आन्तरिक उडानबारे अनिश्चितता बढ्यो, तत्काल नखुल्ने संकेत



काठमाडौं । पर्यटनमन्त्री योगेश भट्टराईले आन्तरिक उडान तत्काल नखुल्ने संकेत गरेका छन् ।

मंगलबार मन्त्रालयको वार्षिक प्रगति विवरण सार्वजनिक गर्ने क्रममा मन्त्री भट्टराईले कोरोनाको जोखिम बढ्दै गएकाले तत्काल आन्तरिक हवाई उडान सञ्चालन हुने अवस्था नरहेको बताए ।

यसअघि भदौ १ गतेदेखि आन्तरिक उडान सूचारु गर्ने सरकारले निर्णय गरे पनि त्यसलाई संशोधन गरी भदौ ३१ गतेसम्म बन्द रहने निर्णय गरेको थियो । तर यतिबेला असोज १ गतेदेखि पनि हवाई उडान हुने सम्भावना पनि कम देखिएको छ ।

मन्त्री भट्टराइले तत्कालका लागि हिमाली र पहाडी जिल्लामा हवाई उडान सूचारु गर्न सकिने पनि बताए ।

‘चाडपर्व पनि नजिक आइरहेको छ, यस्तो अवस्थामा यात्रा गर्ने मानिसहरु धेरै हुन्छन्, तत्कालका लागि पहाडी र हिमाली जिल्लामा हवाई उडान शुरु गर्ने विषयमा छलफल गरिरहेका छौं,’ उनले भने ।

यता वायुसेवा सञ्चालकहरु भने सरकारले तत्काल हवाई उडान सूचारु गर्नुपर्ने माग राख्दै आएका छन् । उनीहरुले कुनै पनि हालतमा उडान सूचारु हुनु पर्ने माग राख्दै उडान सूचारु नभए आन्दोलन समेत गर्ने चेतावनी दिइसकेका छन् ।

लामो समयदेखि उडान नहुँदा वायुसेवा कम्पनीहरुले करोडौं रुपैयाँको भार प्रत्येक महिना बेहोर्दै आएका छन् ।

बुद्ध एयरका प्रबन्ध निर्देशक बीरेन्द्रबहादुर बस्नेतले आन्तरिक उडान सूचारु गर्नुको विकल्प नभएको स्पष्ट पारिसकेका छन् । अहिले उपत्यकामा आउने र जाने मानिसहरुले महंगो भाडा बुझाएर जोखिम मोल्दै यात्रा गर्नु परेको अवस्थामा हवाई उडान सबैभन्दा राम्रो विकल्प भएको बताइसकेका छन् ।

हवाई उडान हुँदा सुरक्षाका सम्पूर्ण मापदण्ड पूरा हुने र कन्ट्याक्ट ट्रेसिङ गर्न सजिलो हुने गरी सबै विवरण राखिने भएकाले यात्राका लागि सुरक्षित र भरपर्दो विकल्प हवाई उडान भएको उनको भनाइ छ ।

सरकारले अन्तर्राष्ट्रियतर्फ भने भदौ १६ गतेदेखि दैनिक ५ सय जना यात्रुलाई ल्याउने गरी सीमित उडान गर्ने निर्णय गरिसकेको छ । पीसीआर टेस्ट सहज भएका मुलुकहरुबाट यात्रु ल्याउने निर्णय गरेसँगै अब त्यस्ता मुलुकबाट नेपाल आउन चाहनेहरु आउन पाउनेछन् ।

मन्त्री भट्टराईले शुरुमा सीमित उडानबाट दैनिक ५ सय जना यात्रुलाई सेवा दिने र त्यसबाट सकारात्मक परिणाम आएको अवस्थामा उडान संख्या बढाउने जानकारी दिए । उनले पीसीआर नेगेटिभ आएका यात्रुहरुको हकमा होटल क्वारेन्टिनमा समेत बस्नु नपर्ने बताइसकेका छन् ।


क्लिकमान्डु