प्रहरी हुँ भन्दै व्यवसायी ठग्ने पक्राउ



काठमाडौं । आफूलाई प्रहरी हुँ भन्दै काठमाडौं उपत्यकाका विभिन्न व्यवसायी लगायतका मानिसलाई ठग्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले व्यवसायीसँग अनुचित प्रभावमा पारी आर्थिक लाभ लिएको भन्दै काठमाडौं टोखा नगरपालिका–८ बाँनियाटार बस्ने रामेछाप खाँडादेवी गाउँपालिका–६ का २८ वर्षीय गोबिन्द खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।

विगत २ वर्षदेखि प्रहरीको सञ्चार सेट जस्तो देखिने र हेण्ड वाकिटकी सञ्चार सेटहरु बोकी ट्राफिक प्रहरीको यूनिफर्मको रेनकोट, प्रहरीको टिसर्ट, नेमप्लेट लगाई रातको समयमा रात्रीकालीन व्यवसाय संचालन गर्ने स्थानहरुमा गई खड्काले व्यवसायीलाई अनुचित प्रभावमा पारी आर्थिक लाभ लिएको देखिएको छ ।

उक्त कार्य गरेको विशेष सूचनाको आधारमा प्रहरीले खड्कालाई बाँनियाटारबाट पक्राउ गरेको हो ।

खड्काको साथबाट २ थान सञ्चार सेट, १ थान गोबिन्द खड्का लेखिएको नेमप्लेट, नेपाल प्रहरी लगायत अन्य सुरक्षा निकायको जस्तो देखिने यूनिफर्महरू, २ जोर बुट, १ थान मतदाता परिचयपत्र, १ थान सिठि, बा ७८ प १६२ नम्बरको मोटरसाइकल, १ थान सवारी चालक अनुमति पत्र र ४ थान विभिन्न ब्राण्डको मोबाइल प्रहरीले बरामद गरेको छ ।


क्लिकमान्डु