प्राधिकरणका डीएमडीहरुको एकै स्वरः हामी अझैं कुलमानकै नेतृत्वमा काम गर्न चाहन्छौं



काठमाडौं । कुनै पनि संस्थाका प्रमुख व्यक्तिको पदावधि सकिन थालेपछि दोस्रो वा तेस्रो तहका व्यक्तिले स्वभाविक रुपमा त्यो पदमा पुग्ने आकांक्षा राख्छन् । यस्तो आकांक्षा राख्नु स्वभाविक पनि हो ।

तर, नेपाल विद्युत् प्राधिकरणका दोस्रो तहका उपकार्यकारी निर्देशकहरु संस्थाको मर्यादा र गरिमालाई थप बलियो र सबल बनाउन आफनो इच्छालाई समेत त्याग्न तयार भएका छन् ।

उनीहरु प्राधिकरणले बल्ल बाटो समातेको र त्यसलाई गतिमा दौडाउन अझै पनि मंगलबार मात्रै बिदाई भएका कार्यकारी निर्देशक कुलमान घिसिङको नेतृत्वमा नै काम गर्न तयार भएका छन् ।

उनीहरुको एउटै स्वर छ, हामी संस्थाका लागि अझै पनि कुलमान सरको नेतृत्वमा नै काम गर्न तयार छौ, हामीलाई उहाँकै आवश्यकता छ ।

२०७३ साल भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ति पाएका कुलमानको कार्यकाल यही भदौ २९ गते सकिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई पुनः ४ वर्षका लागि कार्यकाल विस्तार गर्ने अपेक्षा थियो ।

ऊर्जा मन्त्रालय भन्छ, प्रस्ताव लगिएको थियो । प्रधानमन्त्री कार्यालयमा पुनः नियुक्तिको प्रस्ताव पनि दर्ता भएको थियो । तर प्रधानमन्त्री केपी शर्मा ओलीले नै कुलमानलाई पुनः नियुक्तिका लागि तयार थिएनन् । जसका कारण कुलमान पुनः आउन् भन्ने अपेक्षा राख्ने प्राधिकरणका उपकार्यकारी निर्देशकसहित १० हजार कर्मचारी र आम जनताले सुखद खबर सुन्न पाएनन् ।

सरकारले कार्यकाल थप नगर्ने निश्चित भएपछि मंगलबार प्राधिकरणका उनको बिदाई समारोह राखिएको थियो । प्राधिकरणको चौथो तल्लामा रहेको सभाकक्षमा कोरोना सन्त्राषका बीचमा पनि राम्रे उपस्थिती थियो ।

आफ्ना प्रिय, मान्छेको बिदाईमा प्राधिकरणका अधिकाशं कर्मचारीको आँखा रसाइका थिए । चार वर्ष पहिले प्राधिकरणका कर्मचारी भन्दा लोडसेडिङको मतियार भएको आरोप खेपेका उनीहरु अहिले छाती फुलाएर हिड्न सक्ने अवस्थामा पुगेका छन् ।

संस्थाको आर्थिक हैसियत मात्रै नभई आम जनताका लागि भरोसायोग्य संस्थाको रुपमा प्राधिकरण स्थापित भएको छ ।

मध्यरातसम्म काममा आफै खटिने र कर्मचारीलाई समेत साथमा लिएर खटिने आफ्ना प्रिय नेतृत्व बिदाई हुँदै गर्दा ती कर्मचारी पुनः ४ वर्षअघिको दिन आउने पो हो कि भन्ने सन्त्रासमा थिए ।

एक उपकार्यकारी निर्देशकले त काजी भीम मल्लको उदाहरण दिँदै भने, ‘राम्रा मान्छेलाई नियुक्त गर्न कुन कानूनले रोक्यो ? सम्धीहरु भए त सिधै नियुक्त हुन्थे नी ?’
उनले प्राधिकरणको कार्यकारी निर्देशक जस्तो पदलाई समेत राजनीति गर्नेले देश बनाउँछु भन्ने गफ दिन कत्ति सुहाउँला भन्दै सरकारको रवैयाप्रति आक्रोश व्यक्त गरे ।

प्राधिकरणका उपकार्यकारी निर्देशक मध्येका सबैभन्दा वरिष्ठ हुन् हितेन्द्रदेव शाक्य ।

४ वर्षपहिले आफू भन्दा जुनियर कर्मचारी कार्यकारी निर्देशक भएर आएकामा असन्तुष्टि व्यक्त गर्ने मध्येका एक उनी पनि थिए ।

मंगलबारको कार्यक्रममा उनै शाक्यले कुलमानको मुक्तकण्ठले प्रशंसा गर्दै भने, ‘शत्रुले समेत सम्मान गर्ने व्यक्ति हुन कुलमान ।’

उनले शनिबार नभन्ने, बिदाको दिन समेत घरममा नबस्ने, सधै संस्थालाई माथि लेजान मेहनत गर्ने घिसिङ सर पुनः प्राधिकरणको बागडोर सम्हाल्न आउनुपर्छ । हामी उहाँलाई पुनः स्वागत गर्न तयार रहेको बताए ।

ऊर्जा मन्त्रालयले प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मा दिन लागेको भनेर प्रचारित शाक्यले थप अगाडि भने, ‘चार वर्ष पहिले न्यूरोडमा सामान किन्न जाँदा प्राधिकरणको कर्मचारी हुँ भन्ने परिचय दिने अवस्था थिएन । यो काम त कुलमान सरको नेतृत्वमा नै भएको हो ।’

उमेरले आफूभन्दा कान्छा कुलमान आफ्ना लागि अभिभावक सरह नै भएको उनले बताए । गला अवरुद्ध पार्दै उनले भने, ‘काममा सधै दत्तचित्त भएर लाग्ने कुलमानको शैलीमा म त काम गर्न सक्दिन, उहाँको मेहनत देख्दा मलाई समेत डाहा हुन्छ ।’

उनले आफूले नेतृत्व गरेको एनइए इन्जिनियरिङ कम्पनीमा समेत कुलमान शैलीका काम गर्ने प्रणाली शुरु गरेको समेत उनले उदाहरण दिए ।

उनले सोलुखम्बुमा भारतीय राजदूतसहितको भ्रमणका क्रममा जाँदा ग्रामीण क्षेत्रका मानिसले कुलमान सर प्रति देखाएको श्रद्धाले आफू द्रविभूत भएको उनले सुनाए ।

उनले भने, ‘मानिसहरुले देखाएको श्रद्धासँगै कुलमान सरकारको आँडमा उभिएर फोटो खिचाउन पाउनु नै मेरा लागि सबैभन्दा ठूलो हर्षको क्षण रह्यो ।’

‘प्राधिकरणको एउटा कर्मचारीका लागि यो भन्दा ठूलो अवसर अरु केही हुँदो रहेनछ’ उनले भने ‘ जनताले यति माया गर्ने संस्था बनाएको छ कुलमान सरकारको नेतृत्वमा नै हो ।’

उनले आफूहरु पुनः स्वागत गर्न तयार रहेको भन्दै शाक्यले प्राधिकरणप्रतिको विश्वास बढ्नुको पछाडि नेतृत्व नै रहेको पटक पटक दोहोर्याए ।

प्राधिधकरणका अर्का उपकार्यकारी निर्देशक हुन् लेखनाथ कोइराला । जुनियर कर्मचारी आफू भन्दा माथिको हाकिम भएको भन्दै ४ वर्ष पहिले असन्तुस्टि जनाउनेमा कोइराला पनि एक थिए ।

कामप्रतिको श्रद्धा र मेहनतले मानिसलाई कसरी पगाल्दो रहेछ भन्ने उदाहरण प्रस्तुुत गर्दै कोइरालाले भने, ‘विमानस्थल जाऔं प्राधिकरणका कर्मचारी भने पछि सहज हुने । सेवाग्राही भेट्यो उत्तिकै सम्मान । यो कस्को कारणले भयो ? स्वभाविक रुपमा उत्तर आउँछ कुलमान घिसिङ ।’

प्राधिकरणले ४ वर्षको अवधिमा असाध्यै ठूलो प्रगति गरेको भन्दै उनले यो प्रगतिलाई अझै गतिमा लेजान र आगामी दिनको चुनौती चिर्नका लागि समेत पुनः कुलमान सरको नै पुनः नियुक्ति भइदेओस् भन्ने चाहना रहेको बताए ।

कुलमानको दाहिने हात जस्तै भएर काम गरेका उपकार्यकारी निर्देशक हरराज न्यौपाने पनि एकाध दिनमा पुनः स्वागत गर्न पाइने अपेक्षा राखे ।

उनले कुनै पनि संस्थालाई सबल बनाउन नेतृत्वमा नै ऊर्जा चाहिने भन्दै त्यो ऊर्जा शुरुको दिनदेखि नै आफूले कुलमानमा देखेको बताए ।

‘पावर म्यानेजमेन्ट गर्ने कुरा सामान्य विषय थिएन, हामी घण्टौ, विद्युत् भारप्रेषण केन्द्रको कार्यालयमा बसेर हिसाब गथ्र्यौ’ हामीलाई उपाय पहिल्याउन हम्मे पर्दथ्यो, तर कुलमान सरले यसो गरौं भनेर फ्याट्ट भन्नुहुन्थ्यो,’ न्यौपानेले भने ‘काम गर्नका लागि नेतृत्व आफैमा पनि केही चाहिदो रहेछ भन्ने हामीले सिकेका छौ ।’

उनले विद्युत् चुहावट घटाउन पनि कुलमानकै मार्गदर्शनले काम गरेको र जिल्ला जिल्लाका वितरण केन्द्रलाई स्वयम् जिम्मेवार बनाइएको बताए ।

उनले कुलमानको व्यक्तित्व नै उच्च भएका कारण प्रहरी प्रशासन र स्थानीयबासीबाट सहयोग पाएको बताए ।

‘कुलमान सरले पठाएको भन्ने बित्तिकै प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले सहयोग गर्ने वातावरण बन्थ्यो । उनीहरु असाध्यै खुसी भएर सहयोग गर्दथे । प्राधिकरणको इतिहासमा यस्तो घटना यसअघि बिरलै भएका थिए’ न्यौपानले भने ।

जिल्ला जिल्लामा जाँदा समेत प्राधिकरणका कार्यकारी निर्देशक आएको छ भन्दा नहुने काम समेत शिघ्र हुने गरेको उल्लेख गर्दै उनले भने, ‘यस्तो व्यक्तित्वले बनाएको संस्थालाई अझै उहाँकै खाँचो छ । हामी उहाँको नेतृत्वमा नै काम गर्न तयार छौ ।’

विगतमा प्राधिकरणको आधिकारिक टे«ड यूनियनमा रहेको कर्मचारी संघले समेत पुनः प्राधिकरणका कुलमान दोहोरिऊन् भन्ने अपेक्षा राखेको छ ।

‘संस्था बनाउने शर्तमा हामीले उहाँलाई सधै सहयोग गर्यौ, अझै गर्छौ, सरकारले कर्मचारीको माग सुनोस्’ संघका एक पदाधिकारीले भने ।

त्यसो त नेपाल विद्युत् प्राधिकरण आधिकारिक कर्मचारी यूनियनका संयोजक रामेश्वर पौडेलले त ठोकुवा नै गरेर १५ दिन भित्र पुनः कुलमान सर नै प्राधिकरणको कार्यकारी निर्देशक भएर आउने बताए ।

‘प्रधानमन्त्री, ऊर्जा मन्त्रीले कर्मचारीको माग पनि सुन्नुपर्छ, विगतमा गन्हाएकाहरु प्राधिकरणमा आएका थिए । उनीहरुले संस्था ध्वस्त पारेर गए । पछिल्लो ४ वर्षमा हामीले बल्ल प्राधिकरणका कर्मचारी भन्न पाएका छौं, पुनः उहाँको नियुक्ति हुनुपर्छ । तलमाथि गर्न पाइदैन’ संयोजक पौडेलले भने ।

कानूनी विषय नमिलेको भन्ने सुनिएको भन्दै उनले राम्रो काम गर्ने मान्छेलाई ल्याउन नमिलेका कानून मिलाएर छिट्टै नियुक्ति दिनुपर्ने उल्लेख गरे ।

उज्यालो नेपाल र समृद्ध नेपाल बनाउने वर्तमान सरकारले सोही नाराको अभियन्तालाई पुनः काम गर्ने वातावरण बनाइदिने उनको भनाइ छ ।

कार्यक्रमको शुरुमा नै बोलेका पौडेलले प्राधिकरणको कर्मचारी भन्दा इज्जत बढ्ने बनाइदिएका नेतृत्वलाई हामी काँधमा बोकेर हिड्न अझै तयार रहेको स्पष्ट पारे ।

कार्यक्रमको अन्तिममा बोलेको कुलमानले आफूले सधै संस्थाको हितमा काम गरेको र नेपाली जनताले समेत साथ दिएकाले आफूहरु सफल भएको बताए । उनले आफूलाई नियुक्त गर्ने तत्कालीन प्रधानमन्त्री प्रचण्ड र ऊर्जामन्त्री जनार्दन शर्माको प्रशंसा गरे ।

उनले आफू जहाँ रहेपनि समृद्धिका लागि अझै लागीपर्ने र त्यसमा नेपाली जनताको साथ र सहयोग रहिरहने विश्वास समेत व्यक्त गरे ।

उनले आफूले सरकारले लगाएको काम गरेको र जश आफूले मात्रै लिएको भन्ने गलत प्रचारको समेत खण्डन गरे । उनले भने ‘ मैले सरकारको काम गरेको हो, जश लिएको छैन ।’

आफूलाई सञ्चार माध्यम र नेपाली जनताले समेत सहयोग गरेको भन्दै आफूलाई कहिल्यै केन्द्रमा नराखेको र त्यो राख्ने आफ्नौ हैसियत समेत नभएको बताए ।

पछिल्ला दिनमा प्रधानमन्त्री निकटका केही मान्छेले सरकारको काम गरेको तर जश आफैले मात्रै लिएको भन्दै उनको आलोचना गरिरहेका छन् ।

विगतमा प्राधिकरणका को नियुक्त हुन्थ्यो, को जान्थ्यो । आम मानिसलाई थाहै हुँदैनथ्यो । पछिल्लो चार वर्षमा भाइब्रेन्ट भएको प्राधिकरणको पछाडि शतिशाल जस्तै उभिएको कुलमान थियो र सम्भव भयो ।

केही दिन पछि सेवा निृवृत्त हुन लागेका उपकार्यकारी निर्देशक बज्रभूषण चौधरीले बिदाई कार्यक्रम सकिएपछि पत्रकारहरुसँगको कुराकानीमा भनेका थिए ।

बिदाई समारोहमा प्राधिकरणका कर्मचारीले पुनः कुलमान २.० शुरु हुने भन्दै पहिलो शत्रको मात्रै बिदाई भएको बताएका थिए । मलिन अनुहारमा सेल्फी खिच्न समेत लाइन लागेका कर्मचारीलाई आशा थप्दै कुलमान मुस्काउँथे र भन्थे, चिन्ता नगर्नुस् । हामी सधै सँगै हुन्छौ । मिलेर काम गर्नुपर्छ ।

उनले प्राधिकरणको नीति निर्माणको तहमा कर्मचारीको प्रतिनिधि पनि सहभागी हुने वातावरण बनाएका कारण ४ वर्षमा आफूले कर्मचारीबाट सक्दो सहयोग पाएको बताए ।

‘रात दिन भनेको छैन, मसँगै तपाईंहरु हिँड्नुभयो । मेहनत गर्नुभयो, आज संस्था सबल बनेको छ । हामी सधै सँगै हुन्छौ र रहने छौ,’ उनले भने ।


क्लिकमान्डु