चिनी आयात गर्ने ठेक्का भारतीय कम्पनी रेनुका सुगर्सलाई, असोजभित्र ल्याइसक्ने



काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले २० हजार मेट्रिकटन चिनी आयातको ठेक्का भारतीय कम्पनी रेनुका सुगर्सलाई दिएको छ ।

दोस्रो पटक टेन्डर आह्वान गर्दा आवेदन दिएका ३ कम्पनीमध्ये सबैभन्दा कम बिडिङ गर्ने कम्पनीका रुपमा रेनुका कम्पनीलाई ठेक्का दिइएको कर्पोरेशनका सूचना अधिकारी कुमार राजभण्डारीले क्लिकमाण्डूलाई जानकारी दिए ।

उक्त कम्पनीले गत वर्ष पनि साल्ट ट्रेडिङबाट चिनी आयतको ठेक्का पाएर १० हजार मेट्रिकटन चिनी आयात गरेको थियो । राजभण्डारीका अनुसार कम्पनीले असोज महिनाभित्रै २० हजार मेट्रिकटन चिनी आयात गरिसक्ने बताए ।

कम्पनीले प्रतिटन ४१६ डलरमा चिनी आयात गर्ने गरी प्रस्ताव पेश गरिएको थियो । जुन ३ वटा कम्पनीमध्ये सबैभन्दा कम मूल्य भएको राजभण्डारीको भनाइ छ ।

बजारमा चिनी अभाव भएसँगै चिनीको भाउ यतिबेला ह्वात्तै बढेको छ ।

सामान्य रुपमा ७३ रुपैयाँ प्रतिकेजी चिनी बिक्री भइरहेको अवस्थामा अहिले चिनीको अभाव भएसँगै प्रतिकेजी ९५ रुपैयाँसम्म पुगेको छ ।

बजारमा चिनी अभाव भएसँगै गत साउनको अन्तिम साता मन्त्रिपरिषदको बैठकले ३० हजार मेट्रिकटन चिनी आयात गर्नका लागि स्वीकृति दिने निर्णय गरेको थियो ।

जसमध्ये २० हजार मेट्रिकटन चिनी साल्ट ट्रेडिङ कम्पनीलाई र बाँकी १० हजार मेट्रिकटन चिनी खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई स्वीकृति दिएको थियो ।

जसमध्ये खाद्य व्यवस्था तथा व्यापार कम्पनीले तिहारसम्म चिनी आयात गर्ने बताइसकेको छ । दशैं अगाडि चिनीको अभाव सृजना नहोस भन्नका लागि साल्ट ट्रेडिङले ल्याइसक्ने दाबी गरेको थियो ।


क्लिकमान्डु