४०० केभीको बाह्रबीसे काठमाडौं प्रसारण लाइन निर्माण हुने



काठमाडौं । दोलखा, रामेछाप र सिन्धुपाल्चोक जिल्लामा निर्माणधिन तथा निर्माणमा जाने तयारीमा रहेका जलविद्युत आयोजनाले उत्पादन गर्ने विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने लक्ष्यका साथ ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने भएको छ ।

नेपाल सरकार, विद्युत प्राधिकरण र एसियाली विकास बैंकको ऋण सहयोगमा निर्माण हुने बाह्रबीसे काठमाडौं प्रसारण लाइन निर्माणका लागि प्रभावित क्षेत्रको रुपमा चिनिएको सिन्धुपाल्चोक जिल्लाका साविक ६ वटा गाविसका जग्गा धनीहरुलाई मुआब्जा वितरण गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालयल सिन्धुपाल्चोकले बिहीबार सार्वजनिक सूचना प्रकाशित गरी साविकको बाह्रबीसेका ३७, राम्चेका ३६, मांखाका ४, फुलपिङ डाँडाका १३, इर्फुका ४ र ठूलो सिरुबारीका १ परिवारलाई मुआब्जा वितरण गर्न लागेको हो ।

जग्गाप्राप्ती ऐन २०३४ अनुसार सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र सरोकारवाला व्यक्तिले मुआब्जा दाबी गर्न सक्ने सूचनामा उल्लेख छ । टावरका लागि आवश्यक पर्ने जग्गामा पर्ने घर गोठ तथा अन्य संरचाको विवरण समेत उपलब्ध गराउन सूचनामा आग्रह गरिएको छ ।

पछिल्ला दिनमा रामेछाप, दोलखा र सिन्धुपाल्चोकमा झण्डै ३ दर्जन हाराहारीमा साना तथा ठूलो जलविद्यूत् आयोजना निर्माणका क्रममा छन् ।


क्लिकमान्डु