दशैंका लागि खाद्य व्यवस्था कम्पनीले कात्तिक ३ गतेदेखि खसीबोका बिक्री गर्ने



फाइल

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कात्तिक ३ गतेदेखि काठमाडौं उपत्यकामा खसीबोका बिक्री शुरु गर्ने भएको छ ।

कम्पनीको थापाथलीस्थित प्रादेशिक कार्यालय परिसरबाट कात्तिक ३ गतेदेखि दशैंका लागि खसीबोका बिक्री वितरणको काम शुरु हुने भएको हो । कम्पनीले बजार मूल्य नियन्त्रणका लागि भन्दै हरेक वर्षको दशैंमा खसी, बोका र च्याङग्रा बिक्री गर्दै आएको छ ।

तर यसपटक प्राविधिक कठिनाइले गर्दा मुस्ताङबाट च्याङग्रा ल्याउन नसकिएको कम्पनीले बताएको छ ।

त्यस्तै २ हजार खसी बोका र च्याङग्रा बिक्री गर्ने योजना रहे पनि आयातमा कठिनाई हुँदा केही संख्यामा खसी र बोका मात्रै बिक्रीमा राखिने कम्पनीका बागमती प्रदेश कार्यालयका प्रमुख पवित्र गौतमले बताए । यस वर्ष दाङको तुल्सिपुर, हेटौंडाबाट १ हजार वटा खसीबोका ल्याइएको उनले बताए ।

कम्पनीले यसअघि दशैंका लागि १ हजार वटा खसी बोका र १ हजार वटा च्याङग्रा बिक्री गर्ने बताएको थियो । तर कोराना भाइरसको संक्रमणले गर्दा बजारमा आम उपोभोक्ताको क्रयशक्ति घटेको अनुमान गरिएकाले यसवर्ष कम आपूर्ति गर्न लागिएको हो । पहिलो चरणमा एक हजार संख्यामा खसीबोका ल्याई विक्रीमा राखिने र माग बढ्दै गए बजारलाई सन्तुलित राख्न थप आयात गर्न सकिने गौतमले बताए ।

यस वर्ष कम्पनीले खरिद गर्दा नै खसी बोकाको मूल्य गत वर्षभन्दा ४० रुपैयाँ बढी परेकाले अघिल्लो वर्षभन्दा केही बढी मूल्य कायम हुन सक्ने गौतमले बताए ।

मूल्य निर्धारण भने आइतबार साँझ मात्रै तय हुने पनि उनको भनाइ छ । कम्पनीले गत वर्ष जिउँदो खसीको मूल्य प्रतिकिलो ५ सय ६० रुपैयाँ निर्धारण गर्दै बिक्री वितरण शुरु गरेको थियो ।

उक्त मूल्यमा प्रतिकिलो १० रुपैयाँ सहुलियत दिएर बिक्री गरेका थियो । कम्पनीले यसपटक पनि प्रतिकिलो १० रुपैयाँ सहुलियत दिने बताएको छ । दशैंका बेला काठमाडौं उपत्यकामा करिब ५० हजार खसी, बोका र च्याङ्ग्रा खपत हुने अनुमान छ । दशैंलाई लक्षित गरेर निजी व्यवसायीहरुले समेत गाउँगाउँमा गएर खसीबोका खरिद गरेर बजारमा ल्याउन शुरु गरिसकेका छन् ।

स्थानीय उत्पादनले माग धान्न नसकेपछि छिमेकी मुलुक भारत र चीनबाट समेत खसीबोका र च्याङ्ग्रा आयात हुने गर्छ ।


क्लिकमान्डु