एसियानाले पीसीआर नगरेका ११ जना यात्रु ल्यायो, क्वारेन्टाइनमा नराखी छोड्न दबाब



काठमाडौं । एक सय ६० जना यात्रु बोकेर आएको कोरियाको एसियाना एयरलाइन्सले पीसीआर रिपोर्ट नगरेका ११ यात्रुलाई पनि सँगै लिएर आएको छ ।

शनिबार कोरियाबाट चार्टड फ्लाइट आएको एयरलायन्सले ११ यात्रुहरुको पीसीआर नभएपनि होटल क्वारेन्टाइनमा नराखी एयरपोर्टबाट नै छोड्न विमानस्थल र अध्यागमन प्रशासनलाई दबाब दिएको विमानस्थल स्रोतले बतायो

एसियाना एयरलायन्सको जीएसए गण्डकी ट्राभल्स हो । ट्राभल्सका प्रबन्ध निर्देशक रामकुमार कोनेले भने, कोरियाबाट चार्टर्ड फ्लाइट आएपनि मान्छे नआएको बताए । ‘कोरियाबाट फ्लाइट आएको हो तर मेडिकलको सामान लिएर आएको कार्गाे फ्लाइट हो,’ उनले भने ।

कोनेले दिएको जानकारी भने झुटो देखिएको छ । विमानस्थल प्रशासनले नै कोरियाबाट एसियाना एयलायन्सले १६० जना यात्रुहरु बोकेर आएको र ११ जना पीसीआर नगरेको कारण नछोडिएको पुष्टि गरेको छ ।

एयरलाइन्सको ग्राउन्ड ह्यान्डलिङ्ग फ्रिडम फ्लाइटले गरेको थियो । फ्रिडम फ्लाइट, एयरलायन्स र गण्डकी ट्राभलले यात्रुहरुलाई क्वारेन्टाइनमा नराखी सिधैं छोड्नुपर्ने दबाब दिएको विमानस्थल स्रोतले बतायो ।

सीसीएमसीका सदस्य तथा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले पीसीआर पनि नगरि यात्रु ल्याउने र होटलमा पनि राख्न नखोज्ने एयरलायन्स र ट्राभललाई कारवाही गरिने बताए । ‘सबै यात्रुलाई क्वारेन्टाइनमा राख्नुपर्छ, सरकारले नै अनिवार्य पीसीआर भनेपछि नगरी लापरवाही गर्नेलाई कारवाही हुन्छ,’ उनले भने ।

 


क्लिकमान्डु