पताल नभएका ६४९ स्थानीय तहमा ५ बेडको अस्पताल स्थापना गरी संचालनको लागि आवश्यक बजेट व्यवस्था गरी पठाइएको र स्थानीय तहहरूमा कार्य शुरु भइसकेको जारी शन्देमा उल्लेख छ ।

सरकार सधैँ नागरिकको साथमै रहेको भन्दै यो महामारी विरूद्धको लडाइमा राज्य र जनताको बीचमा बलियो र विश्वासिलो एकता स्थापित गर्न जरूरी रहेको बताए । सबै तहका सरकार, राजनीतिक दलहरू, समूदायहरू, नागरिक समाज, निजी क्षेत्रबाट निरन्तर सहयोगको अपेक्षा गरेको सन्देशमा उल्लेख छ ।

दशैंमा आफूभन्दा ठूलाहरुबाट आशीर्वाद लिने सानाहरुलाई आशीर्वाद एवं स्नेह दिने मानवीयताको चाड भएपनि यसपटक कोरोना महामारीका कारण हामीले जनस्वास्थ्यको मापदण्ड पूर्ण रुपमा पालना गर्नुपर्ने भएकाले यस चाडलाई सीमित रुपमा मनाउनुपर्ने बाध्यकारी अवस्था सिर्जना भएको सन्देशमा उल्लेख छ ।


क्लिकमान्डु