आन्तरिक पर्यटन प्रबर्द्धन गर्न यति एयरले ल्यायो आकर्षक प्याकेज, कहाँ जान कति ?



काठमाडौं । यति एयरलाइन्सले आन्तरिक पर्यटन प्रबद्र्धन गर्नका लागि आकर्षक प्याकेज सार्वजनिक गरेको छ । अक्टोबर २०२० देखि लागू हुने गरी यति एयरलाइन्सले प्याकेज सार्वजनिक गरेको हो ।

कम्पनीका सीइओ अनोज रिमालले आन्तरिक पर्यटन प्रबद्र्धन गर्नका लागि प्याकेज ल्याइएको जानकारी दिए । उनले मुलुकमा आन्तरिक पर्यटन बढाउनका लागि प्याकेजले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

यति एयरलाइन्स स्थापना भएको २२औं वार्षिकोत्सवको अवसरमा आयोजित पत्रकार सम्मेलनमा आन्तरिक पर्यटन प्रबद्र्धनका लागि उक्त घोषणा गरिएको हो ।

एयरलाइन्सले २२ औँ स्थापना दिवसका अवसर पारेर आजैदेखि ‘यती एअरलाइन्स मोबाइल एप्स’ समेत सञ्चालनमा ल्याएको छ । मोबाइल एप्सको माध्यमबाट टिकट बुकिङ गरेमा विशेष छुट दिने व्यवस्था गरिएको पनि प्रमुख कार्यकारी अधिकृत रिमालले बताए ।

यस्तै यती एयरलाइन्सले उच्च सतर्कता अपनाएर आज (सोमबार) देखि हवाई उडान सूचारु गरेको पनि बताएको छ । नेपालको आन्तरिक उडान गत चैत महिना यता कोभिड संक्रमणको उच्च जोखिम रहेपछि बन्द अवस्थामा थियो ।

सरकारले असोज ५ गते देखि आन्तरिक उडानलाई सूचारु गर्ने निर्णय गेको थियो ।

प्रमुख कार्यकारी अधिकृत रिमालले चालकदल, यात्रु र कर्मचारीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखि विश्व स्वास्थ्य संगठन, नेपाल नागरिक उड्डयन प्राधिकरण, र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको निर्देशिका अनुरुप यती एयरलाइन्स र तारा एयरलाइन्सको छुट्टाछुट्टै कार्यविधि बनाई जहाज सञ्चालन गरेको बताए ।

यस्तो छ प्याकेज

प्याकेजमा पोखरा, एभरेस्ट ट्रेल, मुक्तिनाथ, घान्द्रुक, जंगल सफारी चितवन र रारा भ्रमण, काठमाडौं आउनेका लागि पोखरा, विराटनगर, नेपालगञ्ज, भरतपुर, जनकपुर, भद्रपुर, भैरहवा, तुम्लिङटारबाट दुईतर्फी हवाई टिकट सहीत बस्ने होटलको व्यवस्था मिलाइएको रिमालले बताए ।

‘अब एअरलाइन्स उड्नमात्र होइन, घुम्न पनि’ भन्ने सन्देश दिने उद्देश्यले कुनैपनि भ्रमण प्याकेज खरिद गर्ने पहिलो १ सय जना यात्रुलाई आकर्षक उपहारको व्यवस्था गरिएको पनि उनले बताए ।

भ्रमण प्याकेज खरिदकर्ता यात्रुले हरेक साता ‘लक्की ड्र’ मार्फत आकर्षक उपहार प्राप्त गर्न सक्ने प्रमुख कार्यकारी अधिकृत रिमालले बताए ।


क्लिकमान्डु