दशैं अफरले चम्कियो मोटरसाइकल र स्कुटरको व्यापार



काठमाडौं । दशैं नजिँदै गर्दा विभिन्न अटोमोबाइल कम्पनीहरूले ग्राहकहरूलाई आकर्षित गर्नका लागि विभिन्न अफर सार्वजनिक गरेका छन् ।

उक्त अफर सार्वजनिक गरेसँगै दुई पाङ्ग्रे सवारी साधनको व्यापार निकै चम्किएको मोटरसाइकल तथा स्कुटर कम्पनीहरुको भनाइ छ ।

कोरोना महामारीले करिब ३ महिना बन्द भएको दुई पांग्रे सवारी साधनको व्यापार लकडाउन खुकुलो भएसँगै अविश्वस्नीय रुपमा बढेको थियो ।

साथै, कम्पनीहरूले ग्राहकहरूको परिस्थितिलाई मध्यनजर गर्दै विभिन्न अफर सार्वजनिक गरेका थिए ।

उक्त अवधिमा सामान्य अवस्थाको तुलनामा २५÷३० प्रतिशत बढीले दुई पाङ्ग्रे सवारी साधनको बिक्री भएको व्यवसायीहरूले बताएका थिए ।

त्यस्तै अहिले दशैं नजिकिँदै गर्दा २ पांग्रे सवारी साधन कम्पनीहरूको व्यापार चम्किन थाले उनीहरुको भनाइ छ ।

बजाजको नेपालका लागि आधिकारिक वितरक एचएच बजाजले दशैंका अफर सार्वजनिक गर्ने वित्तिकै ग्राहकहरुको संख्या ह्वात्तै बढेको कम्पनीका बजार प्रबन्धक पुनम सिंहले जानकारी दिइन ।

उनका अनुसार जति नै प्रभाव परे पनि चाडपर्वको बेला सबैभन्दा बढी बिक्री हुने भएकाले यो वर्ष पनि त्यो उत्साह व्यापारमा देखिएको उनको भनाइ छ । कोरोनाले गर्दा धेरै जोगिएर हिँड्नुपर्ने भएकाले मानिसले २ पाङ्ग्रे सवारी साधनमा निकै रुचि देखाएको उनको बुझाइ छ ।

सुजुकी कम्पनीकोृ मोटरसाइकल तथा स्कुटरका नेपालका लागि आधिकारिक बिक्रेता भीजी अटोमोबाइल्स प्रालिले दशैंतिहार तथा छठ पर्वलाई लक्षित गरी स्कुटरको खरिदमा १२ हजार नगद छुट दिने भएको छ । साथै कम्पनीले १ वर्षको सडक दस्तुर छुट, एक्सचेञ्ज र सरल फाइनान्सको सुबिधा पनि उपलब्ध गराएको छ ।

सुजुकी कम्पनीले अफर सार्वजनिक गर्ने बित्तिकै उल्लेखनीय रुपमा ग्राहकको आगमन भएको कम्पनीका बजार प्रबन्धक समित सिंहले जानकारी दिए । उनका अनुसार अहिले दैनिक ३० देखि ३५ सम्म मोटरसाइकल तथा स्कुटर बिक्री भइरहेको छ ।

‘विगतका दिनमा सोधपुछ गर्ने ग्राहक धेरै आउँथ्यो भने अहिले सिधै किन्ने मनसाय बनाएर आउने ग्राहकमा वृद्धि भएको छ,’ उनले क्लिकमाण्डूसँग भने ।

विगतको तुलनामा यो वर्ष २ पाङ्ग्रे बिक्री बढिरहेको उनको भनाइ छ ।

‘कोरोना महामारीले गर्दा सामाजिक दुरी कायम गर्नुपर्ने, सार्वजनिक यातायात जोखिम सिर्जना हुने अवस्था छ,’ सिंहले भने, ‘विगतको दिनमा मोटरसाइकल तथा स्कुटर किन्ने क्षमता भएपनि सार्वजनिक यातायातमै यात्रा गर्थे । तर, अहिले परिस्थिति निकै कठिन भएकाले ग्राहकहरुको आकर्षण बढेको छ ।’

यो अवधिमा अधिकांश दुई पाङ्ग्रे सवारी साधनको व्यापार बढेको उनले अनुमान लगाएका छन् । कम्पनीले अफरको अवधिमा करिब ३५ सय दुई पाङ्ग्रे सवारी साधन बिक्री गर्ने लक्ष्य लिएको उनले बताए ।

हालसम्ममा ३ सयभन्दा बढी दुई पाङ्ग्रे सवारी साधन बिक्री भइसकेको उनको भनाइ छ । कम्पनीले नयाँ वर्ष र दशैं तिहारमा नै सबैभन्दा बढी बिक्री गर्ने भएकाले त्यो समयमा पनि बिक्री गर्न नसकेमा कम्पनीले घाटा बेहोर्नु परेको उनको अनुभव छ ।

नेपालका लागि हिरो मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिङ प्रालिका अनुसार अफर सार्वजनिक गरेसँगै ग्राहक ह्वात्तै बढेको छ ।

कम्पनीले भदौ मसान्तदेखि अफर सार्वजनिक गरे पनि हालसम्म करिब १३ सय मोटरसाइकल तथा स्कुटर बिक्री गरेको कम्पनीको बजार प्रबन्धक दिनेशरत्न बज्राचार्यले जानकारी दिए ।

उनका अनुसार दैनिक सय भन्दा बढी बिक्रि हुन थालेको बताए । गत वर्षको जस्तो बिक्रि नभएता पनि लकडाउन खुल्ने वित्तिकैको तुलना गर्दा निकै बढेको र अझै राम्रो बिक्रि हुने उनको अनुमान छ । हालसम्म कम्पनीले दशैंतिहार र छठसम्ममा ९ हजारभन्दा बढी मोटरसाइकल तथा स्कुटर बिक्री गर्ने लक्ष्य लिएको बताए ।

यामाहा नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजका अनुसार अहिले बढ्दो क्रममा बिक्री भइरहेको कम्पनीमा बजार प्रबन्धक बिक्रम पौडेलले जानकारी दिए । उनका अनुसार अफर सार्वजनिक गरेसँगै केही मात्राले ग्राहकको आकर्षण बढेको बताए ।

कोरोनाले गर्दा बजारमा खुलारुपमा आउन नपाउँदा पनि निकै प्रभावित भएको उनको भनाइ छ । लकडाउन खुलेर व्यापार भएको तुलनामा करिब १५ प्रतिशतले बिक्री बढेको उनले बताए ।


क्लिकमान्डु