डाउन पिलुवा खोला जलविद्युत आयोजनामा ३ वाणिज्य बैंकको १ अर्ब २३ करोड लगानी



काठमाडौं । संखुवासभा जिल्लाको धर्मदेवी र चैनपुर नगरपालिका स्थित डाउन पिलुवा खोला जलविद्युत आयोजनाको निर्माणको लागि सिटिजन्स बैंक इन्टरनेशनलको अगुवाईमा नेपाल इन्भेष्टमेन्ट बैंक र प्रभु बैंक सहभागी सहवित्तीयकरणमार्फत्  लगानी जुटाइएको छ । सो आयोजना रिभर फल्स् पावरद्वारा प्रवद्र्धित छ ।

परियोजनाको अनुमानित लागत करीब १ अर्ब ८९ करोड ४० लाख रुपैयाँमा बैंकहरुले ७०ः३० को ऋणःस्वपुँजी अनुपातमा १ अर्ब ३२ करोड रुपैयाँ बराबरको ऋण लगानी गर्नेछन् । यसमध्ये, सिटिजन्स बैंकबाट ६५ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट बैंकबाट ४२ करोड रुपैयाँ र प्रभु बैंकबाट २५ करोड रुपैयाँ लगानी हुनेछ । साथै ३०% स्वपुँजी प्रवद्र्धकहरुबाट जुटाइने बताइएको छ ।

कम्पनीले सो आयोजना २.५ बर्षभित्र निर्माण सम्पन्न गरी संचालनमा ल्याउने लक्ष्य राखेको छ । निर्माण सम्पन्न पश्चात उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणको चैनपुरको बानेश्वर स्थित सबस्टेशनमा जोडिने छ । आयोजनाबाट बार्षिक ५७.६८५ गिगावाट घन्टा विद्युत उत्पादन हुन्छ । कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ५० गिगावाट घन्टा र वर्खामा ७.६८५ गिगावाट घन्टा विद्युत उत्पादन हुन्छ ।

सम्झौता हस्ताक्षरका अवसरमा सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले कोरोना भाइरसका कारण सिर्जित कठीन समयमा परियोजनाको वित्तिय व्यवस्थापन समापन गर्नु ठूलो उपलब्धी रहेको जनाउनु भयो र सहभागी सबै बैंकहरुलाई आभार व्यक्त गर्दै प्रवद्र्धकहरुलाई थप उत्साहका साथ कार्य अगाडि बढाउन अनुरोध गरे ।

कम्पनीको तर्फवाट कार्यकारी निर्देशक सुभाष अमात्यले सबै बैंकहरुलाई विशेष धन्यवाद दिदैं आयोजनाको निर्माण कार्यमा राम्रो प्रगति हासिल गरिसकेको बताए । साथै, परियोजना समयमै निर्माण सम्पन्न गरी संचालनमा ल्याउने विश्वास व्यक्त उनले गरे ।


क्लिकमान्डु