आन्तरिक हवाई भाडामा डलर फेयर हटाउने सरकारको तयारी



काठमाडौं । सरकारले आन्तरिक हवाई उडानमा लागू भएको डलर भाडा हटाउने तयारी गरेको छ । हवाई भाडा पुनरावलोकन समितिले डलर फेयर हटाउन सिफारिस गरेको हो ।

मंगलबार पर्यटन मन्त्रालयको वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्दै पर्यटनमन्त्री योगेश भट्टराईले डलर फेयर हटाउने बताए ।

सरकारले आन्तरिक हवाई उडानमा डलर फेयर हटाउने निर्णय गरेसँगै वायुसेवा सञ्चालकहरु भने रुष्ट बनेका छन् । मन्त्री भट्टराईले समितिको सिफारिस र वायुसेवा कम्पनी सञ्चालकहरुसँग छलफल गरी निर्णय लिइने जानकारी दिए ।

डलर फेयर हटेको अवस्थामा नेपालीहरुलाई आन्तरिक उडानमा भाडा महंगो पर्न जान्छ । अहिले विदेशी नागरिकहरुले डलर फेयरमा टिकट काट्नुपर्छ । उनीहरुले बढी पैसा तिरेका आधारमा नेपाली नागरिकले सस्तो दरमा टिकट पाउँछन् ।

तर डलर फेयर हटेको खण्डमा नेपालीहरुले अहिले पाउँदै आएको सुविधा खोसिने भएकाले वायुसेवा सञ्चालक कम्पनीहरु रुष्ट बनेका हुन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक नरेन्द्र थापाको संयोजकत्वमा गठन भएको हवाई भाडा पुनरवालोकन समितिले ५ वटा क्षेत्र बाहेकमा डलर भाडा हटाउन सरकारलाई सिफारिस गरिसकेको छ ।

उक्त समितिले लुक्ला, भरतपुर, जोमसोम, पोखरा र तुम्लिङटार विमानस्थलमा डलर फेयर लिन पाइने र अन्य क्षेत्रमा नपाइने सिफारिस गरेको हो ।


क्लिकमान्डु