माथिल्लो रावाखोला जलविद्युत् आयोजनाको ३ मेगावाट विद्युत् जोडियो



काठमाडौं । खोटाङ जिल्लाको उत्तरी क्षेत्रमा पर्ने केपिलासगढी गाउँपालिकाको रावाखोलाबाट उत्पादन गरिएको माथिल्लो रावाखोला साना जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

उक्त गाउँपालिका–६ दिप्सुङ र वडा नं ७ सुङ्देलको सिमानामा पर्ने रावाखोलाबाट हालै उत्पादन गरिएको ३ मेगावाट क्षमताको जलविद्युत् आयोजनालाई दिक्तेल–गाईघाट ३३ केभी प्रसारणलाइनअन्तर्गत बुइपामा सञ्चालित सब–स्टेसनमा जोडिएको हो ।

रावाखोलाको पानीलाई सुङ्देलको बिहीबारेमा निर्माण गरिएको हेडड्रेसबाट दुई हजार १०० मिटर लामो पाइपलाइनमार्फत् सुङ्देलकै दाम्कुबेँसीमा पानी खसाएर विद्युत् उत्पादन गरिएको आयोजनाका प्रबर्द्धक रावा इनर्जी डेभलपमेन्ट प्रालिका सञ्चालक मुक्ति तिम्सिनाले बताए ।

‘जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारनलाइनमा जोडिएसँगै भदौ १६ गतेदेखि नेपाल विद्युत् प्राधिकरण खोटाङले जिम्मा लिएर मिटर रिडिङको काम शुरु गरेको छ’, उनले भने ‘जलविद्युत् आयोजनाको सम्पूर्ण काम सम्पन्न भए पनि अहिले विश्वभर महामारीका रुपमा देखा परेको कोरोना भाइरसका कारण माथिल्लो रावाखोला जलविद्युत् आयोजनाको औपचारिक उद्घाटन भने केही समयपछि मात्र गर्ने तयारी गरेका छौँ ।’

राष्ट्रिय बाणिज्य बैंकको ७० प्रतिशत र प्रबर्द्धक रावा इनर्जी डेभलपमेन्ट प्रालिको ३० प्रतिशत गरी करीब ६० करोड रुपैयाँको लागतमा माथिल्लो रावाखोला जलविद्युतको काम सम्पन्न भएको जनाइएको छ ।

विसं २०६८ देखि उत्पादनको पहल थालिए पनि २०७३ सालदेखि मात्र माथिल्लो रावाखोला साना जलविद्युत् आयोजनाका लागि कन्सट्रक्सन निर्माणको काम शुरु गरिएको थियो ।

माथिल्लो रावाखोला साना जलविद्युत् आयोजनाको पावरहाउस, हेड, पाइप अड्याउने स्याडल, एङ्कर ब्लकलगायत सिभिल कन्सट्रक्सनको काम ट्रिपल एक्स कन्सट्रक्सन एन्ड सप्लायर्स प्रालिले, जेनेरेटर, टर्वाइन, ट्रान्सफर्मर, प्यानल उपकरण जडान लगायतका इलेक्ट्रो मेकानिकलको काम सिमर इनर्जीले तथा इन्जिनियरिङको काम काम युनिट्स इन्जिनियरिङ कन्सलटेन्सीले गरेको जनाइएको छ ।

केपिलासगढी गाउँपालिकाबाट उत्पादित माथिल्लो रावाखोला साना जलविद्युत् आयोजना जिल्लामा निजी क्षेत्रबाट सञ्चालनमा ल्याइएकामध्ये सबैभन्दा ठूलो क्षमताको जलविद्युत् आयोजना हो ।

माथिल्लो रावाखोला साना जलविद्युत् आयोजनाको विद्युतलाई राष्ट्रिय प्रसारणलाइनमा जोडेर अहिले ट्रायल लिने काम भइरहेको नेपाल विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख रामदिनेश राय यादवले बताए ।

जिल्लामा १६ हजार १९४ घर विद्युत् उपभोक्ता रहेका छन् । अहिले २.५ मेगावाट विद्युत् नियमित आएमा पर्याप्त हुने प्राधिकरणको भनाइ छ ।

केन्द्रीय प्रसारणलाइनको विद्युतअवरुद्ध भएको समयमा पनि माथिल्लो रावाखोला जलविद्युत् आयोजना सञ्चालनमा रहेको खण्डमा जिल्लामा लोडसेडिङ हुँदैन । यसले जिल्लावासीका लागि ठूलो राहत मिलेको बताइन्छ ।

बुइपा सवस्टेशनमा जोडिएको उक्त जलविद्युत् आयोजनाको विद्युत् खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बु गरी ३ जिल्लामा खपत हुने गरेको छ ।

यसअघि सञ्चालनमा रहेको ११ केभी प्रसारणलाइनको विद्युतपोल तथा तारमा ३३ केभी प्रसारणलाइनको क्षमता थपिएकाले दिक्तेल–गाईघाट ३३ केभी प्रसारणलाइन पटकपटक अवरुद्ध हुँदै आएको छ ।

माथिल्लो रावाखोला जलविद्युत् आयोजनालाई नियमित सञ्चालनमा ल्याउनका लागि विद्युत् गृहमा जेनेरेटर जडान गर्न विद्युत् प्राधिकरण समक्ष समन्वय गर्ने काम भइरहेको प्रबर्द्धक कम्पनीका सञ्चालक तिम्सिनाले बताए ।

विद्युत् गृहमा जेनेरेटर जडान गर्न नेपाल विद्युत् प्राधिकरणबाट अनुमति लिनुपर्ने हुन्छ’ उनले भने ‘अहिले केन्द्रीय प्रसारणलाइनको विद्युत् जोडेपछि मात्र सञ्चालनमा आउने आयोजनामा जेनेरेटर जडान गरेपछि चौबिसै घण्टा विद्युत् उत्पादन गर्न सकिन्छ ।’

१० स्थानीय तह रहेको जिल्लामा १ मेगावाट क्षमताको साप्सुखोला हाइड्रोपावर सञ्चालनमा आइसकेको छ भने ५ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा रहेको छ ।

साप्सुखोलाकै तल्लो क्षेत्रमा पर्ने राजापानी र छोरम्बुको सिमानाबाट उत्पादन गर्न लागिएको ५ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको निर्माण कम्पनीले जनाएको छ ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा सानाठूला गरी दर्जनभन्दा बढी जलविद्युत् योजना सञ्चालनमा रहेका छन् । उक्त विद्युत्लाई एकीकृत गरेर केन्द्रीय प्रसारणलाइनमा जडान गर्ने तयारी गरिए पनि काम अगाडि बढेको छैन ।


क्लिकमान्डु