पोखरामा ३ अर्बमा होटल खोल्ने तयारी, कोरोना कहरमा पनि रोकिएन विदेशी लगानी
काठमाडौं । कोरोनाका कारण सबैभन्दा बढी प्रभावित भएको क्षेत्र हो ‘पर्यटन‘।
नेपालको पर्यटन क्षेत्र मात्रै नभई विश्वकै पर्यटन र हवाई उड्डयन क्षेत्र कोरोना कारण सबैभन्दा प्रभावित भएको छ ।
विश्लेषकहरु नेपालको पर्यटन क्षेत्र रिभाइभ हुनका लागि अझै २ वर्ष लाग्ने बताइसकेका छन् । यस्तो विषम अवस्थामा पनि पर्यटनक्षेत्रमा विदेशी लगानीको प्रतिवद्धतामा भने सकारात्मक नै देखिएको छ ।
उद्योग विभागको तथ्यांक हेर्दा चालु आवमा सबैभन्दा बढी पर्यटन क्षेत्रमा लगानीको प्रतिवद्धता आएको छ । विभागका अनुसार चालु आवमा मात्रै पर्यटन क्षेत्रमा कुल १३ अर्ब २५ करोड रुपैयाँ बराबरको विदेशी लगानीको प्रतिवद्धता आएको छ ।
जबकी समग्र क्षेत्रमा जम्मा १७ अर्ब ८२ करोड ९० लाख रुपैयाँ बराबरको विदेशी लगानीको प्रतिवद्धता आएको छ ।
पोखरामा ३ अर्ब लगानीमा होटल
विभागका अनुसार पर्यटकीय नगरी पोखरामा ३ अर्ब रुपैयाँको विदेशी लगानीमा होटल तथा रेष्टुराँ खुल्ने तयारी भएको छ । पोखरामा नयाँ विमानस्थल निर्माणको काम समेत धमाधम भइरहेकाले पनि होटल तथा रेष्टुराँमा लगानी बढेको छ ।
यसका लागि ब्रिटिस भर्जिन आइल्यान्डबाट होटल तथा रेष्टुराँ सञ्चालनका लागि लगानीको प्रतिबद्धता आएको उद्योग विभागले जानकारी दिएको छ ।
विभागका अनुसार कुल ३ अर्ब लगानीमा स्थापना हुने उक्त होटल तथा रेष्टुराँमा ९० वटा रुम र २०० वटा सिट क्षमता हुनेछ । साथै होटल तथा रेष्टुराँमा १४६ जनाले रोजगारी पाउनेछन् ।
सन् २०२० मा नेपाल भ्रमण वर्ष कोरोना महामारीका कारण स्थगित भए पनि पर्यटन क्षेत्रमा भने विदेशी लगानीको प्रतिबद्धता रोकिएको छैन ।
चालु आवमा मात्रै कुल ८२ कम्पनीमध्ये ५४ वटा कम्पनीमार्फत् होटल तथा रेष्टुराँमा मात्रै लगानीको प्रतिवद्धता आएको छ ।
जसमध्ये सबैभन्दा बढी ५१ वटा कमेपनीमा चीनबाट लगानीको प्रतिवद्धता आएको छ भने त्यसबाहेक बेलायतबाट २ वटा कम्पनी र ब्रिटिस भर्जिन आइल्यान्डबाट एउटा कम्पनीका लागि लगानीको प्रतिवद्धता आएको हो ।
यी सबै होटल तथा रेष्टुराँमा १५०० भन्दा बढिले रोजगारी पाउनेछन् ।
कुन क्षेत्रमा कति लगानी ?
उद्योग विभागका अनुसार सबैभन्दा बढी पर्यटन क्षेत्रमा १३ अर्ब २५ करोड रुपैयाँको लगानीको प्रतिवद्धता आएको छ ।
त्यसैगरी कृषि क्षेत्रमा ३२ करोड ९० लाख रुपैयाँ, सूचना, संचार तथा प्रसारण प्रविधिमा आधारित ३ वटा कम्मनीमा ३० करोड रुपैयाँलगानीको प्रविवद्धता आएको छ ।
उत्पादनमूलक क्षेत्रमा ५ करोड रुपैयाँ र सेवामूलक क्षेत्रका २२ कम्पनीमार्फत् ३ अर्ब ६५ करोड रुपैयाँ बराबरको विदेशी लगानीकोप्रतिवद्धता आएको छ ।