मन्त्रिपरिषद्को बैठक शुक्रबारलाई सर्योः कुलमानको पुनः नियुक्तिको प्रस्ताव पेश हुने



काठमाडौं । बिहीबार बस्ने गरी तय भएको मन्त्रिपरिषद्को बैठक शुक्रबारका लागि सरेको छ । समाचार स्रोतहरुका अनुसार आजको मन्त्रिपरिषद्को बैठकलाई महत्वका साथ हेरिएको थियो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रस्तावमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पदावधि थप ४ वर्षका लागि थप गरिने भएको छ ।

ऊर्जा मन्त्री वर्षमा पुनले बुधबार रोल्पामा आयोजित पत्रकार सम्मेलनमा समेत प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई पुनः नियुक्ति दिइने बताएका थिए ।

विभिन्न सञ्चार माध्यममा प्राधिकरणका कार्यकारी निर्देशक २ वर्षका लागि मात्रै थप गरिने समाचार बाहिरिएको छ । नेपाल विद्युत् प्राधिकरण ऐन अनुसार कार्यकारी निर्देशकको पदावधि ४ वर्षको हुनेछ भन्ने उल्लेख छ ।

बुधबार नै प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डबीच प्राधिकरणका कार्यकारी निर्देशककोे पुनः नियुक्तिलगायत अन्य विषयमा छलफल भएको बुझिएको छ ।

ऊर्जा मन्त्रालय स्रोतले भन्यो, ‘ऐन विपरित प्राधिकरणका कार्यकारी निर्देशकको पदावधि २ वर्ष भनेर हल्ला गरिएको छ । ऐन विपरित जान सकिदैन । हामीले ऐन अनुसार नै प्रस्ताव तयार पारेका छौ । शुक्रबारको बैठकमा पेश होला र निर्णय पनि होला ।’

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको पदावधि यही भदौ २९ गते सकिदैछ । अघिल्लो कार्यकालमा लोडसेडिङ हटाएको र चरम घाटामा गएको प्राधिकरणलाई नाफामा ल्याएका कारण कुलमानको पक्षमा जनमत बनेको छ । प्राधिकरणका कार्यरत कर्मचारी संघ संगठन तथा आधिकारिक टे«ड यूनियनले समेत कुलमानको पुनः नियुक्ति हुनुपर्ने बताउँदै आएका छन् ।

बालुवाटारले भने सरकारको निर्देशनमा भएका काम कारवाहीको जश कुलमान आफैले मात्रै लिएको भन्दै असन्तोष प्रकट गर्दै आएको छ ।

बिहिबारका लागि तय भएको बैठक शुक्रबारका लागि सरेपछि ऊर्जा मन्त्री पुन बुधबार साँझ भरतपुरमा नै बास बसेका थिए । उनी बिहिबार मात्रै काठमाडौ आइपुग्ने भएका छन् ।

केही दिन पहिले कुलमानको पुनः नियुक्ति र ऊर्जा क्षेत्रको आगामी कार्यभारका बारेमा प्रधानमन्त्री ओली र ऊर्जा मन्त्री पुनबीच छलफल भएको थियो ।


क्लिकमान्डु