मलेसियामा नेपालीलाई बन्धक बनाएर १६ लाख असुल्ने पक्राउ



काठमाडौं । मलेसियामा नेपाली नागरिकलाई बन्धक बनाई रकम असुल गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मलेसियास्थित टप ग्लोभ कम्पनीमा नेला कर्नर क्यान्टिन संचालन गरी बस्ने मोरङ साविक सुन्दरपुर गाविस–५ घर भएका ४४ वर्षीय डेभिड भन्ने दुर्गा बहादुर श्रेष्ठलाई काठमाडौं महानगरपालिका–३ बाट प्रहरीले पक्राउ गरेको हो ।
दुर्गाको योजनामा उनकै श्रीमती धनमाया श्रेष्ठ तथा चालक श्याम नेपालीले मलेसियामै काम गर्ने दाङ पहरुवा बस्ने एक व्यक्तिलाई अपहरण गरी ७ दिन बन्धक बनाएका थिए । साथै ती व्यक्तिकी श्रीमतीलाई मलेसियाका बिभिन्न नम्बरबाट फोन गरी दुर्गाको नाममा रहेको हिमालयन बैंकको खातामा मलेसियन ६० हजार रिङगेट हालेमा मात्र श्रीमानको ज्यान रहने नत्र मारिदिने धम्की समेत दिएका थिए । उनीहरुले धम्की दिएर फिरौती बापतको १५ लाख ९२ हजार रुपैयाँ दुर्गाको खातामा पटक पटक गरी जम्मा गरेपछि अपहरित व्यक्तिलाई अपहरणमुक्त गरेको प्रारम्भिक अनुसन्धानको क्रममा देखिएको प्रहरीको भनाइ छ ।
अनुसन्धान गर्ने क्रममा दुर्गाले पीडितलाई राहदानी कब्जामा गरी नेपाल आउन समेत नदिई अघोषित रुपमा हालसम्म बन्धक बनाई राखेको तथा दुर्गा नेपाल आएको सूचना पाएपछि प्रहरीले पक्राउ गरेको हो । कान्ती बाल अस्पताल नजिक सडकमा बा.१४ च २११२ नम्बरको जिपमा पानीपोखरीतर्फ गइरहेको अबस्थामा फेला पारी पक्राउ गरेको हो । दुर्गाले मलेसियामा काम गर्न गएका नेपाली कामदारहरुलाई धम्काई रकम असुल गर्ने तथा कुटपिट गरी गुण्डागर्दी गर्ने गरेको खुल्न आएको उक्त व्यूरोले जनाएको छ ।


क्लिकमान्डु