बैंकका कर्मचारीलाई यो वर्षको दशैं खल्लो, दशैं भत्तामा मात्र चित्त बुझाउनुपर्ने



काठमाडौं । हिन्दू धर्मावलम्बीहरुको महान चाड दशैंका बेला प्रायः सरकारी होस् वा निजी रोजगारदाता प्रतिष्ठानहरुले कर्मचारीलाई एक महिनाको तलब बराबर बोनस वितरण गर्छन् ।

दशैं खर्चको रुपमा कार्यरत कर्मचारीलाई एक महिना बराबरको तलब दिने प्रावधान नै छ ।

निजी क्षेत्रका अधिकांश संघ संस्था तथा रोजगार प्रतिष्ठानका कर्मचारीको दशैं बोनसमा भने यो बर्ष कोरोना लागेको छ ।

विश्वव्यापीरुपमा फौलिएको कोरोना भाइरसको कारण विश्व अर्थतन्त्र सुस्ताएको छ ।

नेपालमा पनि भाइरस रोकथाम तथा नियन्त्रणको लागि सरकारले गरेको लकडाउन र निषेधाज्ञाले व्यापार व्यवसाय हालसम्म पनि प्रायः ठप्प छ ।

कोरोनाले व्यवसायमा असर गर्दा अधिकांश संघ संस्था तथा रोजगार प्रतिष्ठानको नाफा घटेका छ ।

सोही कारण केही संघ संस्था तथा रोजगार प्रतिष्ठानले कर्मचारीको दशैं बोनस कटौति गरेको छन् भने केहीले गत बर्षको तुलनामा आधामात्र बोनस दिएका छन् ।

बैंक तथा वित्तीय संस्था जागिरको दृष्टिकोणले निकै नै आकर्षक सुविधा पाउने क्षेत्र पर्छ । अघिल्ला बर्षहरुमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीले एकतर्फ दशैंको बोनससँगै अर्कोतर्फ दशैं अगाडि नै एक आवको नाफाबाट कर्मचारीलाई बोनससमेत वितरण गर्ने गरेको थिए ।

बैंकहरुले असार मसान्तसम्म उठेको रकम हिसाब गरी कर्मचारीलाई बोनस दिन्छन् । कर्मचारीले बोनस ऐनअनुसार नाफाको १० प्रतिशत बोनस पाउने गरेका छन् । साथै, बोनस ऐन अनुसार कम्पनीले गर्ने नाफाको ६ महिनासम्मको तलब बराबर बोनस दिन मिल्छ ।

त्यसमा केही बैंक तथा वित्तीय संस्थाले केही प्रतिशत बोनस आर्थिक वर्षको अन्त्यमा, दशैंमा र वार्षिक साधारणसभामा सावाँ र किस्ता गरेर वितरण गर्छन् । यसअघिका दशैंमा प्रायजसो बैंकहरुले दशैंमा नै नाफाबाट वितरण गरिने बोनसको अधिकांश हिस्सा वितरण गर्ने गरेको थिए ।

तर यो वर्ष भने बैंकका कर्मचारीले दशैं बोनस वापत एक महिनाको तलबमात्र पाउने वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघका पुर्वअध्यक्ष तथा नेपाल बंगलादेश बैंकका कार्यकारी निर्देशक ज्ञानेन्द्र प्रसाद ढुंगानाले बताए ।

‘असार मसान्तमा बैंकहरुले सार्वजिनक गरको वित्तीय विवरण लेखापरिक्षण नगरेका हुन्,’ ढुंगानाले क्लिकमाण्डूसँग भने, ‘बैंकहरुले लेखा परिक्षण नगरी अनुमानित नाफाबाट कर्मचारीलाई बोनस छुट्याएका छन्, जसको हेरफेर लेखापरीक्षणपछि हुन सक्छ ।’

कोरोनाकाकारण असार मसान्तसम्म उठ्नुपर्ने साँवा ब्याजलाई राष्ट्र बैंकले असोजमसान्तसम्म उठाउन समय दिएको हुँदा एकमुष्ट लेखा परिक्षण नभइ कर्मचारीलाई नाफा बोनस बैंकहरुले नबाढ्ने उनले जानकारी दिए ।

‘केही बैंकहरुले कर्मचारीलाई साउनमा नै एड्भान्स बोनस बाडिसकेका छन्,’ उनले भने, ‘यो बर्षको दशैमा कर्मचारीले नियमित पाउने आफ्नो तलब र त्यस बराबर एक महिनाको तलबमात्र पाउँछन् ।’

बैंकहरुले गत आवको नाफाबाट दिनुपर्ने नाफा बोनस असोज मसान्तसम्म उठ्नु पर्ने रकमको एकमुष्ठ लेखापरीक्षण गराई साधारण सभाबाट पारित भएपछि मात्र कर्मचारीलाई वितरण गर्ने उनले जानकारी दिए ।

सञ्चालनमा रहेका २७ वाणिज्य बैंकले गत आर्थिक वर्षको नाफाबाट चालु आवमा वितरण गर्न ८ अर्ब ५७ करोड १४ लाख रुपैयाँ कर्मचारीहरुलाई बोनसका लागि छुट्याएका छन् । जसको केही प्रतिशत बोनस बैंकहरुले साउनमा कर्मचारीलाई वितरण गरिसकेका छन् ।

तर असोज मसान्तसम्म उठेको साँवा ब्याज सहित एकमुष्ट लेखापरिक्षण गराउँदा उक्त बोनस रकममा थपघट हुन सक्ने ढुंगानाले बताए ।
बैंकहरुले नाफाबाट कर्मचारीलाई छुट्याएका बोनस भने गत आर्थिक वर्षको तुलनामा १७.२७ प्रतिशतले घटेको छ ।

अघिल्लो आवको नाफाबाट बैंकहरुले गत आवमा कर्मचारीलाई १० अर्ब ३६ करोड १७ लाख रुपैयाँ बोनस वापत छुट्याएका थिए । जुन गत आवको नाफाबाट चालु आवमा कर्मचारीलाई वितरण गर्न छुट्याएको नाफाको तुलनामा १ अर्ब ७९ करोड ३ लाख रुपैयाँ कम हो ।

हाल नेपालमा लघुवित्त वित्तीय संस्थादेखि बाहेक ६९ वटा बैंक वित्त कम्पनीहरुमा ४९ हजारभन्दा बढी कर्मचारीहरु कार्यरत छन् ।

जसमध्ये २७ वटा वाणिज्य बैंकमा ३९ हजार ६ सय, २० वटा विकास बैंकमा ८ हजार १ सय ८१ र २३ वटा फाइनान्स कम्पनीहरुमा २ हजार १३ जना कर्मचारी कार्यरत रहेको राष्ट्र बैंकले जनाएको छ ।


क्लिकमान्डु