पर्यटन बोर्डले गठन गर्यो ‘टुरिजम रिभाइभल टास्कफोर्स’, मजदूरलाई रोजगार सृजना गर्ने



काठमाडौं । पर्यटन बोर्डले पर्यटन क्षेत्रको सर्भाइभल र रिभाइभलको योजना अगाडि सार्दै टुरिजम रिभाइभल टास्कफोर्स गठन गरेको छ । बोर्डका कार्यकारी प्रमुखको संयोजकत्वमा टास्कफोर्स गठन गरिएको हो ।

सरकारको प्राथमिकता तथा निजी क्षेत्रको चाहना एवं बाध्यताका बीचमा थप समन्वय र सहकार्यको खाँचो देखिएकाले बोर्डले सर्भाइभल र रिभाइभलका योजना अगाडि सार्दै पाटा, स्काललगायतका पर्यटन क्षेत्रका संघ संस्थाहरु एवं अग्रज पर्यटन व्यवसायीहरु समेतलाई सल्लाहकारका रुपमा समेटी टास्कफोर्स गठन गरेको हो ।

कार्यदलले वर्तमान् अवस्थामा थलिएको पर्यटन उद्योगलाई कसरी पुनर्जीवन दिने भनि अन्तर्राष्ट्रिय अभ्यासहरु समेतको अध्ययन गरी सुझावहरु निरन्तर दिनेछ । साथै सोहीअनुसार सम्पूर्ण व्यवसायीहरुलाई एकीकृत गरी सरकारलाई आगामी रणनीति निर्माण गर्न सहयोग पु¥याउने बोर्डको भनाइ छ ।

कार्यदलले तत्काल पर्यटनका गतिविधीहरुलाई सुरक्षित ढंगले कसरी अगाडि बढाउन सकिन्छ भन्ने पनि अध्ययन गर्नुका साथै निराश हुँदै गएका व्यवसायी तथा मजदूरहरुलाई के कस्तो आर्थिक कार्यक्रम ल्याउन सकिन्छ भन्ने पनि मार्ग पहिल्याउन सहयोग बोर्डको अपेक्षा छ ।

पर्यटन क्षेत्रमा भएको क्षतिको आँकडा तयार गरी सरकार एवम् सम्बन्धित निकायसँग सहकार्य तथा समन्वय गर्ने, सर्भाइभलको प्याकेज तयार गरी सरकार समक्ष आग्रह गर्ने, लकडाउनको समयमा नेपालका विभिन्न जिल्लामा रहेका विदेशी पर्यटकहरुलाई उद्धार गरी सकुसल आ–आफ्नो देशमा फिर्ता पठाउने कार्य गर्नेलगायतका काम बोर्डले गर्दै आएको छ ।

महामारीबीच पर्यटन क्षेत्रलाई सुरक्षाको सबै विधि अपनाई सञ्चालन गर्नका लागि सेफ्टी प्रोटोकल इन हस्पिटालिटी तयार गरी लागू गर्ने, सरकारको नीति तथा कार्यक्रम एवं बजेटमा व्यवस्था गरिएको आर्थिक प्याकेजहरुलाई नेपाल राष्ट्र बैंकलाई अनुरोध गरी पर्यटन व्यवसायीहरुको बीचमा थप स्पष्ट पार्ने कार्य गर्ने, पर्यटन मजदूरहरुलाई अल्पकालिन भएपनि रोजगार सृजना गर्न अन्तर्राष्ट्रिय साझेदार संस्थासँग सहकार्य गर्ने जस्ता कार्यहरु नेपाल पर्यटन बोर्डले गर्दै आएको बोर्डको भनाइ छ ।


क्लिकमान्डु