१६.५ महिनाको वस्तु आयात गर्न सक्ने विदेशी विनिमय सञ्चिति छः राष्ट्र बैंक



काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो महिनामा विदेशी विनिमय सञ्चिती १४ खर्ब ३३ अर्ब ६७ करोड रुपैयाँ रहेको छ ।

असार मसान्तमा १४ खर्ब १ अर्ब ८४ करोड रुपैयाँ रहेकोमा भदौमा विदेशी विनिमय सञ्चिति २.३ प्रतिशतले वृद्धि भएको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा भदौ मसान्तमा १२ अर्ब २० करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति असार मसान्तमा १२ खर्ब २६ अर्ब १२ करोड रहेकोमा भदौ मसान्तमा १२ खर्ब ५५ अर्ब पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिती असार मसान्तसम्म १ खर्ब ७५ अर्ब ७१ करोड रहेकोमा भदौ मसान्तमा १ खर्ब ७८ अर्ब ६६ करोड पुगेको छ । भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.१ प्रतिशत रहेको छ ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७७÷७८ को दुई महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १६.५ महिनाको वस्तु आयात र १४.९ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने छ ।

यो अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३८.१ प्रतिशत, १२४.५ प्रतिशत र ३३.६ प्रतिशत रहेका छन् । असार मसान्तमा यी अनुपातहरु क्रमशः ३७.२ प्रतिशत, १०५.७ प्रतिशत र ३३.१ प्रतिशत रहेका थिए ।


क्लिकमान्डु