शुक्रबारदेखि क्लिनफिड लागू, नेपालमा आइपीएल हेर्न नपाइने
काठमाडौं । शनिबारदेखि नेपालमा प्रसारण हुने विदेशी च्यानल विज्ञापन रहित(क्लिनफिड) लागू हुने भएको छ ।
सरकारले कात्तिक ७ गते (भोली) देखि विज्ञापन रहित विदेशी च्यानल प्रसारण गर्न टेलिभिजन सेवा प्रदायकहरुलाई आग्रह गरेको छ ।
बिहीबार सिंहदरबारमा मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्ने कार्यक्रममार्फत सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले कात्तिक ७ गते देखि क्लिनफिड सहितका विदेशी च्यानल प्रसारण गर्न आग्रह गरे । नेपालमा विज्ञापन नियमन गर्ने ऐन २०७६ लागू गर्ने अवधि २०७७ कात्तिक ७ गते सम्म रहेकोले उक्त दिन देखि क्लिनफिडलाई पूर्णरुपमा लागू गर्न आग्रह गरे ।
२०७६ कात्तिक ८ गते विज्ञापन नियमन गर्ने ऐन लागू भएको थियो । त्यसको ठिक एकवर्ष देखि क्लिनफिड लागू हुने व्यवस्था ऐनमा रहेकाले २०७७ कात्तिक ७ गते भित्र विदेशी च्यानलमा विज्ञापन रहित क्लिनफिड प्रसारण गर्नुपर्नेछ । क्लिनफिड कार्यान्वयनमा आए नआएको सम्बन्धमा विज्ञापन बोर्डले अनुगमन गर्नेपनि मन्त्री गुरुङ्ले जानकारी दिए ।
मन्त्रालयका सहसचिव डिल्रिाम शर्माको अध्यक्षतामा विज्ञापन बोर्ड गठन भइसकेको छ । नवगठित विज्ञापन बोर्डले क्लिन फिड लागू भए नभएको सम्बन्धमा अनुगमन गर्न आवश्यक तयारी पुरा गरिसकेको छ । कात्तिक ८ गते देखि नेपालमा क्लिन फिड लागू नगर्ने कुनैपनि सेवाप्रदायकलाई कानुन अनुसार कारबाही गरिने पनि मन्त्री गुरुङले बताए ।
डिटिएच सेवा प्रदायक कम्पनी डिशहोमका प्रवन्ध निर्देशक सुदिप आचार्य क्लिनफिड लागु भएपछि विदेशी च्यानलहरु ग्राहकले हेर्न नपाउने बताए ।
‘क्रिकेटप्रेमीहरुले रुचाउने आइपीएल क्लिनफिड लागु भएपनि नेपालमा हेर्न पाइने छैन,सरकारले एकतर्फी रुपमा लागु गर्दा उपभोक्ताले ति च्यानल हेर्न पाउने छैनन्,’आचार्यले क्लिकमाण्डूसँग भने ।
केवल व्यवसायी डिटिएच सेवा प्रदायकले कोभिडको कारण क्लिनफिड लागु गर्ने समय पर पार्न माग गरेका थिए । कानून अनुसार भने राष्ट्रपतिले विधेयक प्रमाणिकरण गरेको कात्तिक ७ देखि क्लिनफिडको नीति कार्यान्वयन हुने थियो ।
सरकारले व्यवसायीले गरेको आग्रह भने अस्वीकार गरेको थियो । विज्ञापन व्यवसायीले क्लिनफिड लागु भएपछि नेपालमा विज्ञापन व्यवसाय बढ्ने बताउदै आएका छन् ।
डिटिएच व्यवसायीहरु भने क्लिनफिड ल्याउन आफुहरु लागेपनि नीतिगत अस्पष्टता रहेको र सरकारले कोभिडको असरलाई समेत ध्यान नदिएको हुँदा सो दिनदेखि क्लिनफिड नभएका विदेशी च्यानल बन्द हुने बताउँछन् ।