नविल बैंकले बनाएको त्यो भिडियो, जसले अनिल शाहकी छोरीलाई रुवायो



काठमाडौं । दशैंको शुरुवाती घटस्थापनाको दिन अर्थात् असोज १ गते नविल बैंकले कोरोनासम्बन्धी जनचेतनामूलक भिडियो आफ्नो पेसबुक पेजमार्फत् सार्वजनिक गर्यो ।

अहिलेको सामाजिक यथार्थतालाई भावनात्मक तरिकाले भिडियो कन्टेन्ट प्रस्तुत गरिएको छ । अहिलेसम्म उक्त भिडियो साढे ५ लाख पटक हेरिएको छ । भिडियो डाउनलोड गरेर अन्य पेजमा राख्नेहरु पनि कैयन छन् । र, सयौं कमेन्टहरु पनि आएका छन् ।

३ मिनेट २६ सेकेन्डको भिडियोले धेरैलाई भावुक बनाउँछ । कतिलाई रुवाएको पनि छ ।

उक्त भिडियोले बैंकका सीइओ अनिल शाहकी छोरी आर्यालाई रुवायो । कारण, त्यो भिडियो ठ्याक्कै उनीहरुको परिवारसँग मेल खान पुग्यो ।

भिडियो सार्वजनिक भएको भोलिपल्ट अर्थात् असोज २ गते नबिल बैंकका सीइओ अनिल शाहलाई कोरोना संक्रमण पुष्टि भयो ।

उच्च सतर्कताका बाबजूत पनि दशैंको मुखैमा शाहको शरीरमा कोरोना भाइरस प्रवेश गरिछाड्यो ।

नबिल बैंकले उक्त भिडियो सार्वजनिक गर्नु र सीइओ शाहलाई संक्रमण हुनु संयोग बनिदियो । संयोग के पनि भयो भने भिडियोमा अभिनय गर्ने परिवारका पात्रको संयोग शाहको परिवारसँग ठ्याक्कै मिल्यो ।

भिडियोमा ३ जनाको परिवार छ । परिवारका अभिभावक अर्थात् छोरीका बाबुलाई कोरोना संक्रमण हुन्छ । कोरोना पोजेटिभ आएपछि श्रीमति र छोरी रुन्छन् ।


भिडियोमा जस्तै बैंकर शाहको पनि ३ जनाकै परिवार छ । श्रीमान्, श्रीमति र छोरी । जसरी भिडियोमा आइसोलेशनमा बसेका श्रीमानलाई कोरोना पोजेटिभ भएको देखाइएको छ । शाहको परिवारमा पनि त्यस्तै भयो ।

शाहकी छोरी आर्या असोज ४ गते २० वर्ष पुगिन् । बुबा कोरोना संक्रमित भई आइसोलेसनमा बसिरहँदा छोरीले जन्मदिनको केक काटिन् ।

आइसोलेसनबाट यो हेरिरहेका शाहद्वयको मन रोयो । अर्थात् अनिल र आर्या दुबैका आँखा रसाए । यतिमात्रै होइन, असोज २ गते शाहलाई कोरोना पोजेटिभ भइसकेपछि छोरी आर्याले नविल बैंकको भिडियो दोहोर्याएर हेरिन् अनि विक्षिप्त भइन ।

‘हाम्रो बैंकको क्रियटिभ टिमले बनाएको भिडियो ठ्याक्कै मेरो परिवारसँग मिल्यो,’ शाहले क्लिकमाण्डूसँग भने, ‘संयोग पनि कस्तो ?’

शाहकी छोरी पढाइका सिलसिलामा अमेरिका बस्थिन् । कोरोना कहर शुरु भएपछि गत चैत ५ गते आर्या नेपाल आइपुगिन् । र, यतै बसिरहेकी छन् ।

आर्या घर फर्किँदा अनिल आफैं ड्राइभ गरेर एयरपोर्टसम्म लिन पुगेका थिए । उनीहरु दुबैले मास्क लगाएका थिए । बाउछोरीले एकअर्काको अनुहारसम्म हेर्न पाएनन् ।

अमेरिकाबाट फर्केपछि आर्या होम क्वारेन्टाइनमा बसेकी थिइन् । अहिले अनिल होम आइसोलेशनमा छन् ।

गत चैतमा होम क्वारेन्टाइनमा बसेकी आर्या

बुबालाई कोरोना संक्रमण भएको थाहा पाएपछि भिडियोमा जस्तै उनकी छोरीको मन विक्षिप्त भयो । तर, बुबालाई ढाडस दिँदै भनिन्, ‘डोन्ट वरी, नथिङ टु वरी अबाउट, एभ्रिथिङ विल बि ओके ।’

छोरीको हौसला सुनेर अनिल पुलकित भए । उनलाई कोरोनाले मानसिक रुपमा दिएको दबाबलाई झेल्न मद्दत मिल्यो ।

त्यसो त कोरोनाका कारण जति शारीरिकरुपमा पीडा हुन्छ त्योभन्दा बढी पीडा मानसिकरुपमा भएको उनको अनुभव छ ।

‘संक्रमणको जानकारी पाउने वित्तिकै फेसबुक, ट्विटरलगायत सामाजिक सञ्जाल, व्यक्तिगत रुपमा फोन सम्पर्क गरी आएका हजारौं शुभेच्छाले कोरोनालाई जित्नका लागि हौसला पाएको छु, यो सबैभन्दा ठूलो कुरा रहेछ यतिबेला,’ शाहले भने ।

शाहले स्वाद र गन्ध नआएपछि पहिलो पटक गरेको पीसीआर परीक्षणमा नतिजा नेगेटिभ थियो । तर दोस्रो पटक गरेको परीक्षणमा नतिजा पोजिटिभ देखाएको थियो ।

उनले डाक्टरहरुसँग कुरा गरे । के गर्ने भन्ने बारेमा सुझाव लिए । अहिले शाह डाक्टरको सल्लाह अनुसार नै होम आइसोलेसनमा बसेका छन् ।

जडिबुटी सेवन गरिरहेका छन् । विहान स्टिम लिन्छन् र योगा पनि गर्छन् । घरको कम्पाउण्डमै रहेको बगैचाँमा केही बेर टहल्छन् । र, दिउँसोको समयमा घरबाटै कार्यालयको काम पनि गर्छन् ।

‘शारीरिक र मानसिकरुपमा बलियो भएकाले कार्यालयको काम गर्न समस्या छैन । त्यसैले आफूलाई व्यस्त राख्न पनि काम गरिरहेको छु,’ उनले सुनाए ।

एकपटक पोजिटिभ आएपछि नेगेभिट रिपोर्ट नआउँदासम्मको अवधि निकै तनावपूर्ण हुने उनले अनुभव सुनाए ।

तर नबिल बैंकको उक्त भिडियोमा जस्तै अन्तिममा सकारात्मक परिणाम आउने र परिवारका सबै सदस्य सँगै बसेर दशैंको टिका लगाउन पाउनेमा आफू आशाबादी रहेको शाहको भनाइ छ ।


पुष्प दुलाल