पुनः नियुक्ति नहुने निश्चित भएपछि प्राधिकरणले आजै कुलमानको बिदाई गर्दै



काठमाडौं । स्वार्थ मिल्दा कुनै पनि सरकारी निकायको प्रमुखको नियुक्ति सहजै हुन्छ । तर, स्वार्थ नमिल्दा राम्रा काम गरिरहेका व्यक्तिलाई समेत पुनः नियुक्ति दिन ‘कानूनको नौ सिङ’को खोजी गरिन्छ ।

यस्तै भएको छ, नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशको नियुक्तिको विषय ।

४ वर्षे सफल कार्यकाल पूरा गरी सर्वसाधारणबाट समेत लोडसेडिङ हटाएको भन्दै वाहवाही कमाएका प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तीलाई लिएर यतिबेला राजनीतिक किचलो शुरु भएको छ ।

४ वर्ष पहिले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ति भएका कुलमान घिसिङको कार्यकाल यही भदौ २९ गतेदेखि सकियो । आम जनताले घिसिङ नै पुनः नियुक्ति हुन् भन्ने अपेक्षा राखेका छन् । तर, सरकारले अब कुलमानलाई प्राधिकरणको पुनः बागडोर सम्हाल्ने अवसर नदिने भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय पुनः नियुक्तिका लागि प्रस्ताव लगेको सार्वजनिक गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दर्ता भएको बताइरहेको छ । तर, सोमबारको मन्त्रिपरिषद्को बैठकमा कानून नमिलेको भन्दै कुलमानको पुनः नियुक्ति हुन सकेन ।

सोमबारसम्म पुनः नियुक्ति हुने आम जनचाहना रहेपनि मन्त्रिपरिषदले कुनै निर्णय नगरेपछि मंगलबार प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक घिसिङको बिदाई कार्यक्रम राखिएको छ ।

प्राधिकरणका अनुसार आज मध्यान्न उनको बिदाई कार्यक्रम राखिएको छ । घाटामा रहेको प्राधिकरणलाई नाफामा लगेको र लोडसेडिङ हटाएर आम नागरिकका लागि प्रिय बनेका कुलमानको पुनः नियुक्तिलाई लिएर सामाजिक सञ्जालमा चर्को आवाज उठेको छ ।

तर, सरकारले भने उनलाई पुनः नियुक्ति दिने सम्भावना भने करिब करिब अन्त्य भएको छ । उनको पुनः नियुक्तिलाई लिएर सोमबार बिहान समेत प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डबीच छलफल भएको थियो ।

ऊर्जा मन्त्रालय स्रोतले समेत पुनः नियुक्तिको प्रस्ताव मन्त्रिपरिषद्मा लगेको बताएको थियो ।

राष्ट्रियसभाको रिक्त सदस्य पदमा वामेदव गौतमको सिफारिश भइरहँदा कुलमानको पनि पुनः नियुक्तिको प्रस्ताव आउने सम्भावना थियो ।

मन्त्रिपरिषद्को बैठकको अन्त्यतिर ऊर्जा मन्त्रीले प्रधानमन्त्रीलाई मेरो एउटा प्रस्ताव थियो नी भनेका थिए । बैठकमा सहभागी एक मन्त्रीका अनुसार ‘ऊर्जामन्त्रीले त्यसो भन्दा प्रधानमन्त्रीले कानूनी कुरा मिलेको छैन, विचार गरेर हेरौला भन्दै टारेका थिए ।’

पुनः नियुक्तिको सम्भवना सकिएपछि कुलमानकै इच्छा अनुसार मंगलबार उनको बिदाई कार्यक्रम राखिएको बताइएको छ । त्यसो त कुलमानले यसअघि नै बिदाई समारोह राख्न खोजेका थिए । ऊर्जा मन्त्री पुन र ऊर्जा मन्त्रालयले हतार नगर्न भनेका थिए ।

पुनः नियुक्तिको सम्भावना नभएपछि मंगलबार उनको बिदाई समारोह राखिएको प्राधिकरणका एक कर्मचारीले जानकारी दिए । उनका अनुसार कोरोनाको जोखिमका कारण बिदाई समारोह सामान्य मात्रै गर्न खोजिएको बताइएको छ ।

तर, यसबारेमा प्राधिकरणको कार्यकारी निर्देशकको सचिवालयले भने केही बताएको छैन ।


क्लिकमान्डु