७० करोड घुस प्रकरणमा सोधपुछ गर्न मिश्रलाई अख्तियारले बोलायो



काठमाडौं । तत्कालीन सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटालाई राजीनामा दिन बाध्य पारेका विजयप्रकाश मिश्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको छ ।

सेक्युरिटी प्रेस खरिद प्रक्रियामा बास्कोटाले ७० करोड घुस मागेको अडियो भन्दै सार्वजनिक गरेका मिश्रसँग अख्तियारले अनुसन्धानका लागि बोलाएको हो ।

अख्तियारले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आयोगको अनुसन्धान महाशाखामा अनुसन्धान अधिकृत समक्ष सम्पर्क राख्न भनेको हो । उक्त समय सीमाभित्र नआएमा कानून बमोजिम कारबाही गरिने समेत आयोगले स्पष्ट पारेको छ ।

तर मिश्र भने हाल नेपालमा छैनन । उनी हाल जापान गएका छन् । मिश्र फरार भएको हल्ला चलेसँगै मिश्रले आफू जापान त्यही अडियो रेकर्ड भएको डिभाइस लिन आएको स्पष्ट पारेका छन् ।

उनले अख्तियारको अनुसन्धानमा सहयोग पुगोस भन्ने उद्देश्यले डिभाइस लिन जापान आएको बताउँदै हवाई उडान सञ्चालन भएसँगै नेपाल फर्कने बताएका छन् ।

पछिल्लो दिनमा घुस प्रकरणमा जोडिएका बास्कोटालाई अख्तियारले चोख्याउन लागेको र अनुसन्धानको फाइल तामेलीमा राखेको समाचार सार्वजनिक भएपछि मिश्रलाई सोधपुछका लागि बोलाएको हो ।

घुस मागेको आरोप लागेपछि राजीनामा दिएका बास्कोटाले आफू विरुद्ध षडयन्त्र भएको भन्दै मिश्र विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा समेत दर्ता गरेका छन् ।


क्लिकमान्डु