कोरोना शुरु भएयता पर्यटन क्षेत्रमा आयो ७ अर्बको विदेशी लगानीको प्रतिबद्धता



काठमाडौं । कोरोनाका कारण सबैभन्दा बढी प्रभावित पर्यटन हो । यतिबेला कोरोनाका कारण नेपालको मात्रै होइन समग्र विश्वको पर्यटन क्षेत्र नै अतिप्रभावित भइसकेको छ ।

पर्यटन क्षेत्रसँग सम्बन्धित हवाई क्षेत्र, होटल, रेष्टुराँ, पर्यटकीय गन्तव्य, यातायातलगायतको व्यवसाय ठप्प भएको छ भने विश्वभर करोडौंले रोजगारी समेत गुमाएका छन् ।

एक अध्ययनका अनुसार कोरोनाका कारण विश्वभर पर्यटन क्षेत्रमा कार्यरत १२ करोड मानिस बेरोजगार बन्दैछन् । साथै यसले १ ट्रिलियन डलर बराबरको रकम गुमेको छ । वर्ल्ड टुरिजम अर्गनाइजेसनका अनुसार कोरोनाका कारण प्रभावित पर्यटन क्षेत्र २० वर्षपछि धकेलिएको छ ।

नेपालमा पनि पर्यटन क्षेत्रमा प्रत्यक्ष र अप्रत्यक्षरुपमा कार्यरत १० लाख मानिस प्रभावित भएका छन् । नेपाल पर्यटन बोर्डले भने यो प्रत्यक्षरुपमा कार्यरत २ लाख ७३ हजार भएको बताएको छ ।

हालसम्म नेपालको पर्यटन क्षेत्रले अर्बौ रुपैयाँको लगानी जोखिममा परिसकेको छ । हाल पर्यटन क्षेत्रमा कार्यरत कर्मचारीहरुले तलब पाउन सकेका छैनन भने लाखौं मानिसहरु लकडाउन र निषेधाज्ञाका कारणले बेरोजगार हुनु परेको अवस्था छ ।

जसले गर्दा अर्बौ रुपैयाँ लगानी भएका पर्यटन क्षेत्रका पूर्वाधारको लगानी जोखिममा परेको छ । साथै आगामी २ वर्षसम्म पनि रिभाइभ हुन नसक्ने गरी थलिएको जानकारहरु बताउँदै आइरहेका छन् ।

तर यसैबीच पनि पर्यटन क्षेत्रमा भने विदेशी लगानी आउने क्रम केही सुस्ताए पनि रोकिएको भने छैन । उद्योग विभागको तथ्यांकलाई आधार मान्दा सन् २०२० को जनवरीदेखि भदौ २३ गतेबीचको अवधिमा करिब ७ अर्ब रुपैयाँ बराबरको विदेशी लगानीको प्रतिबद्धता पर्यटन क्षेत्रमा आएको छ ।

विभागका अनुसार यसबीचमा ४३ वटा होटल तथा रेष्टुराँमा विदेशी लगानीको प्रतिबद्धता आएको हो । यस अवधिमा सबैभन्दा धेरै लगानीको प्रतिबद्धता निर्माण क्षेत्रका लागि आएको छ ।

कुन क्षेत्रमा कति लगानीको प्रतिबद्धता आयो ?
उद्योग विभागको तथ्यांक अनुसार यसबीचमा सेवामूलक, पर्यटन, उत्पादन, सूचना तथा प्रविधि, कृषि र उर्जा क्षेत्रका ११३ वटा कम्पनीमा विदेशी लगानीको प्रतिबद्धता आएको छ । जसबाट ५ हजार ४४ जनाले रोजगारी पाउने छन् ।

जसमध्ये सबैभन्दा बढी लगानी सेवामूलक क्षेत्रका लागि आएको छ । सेवामूलक क्षेत्रका लागि यस अवधिमा ७ अर्ब २५ करोड ३२ लाख रुपैयाँ बराबरको विदेशी लगानीको प्रतिबद्धता आएको छ । त्यसैगरी पर्यटन क्षेत्रमा ६ अर्ब ८८ करोड रुपैयाँ बराबरको विदेशी लगानीको प्रतिबद्धता आएको विभागको तथ्यांकमा उल्लेख छ ।


क्लिकमान्डु