पर्यटनमन्त्री भट्टराई र अष्ट्रेलियन राजदूतबीच बिदाई भेट, नेपाल-अष्ट्रेलियाबीच सिधा हवाई उडानबारे छलफल



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र नेपालका लागि अष्ट्रेलियाका राजदूत पीटर वडबीच शिष्टाचार भेटवार्ता भएको छ ।

सिंहदरवारस्थित मन्त्रालयमा मंगलबार भएको बिदाई भेटका अवसरमा राजदुतले नेपाल बसाइँ अत्यन्त सुखद स्मरणीय भएको, यो कार्यकालभित्र नेपालका थुप्रै स्थानको भ्रमण गर्ने अवसर मिलेको, र यसवाट नेपालको भौगोलिक, सामाजिक, साँकृतिक एवं पर्यटकीय सम्पदाहरुको नजिकवाट अनुभव गर्ने अवसर प्राप्त भएको बताए ।

उनले कोभिड–१९ ले सृजना गरेको विकराल समस्याका बीच लकडाउनमा नेपालका विभिन्न जिल्लाहरुमा अड्किएका अष्ट्रेलियन नागरिकहरुलाई सकुशल उद्धार गरी नेपाल वायुसेवामार्फत स्वदेश पठाउने व्यवस्था गरेकोमा मन्त्री भट्टराईलाई धन्यवाद तथा कृतज्ञता व्यक्त गरे ।

उनले नेपालको पर्यटन विकासमा अष्ट्रेलियाको पूर्ण सहयोग रहने प्रतिबद्धता पनि व्यक्त गरेका थिए । मन्त्री भट्टराईले नेपाल र अष्ट्रेलियाको बीचमा हवाई सम्झौत्ता भई सकेको र उद्धार उडान सफलतापूर्वक सम्पन्न भएकोले निकट भविष्यमा नै सिधा हवाई सम्पर्क स्थापित हुने विश्वास व्यक्त गरे ।

मन्त्री भट्टराईले अष्ट्रेलियामा नेपालको पर्यटन प्रबर्धनमा राजदुतको सहयोगको अपेक्षा गरेका थिए । राजदुत वडले आफनो तीन वर्षे कार्यकाल पूरा गरी स्वदेश फर्किनु अघि मन्त्री भट्टराईसँग बिदाइ भेट गरेका हुन् ।


क्लिकमान्डु