माथिल्लो चमेलियामा ५ संस्थाको ५ अर्ब १८ करोड लगानी



काठमाडौं । माथिल्लो चमेलिया जलविद्युत् आयोजनामा विभिन्न बैंक तथा वित्तीय संस्थाले ५ अर्ब १८ करोड लगानी गर्ने भएका छन् ।

लगानी सम्बन्धी सम्झौतामा आइतबार आयोजनाको प्रवद्र्धक अपि पावर कम्पनी र बैंकका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।

४० मेगावाट क्षमताको सो आयोजनाको लागत ७ अर्ब ४० करोड रहेको छ ।

आयोजनामा बैंक तथा वित्तीय संस्थाले ५ अर्ब १८ करोड लगानी गर्ने छन् भने २ अर्ब २२ करोड भने अपि पावर कम्पनीले लगानी गर्नेछ ।

आयोजनामा हिमालन बैंक लिमिटेडको अगुवाईमा कर्मचारी सञ्चय कोष, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, नेपाल बंगलादेश बैंक लिमिटेड र सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले लगानी गर्ने भएका छन् ।

कम्पनीले ८.५ मेगावाट क्षेमताको नौगडगाढ जलबिद्युत आयोजना निर्माण सम्पन्न गरी २०७२ भाद्र २ गते देखी राष्ट्रिय प्रसारण प्रणालीमा जोडेको थियो ।

यस्तै, कम्पनीले दोस्रो आयोजनाको रुपमा सोही नदीको पानी उपयोग गरी ८ मेगावाट क्षमताको अपर नौगड गाढ जलविद्युत आयोजना २०७६ साल कार्तिक १३ गतेदेखि राष्ट्रिय प्रसारणमा जोडेको थियो ।

दुवै आयोजनाबाट उत्पादित विद्युत शक्ति नेपाल विद्युत प्राधिकरणको अत्तरीया–वलाँच १३२ केभी प्रसारण लाईन मार्फत विद्युत प्रवाह गरिरहेको छ ।

आयोजनाबाट उत्पादित विद्युत् १३२ केभी प्रसारण लाइन मार्फत प्राधिकरणको वलाँच सवस्टेशनमा जोडिनेछ । आयोजनाबाट वार्षिक २६ करोड ४१ लाख युनिट विद्युत उत्पादन हुुने बताइएको छ ।


क्लिकमान्डु