लैनचौरको सवस्टेशनमा मुसा पसेपछि राजधानीको प्रमुख स्थानमा विजुली काटियो



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङले विदा लिएपछि एक पछि अर्को गर्दै उपभोक्ताले हैरानी पाउन थालेका छन् ।

आइतबार सो हैरानीको कारण भने मुसा बनीदिएको छ ।

प्राधिकरणको लैनचौरमा रहेको सवस्टेशनको प्यानल बोर्डमा मुसा पसेपछि आज राजधानीका प्रमुख स्थानमा विद्युत् काटिएको छ ।

प्राधिकरणले सूचना पठाएर मुसाका कारण हैरानी भोग्नुपरेको र उपभोक्ताको घरमा विद्युत् काटिएको जनाएको छ ।

मुसाका कारण सवस्टेशनबाट विद्युत् आपूर्ति हुने बागबजार, राजदरबार, लैनचौर, लाजिम्पाट, महाराजगन्ज, पानीपोखरी, गैरीधारा, ठमेल, सामाखुसी, टंगाल, बबरमहललगायतका क्षेत्रमा विद्युत् काटिएको छ ।

आइतबार दिउँसो ३ बजेदेखि सो क्षेत्रमा विद्युत् काटिएको हो । प्राधिकरणले मर्मत टोली पठाएको भएपनि यो समाचार तयार पार्दासम्म विद्युत् आपूर्ति हुन सकेको छैन ।


क्लिकमान्डु