लकडाउन र निषेधाज्ञामा हवाई क्षेत्रले गुमायो १६ अर्ब



काठमाडाैं ।  कोभिड-१९ महामारीका कारण आन्तरिक उडानमा रहेका निजी क्षेत्रका वायुसेवा कम्पनीले १६ अर्ब रूपैयाँभन्दा बढी आर्थिक नोक्सानी बेहोर्नु परेको छ । कोभिड-१९ महामारी नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दी र जारी निषेधाज्ञाको अवधिमा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान ठप्प हुँदा ती कम्पनीले ठूलो आर्थिक नोक्सानी बेहोरेका हुन् ।

महामारी नियन्त्रणका लागि सरकारले गत चैत ११ देखि साउन ६ गतेसम्म बन्दाबन्दी र त्यसयता भदौ २४ गतेसम्म राजधानी काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा निशेषाज्ञा जारी गरिएको छ । सोहीकारण झण्डै ६ महिनादेखि पर्यटन तथा हवाई क्षेत्र सुनसान प्रायः छ ।

वायुसेवा सञ्चालक सङ्घका प्रवक्ता योगराज कँडेल शर्माले महामारीको प्रभावका कारण हवाई सेवा कम्पनीले छ महिनाको अवधिमा  १६ अर्ब रूपैयाँभन्दा बढी आर्थिक नोक्सानी बेहोर्नुपरेको बताए ।  उनका अनुसार ठूला वायुसेवा कम्पनी बुध्द एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स तथा विभिन्न १० कम्पनीका हेलिकोप्टरको व्यवसायको मोटामोटी नोक्सानीको विवरण हो । आर्थिक नोक्सानीसँगै व्यवसायसँग जोडिएका कर्मचारी मजदूरलगायतको पीडा उत्तिकै छ ।

सन् २०२० मा निजी क्षेत्रका हवाई कम्पनीले  २५ अर्ब रूपैयाँभन्दा बढी आर्थिक नोक्सानी बेहोर्ने आँकलन गरिएको छ । प्रवक्ता शर्माले बन्दाबन्दीको ६ महिनाको अवधिमा बुध्द एयरले मात्रै करिब ४ अर्ब  रूपैयाँ नोक्सानी बेहोरेको छ । यती एयरलाइन्सको ३ अर्ब ६० करोड रूपैयाँ नोक्सानी भएको छ । श्री एयरलाइन्सको पनि झण्डै ३ अर्ब रूपैयाँको आर्थिक नोक्सानी भएको छ ।
यो बन्दाबन्दी र निषेधाज्ञा अवधिको अनुमानित विवरण हो । हेलिकप्टर कम्पनीको व्यापार घाटा छुट्टै छ । अब, दैनिक कति व्यापार गर्थे त वायुसेवा कम्पनीले यसबाट पनि सहजै आर्थिक नोक्सानीको अनुमान लगाउन सकिन्छ । देशकै अग्रणी वायुसेवा कम्पनी बुध्द एयरले सामान्य अवस्थामा दैनिक करिब १०० उडानमार्फत ५५ सय हाराहारी यात्रुलाई ओहोरदोहोर गराउँथ्यो । दैनिक ७० वटासम्म उडान भर्ने अर्को प्रतिस्पर्धी यती एयरलाइन्सले ४ हजारभन्दा बढी यात्रु व्यवस्थापन गर्ने गरेको थियो । धेरै उडान गर्नेमध्येको तेस्रो श्री एयरलाइन्सले पनि दैनिक ४० हाराहारीमा उडान भर्ने गरेको थियो ।

वायुसेवा कम्पनीको भनाइमा सङ्घको आँकडाभन्दा आर्थिक नोक्सानी केही तलमाथि हुन जान्छ । उसो भए एयरलाइन्सको भनाइमा चाँही कति नोक्सानी भयो त ?

बुध्द एयरका बजार निर्देशक रुपेश जोशीका अनुसार कम्पनीले सामान्य अवस्थामा ६० देखि ७० करोड रूपैयाँ आम्दानी गर्‍यो । तर, इन्धनमा ४० प्रतिशत कटाउँदा उसले मासिक १५ करोड रूपैयाँ सहजै आम्दानी गर्नेगरेको थियो । ६ महिनाको इन्धनबाहेकको मात्रै हिसाब गर्दा एक अर्ब रूपैयाँभन्दा बढी घाटा हुन्छ ।

बुध्द एयरले ११ एटीआरसहित १३ जहाजमार्फत विभिन्न १३ गन्तव्यमा आन्तरिक उडान गरिरहेको छ । यता निजी क्षेत्रको प्रतिस्पर्धी अग्रणी वायुसेवा कम्पनी यती एयरलाइन्सले ६ महिनाको अवधिमा डेढ अर्ब रूपैयाँभन्दा बढी आर्थिक नोक्सानी बेहोर्नुपरेको छ । एयरलाइन्सको हवाई सुरक्षा विभागका प्रमुखसमेत रहेका प्रवक्ता सुदर्शन बर्तौलाले बन्दाबन्दीको अवधिमा यतीले डेढ अर्ब रूपैयाँभन्दा बढी र यतीकै भगिनी संस्था तारा एयरले ५० करोड रूपैयाँ हाराहारी आर्थिक नोक्सानी बेहोरेको बताए ।

यतीले हाल पाँच एटीआर र पाँच जेट स्ट्रिमसहित १० जहाजमार्फत उडान भर्दै आएको छ ।

श्री एयरलाइन्सका संस्थागत प्रबन्धक अनिल मानन्धरले बन्दाबन्दीको अवधिमा ठूलो आर्थिक नोक्सानी बेहोर्नुपरेको बताए । कम्पनीसँग आन्तरिक उडानका लागि सिआरजे र ‘ड्यास एट’ गरी छ जहाज छन् । सौर्य, सीता, सिम्रिक, समिटलगायत एयरलाइन्सले बन्दाबन्दीमा धेरै घाटा बेहोर्नुपरेको छ ।

विमानस्थलमा आन्तरिकतर्फ दैनिक ३०० हाराहारी उडान हुने गरेको थियो । आन्तरिक उडानमा ३४ हेलिकप्टर तथा ४६ जहाजले उडान भर्छन् । आन्तरिकतर्फ १० हेलिकप्टरसहित १९ वायुसेवा कम्पनीले उडान भर्दै आएका छन् ।

हेली एभरेष्टका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका प्रवक्ता शर्माका अनुसार सिजनमा हेली एभरेष्टले मात्रै दैनिक २० देखि २५ हजार अमेरिकी डलर कमाई गर्ने गरेको थियो । बढी उडान गर्ने सिम्रिक एयरको हेलिकप्टर र कैलाश हेलिकप्टरले सर्वाधिक उडान गर्थे । यी दुवै कम्पनीसँग समान ६ वटा हेलिकप्टर छन् । उनीहरुले दैनिक ४० हजार डलरसम्म व्यापार गर्ने गरेका थिए । सिजनमा कैलाश मानसरोबरमा मात्रै रु ५० करोडभन्दा बढीको व्यापार हुन्थ्यो ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी डा धनञ्जय रेग्मीले बन्दाबन्दीको अवधिमै पर्यटन तथा हवाई क्षेत्रले  ३७ अर्ब रूपैयाँभन्दा बढी आर्थिक नोक्सानी बेहोरेको बताए । बोर्डले हालै गरेको एक अध्ययनअनुसार बन्दाबन्दीको अवधिमा मुलुकको पर्यटन तथा हवाई क्षेत्रमा  ४१ अर्ब रूपैयाँ नोक्सानी बेहोर्ने अनुमान गरेको थियो । यो चैत ११ देखि साउनमहिनासम्मको विवरण हो ।

डेढ खर्बको लगानी जोखिममा    
कोभिड-१९ का कारण नेपालको पर्यटन क्षेत्रका डेढ खर्बभन्दा बढी लगानी जोखिममा परेको बताइन्छ । बोर्डले तयार गरेको कोभिडपछिको पर्यटन क्षेत्रको असरसम्बन्धी अध्ययनअनुसार वैद्यरुपमा सञ्चालन भएका पर्यटन क्षेत्रमा १ खर्ब ५३ अर्ब रूपैयाँको लगानी छ । यो निजी क्षेत्रको मात्रै लगानी हो । यस्तो लगानी पर्यटन क्षेत्रका होटल, एयरलाइन्स, रेष्टुराँदेखि पदयात्रा पर्वतारोहण, जलयात्रालगायत छन् । कोभिडको मख्य प्रभाव पर्यटन क्षेत्रमा परेको छ । यो क्षेत्रमा २ लाख ७३ हजारले प्रत्यक्ष रोजगारी पाएका छन् ।

संयुक्त राष्ट्र सङ्घ, विश्व पर्यटन सङ्घले नेपालको पर्यटन क्षेत्रमा १० लाखभन्दा बढीले रोजगारी पाएको उल्लेख गरेको छ । त्यस्तै सरकारी तथ्याङ्कले पनि पर्यटन क्षेत्रमा ६ लाख हाराहारीले रोजगारी पाएको विवरण छ । तथापि बोर्डले हालै गरेको द्रुत अध्ययनबाट झण्डै तीन लाखले पर्यटनमा प्रत्यक्षरुपमा रोजगारी पाएको उल्लेख गरेको छ । सरकारले कोभिड-१९ का कारण थला परेको पर्यटन क्षेत्रलाई राहत एवं पुनःरुत्थानका लागि चालू आवको बजेटमा १ खर्ब रूपैयाँको पुनःरुत्थान कर्जाका साथै  ५० अर्ब रूपैयाँको पुनःरुत्थान कोषको व्यवस्था गरेको छ ।


क्लिकमान्डु