आइपीओले बढायो डिम्याट खोल्नेको संख्या, एक महिनामा १ लाख ८० हजारले डिम्याट खोले



काठमाडौं । कोरोना भाइरसको संक्रमणको समयमा पनि डिम्याट खोल्ने संख्या बढेको छ ।

लकडाउनको समयमा सबै खालको उद्योग धन्दा, कलकारखाना, विभिन्न खालका व्यवसाय बन्द भएपनि सेयर कारोबार गर्नको लागि डिम्याट खाता खोल्नेको संख्या दिनानुदिन बढिरहेको छ ।

कोरोनाको कारण सरकारले चैत ११ गतेदेखि लकाउन गरेको थियो । ४ महिना पछि लकडाउन खुल्यो भनेपनि पूर्ण रुपमा खुल्न सकेको छैन । चैत मसान्तयता ४ लाख ३७ हजार २७३ जनाले डिम्याट खाता खोलेको सिडिएससी एण्ड क्लियरिङ लिमिटेडले जनाएको छ ।

यस्तै पछिल्लो एक महिनामा मात्रै १ लाख ७९ हजार ६७१ जनाले डिम्याट खाता खोलेका छन् ।

सिडिएससीका अनुसार पछिल्लो समयमा देशभर डिम्याट खाता खोल्ने लगानीकर्ताको संख्या २० लाख ७३ हजार १६८ जना रहेका छन् ।

लगानीकर्ताले ब्रोकरबाट होस वा बैंक तथा वित्तीय संस्थाबाट नै किन नहोस डिम्याट खाता खोल्दा एक पटक जसरी पनि खाता खोल्ने कार्यालयमा पुग्नैपर्ने हुन्छ ।

जसले गर्दा कोरोनाको संक्रमित हुनेका संख्या बढेको देखिएको छ । हालसम्म झण्डै २३ सयको हाराहारीमा बैंकका कर्मचारीलाई कोरोनाको संक्रमण देखिएको छ । बैंक तथा वित्तीय संस्थाका कर्मचारीमा कोरोनाको संक्रमण बढदै जानु र यही बिचमा लगानीकर्ता डिम्याट खाता खोल्नको लागि बैंक तथा वित्तीय संस्था जानुले कतिपय समयमा कर्मचारीबाट सेवाग्राही र कतिपय समयमा सेवाग्राहीबाट कर्मचारीमा सर्ने गरेको जानकारहरुको भनाइ छ ।

साउन पहिलो साताबाट लकडाउन खुलेको छ । लकडाउन खुलेपछि डिम्याट खाता खोल्नेको पनि लहड नै देखिएको छ ।

बीमा कम्पनीको आइपीओ आउन सुरु भएपछि डिम्याट खोल्नेको संख्या समेत बढेको हो ।

जसका कारण पछिल्लो समयमा आएका आईपीओमा पर्ने आदेवनले निरन्तर रुपमा नयाँ नयाँ रेकर्ड ब्रेक भएको छ । पछिल्लो समयमा आएको सानिमा जनरल इन्स्योरेन्सको आईपीओमा ८ लाख ८३ हजार ८४३ जनाले आवेदन दिएको छन् । नेपालमा आउने आईपीओमा यति धेरै जनाले आवेदन आवेदन दिएको यो नै पहिलो पटक हो ।


क्लिकमान्डु