हिमालयन बैंकको संस्थापक सेयर बिक्री गर्न लगानीकर्ता खोज्दै हबिब, सञ्चय कोषको यस्तो तयारी

837
Shares

काठमाडौं । हिमालयन बैंकमा एकै समूहको सबैभन्दा बढी सेयर स्वामित्व छ पाकिस्तानको हबिब बैंक । हिमालयनमा हबिबको २० प्रतिशत संस्थापक सेयर छ ।

हिमालयनमा हबिबपछि कर्मचारी सञ्चय कोषको धेरै लगानी छ । कोषको १४ प्रतिशत लगानी छ ।

पछिल्ला केही महिनादेखि हबिब बैंक हिलायनबाट आफ्नो सेयर स्वामित्व बिक्री गर्ने तयारीमा अग्रसर भइरहेकको छ । जसका लागि केही समयअघिमात्र हबिबले बेलायतको कमवेल्थ डेभलपमेन्ट कर्पोरेशन (सीडीसी)लाई हिमालयनका रहेको आफ्नो स्वामित्वको संस्थापक सेयर खरिद गर्न आग्रहसमेत गरेको थियो ।

हबिबले हिमालयन बैंकमा भएको आफ्नो सेयर सकेसम्म अन्तर्राष्ट्रिय लगानीकर्तालाई नै बिक्री गर्न खोजेको थियो । तर अन्तर्राष्ट्रिय लगानीकर्ता नआएपछि हबिबले सञ्चयकोषलाई आफ्नो सेयर खरिद गर्न आग्रह गरेको कर्मचारी सञ्चय कोषका एक अधिकारीले बताए ।

‘सकेसम्म हबिबले बहिरबाटै सेयर खरिद गर्ने लगानीकर्ता ल्याउन खोजेको थियो,’ सञ्चय कोष स्रोतले क्लिकमाण्डूसँग भन्यो, ‘कोषको हिमालयन बैंकमा १४ प्रतिशत सेयर पहिलेबाटै भएकाले हबिबको २० प्रतिशतनै सेयर खरिद गर्न कोषले मिल्दैन ।’

सोहीकारण ऐनले व्यवस्था गरेअनुसार कोषले हबिबको संस्थापक सेयर खरिद गर्ने ती अधिकारीको भनाइ छ ।

कर्मचारी सञ्चयकोष ऐनमा कोषले कुनैपनि बैंक तथा वित्तीय संस्थाको सेयरमा सोही संस्थाको पुँजीको २५ प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था छ ।

‘कोषले २५ प्रतिशतको दायरामा रहेर हबिबले आजको बजार मुल्य अनुसार सेयर खरिद गर्न दिएमा ९ प्रतिशत सेयर खरिद गर्ने कोषको योजना छ,’ कोषका ती अधिकारी भन्छन्, ‘सेयर खरिदमा कोषको नियम र खरिद गरिने कम्पनीको बजार विश्लेषणको आधारमा उपयुक्त मुल्यमा कोले पाएमात्रै सो परिमाणमा हबिबको सेयर खरिद गर्छ ।’

कोषले हिमालयन बैंकमा हबिबको ९ प्रतिशत सेयर खरिद गरेमा बाँकी ११ प्रतिशत सेयर बैंककै अन्य संस्थापकले खरिद गर्न सक्ने उनको भनाइ छ । हाल कोषको ३ अर्ब रुपैयाँ बढीसम्मको थप लगानी गर्ने क्षमता भएको तर ऐनलाई नाघेर हबिबको सबै सेयर खरिद गर्न नमिल्ले ती अधिकारीले बताए ।

हिमालयन बैंकका ठुला लगानीकर्ताहरुमा यसपछि हिमालयन शमसेर जबरा, भिम पाँडे, पृथ्वी पाँडे, नरसिंह बहादुर क्षेष्ठ र आन्नदभक्त राजभण्डारी हुन् । यी नै व्यक्तिहरुबाट प्रवद्धित कम्पनीहरुको तर्फबाट एन ट्रेडिङ कम्पनी प्रालिको १२.७१, म्युचुअल ट्रेडिङ कम्पनी प्रालिको ११.८५ प्रतिशत, आभा इन्टरनेशनल प्रालिको ११.३८ प्रतिशत, छायाँ इन्टरनेशनल प्रालिको ८.८९ प्रतिशत र शशिकान्त अग्रवालको २.६५ प्रतिशत सेयर छ । बाँकी लगानीकर्ताको सेयर १ प्रतिशतभन्दा तल सेयर स्वामित्व छ ।