अनलाइनमा जागिर खोज्ने बढे, भ्याकेन्सी ८० प्रतिशतले घट्यो



काठमाडौं । सिन्धुलीका नेत्र सुनाम लकडाउन हुनुभन्दा अगाडि राजधानीको एउटा कलेजको गाडी चलाउँथे । विश्वव्यापीरुपमा कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गते लकडाउन गरेसँगै उनी बेरोजगार भएका छन् ।

लामो समय बन्दाबन्दीपछि हाल केही खुकुलो बनाएता पनि स्कुल, कलेज खुल्ने छाँटकाँट नदेखेपछि उनी अहिले जागिर खोज्न थालेका छन् । कोरोनका कारण कम्पनीमा जाने स्थिति नरहेपछि उनले अनलाइन प्लेटफर्म मार्फत ‘मेरो रोजगारी डटकम’मा स्टोर किपरको लागि आवेदन दिए ।

‘कोरोनाका कारण बाहिर जागिर खोज्न जाने कुरा भएन,’ उनले क्लिकमान्डूसँग भने, ‘अब जस्तो सुकै काम भएपनि गर्छु भनेर रोजगारी डटकममा आवेदन दिएको छु ।’

यस्तै, लकडाउनअघि सिनेमा हलमा कार्यरत विपिन कोइरालाको समस्या पनि उस्तै रहेको छ । सरकारले तत्कालका लागि भिडभाड हुने स्थानमा पूर्णरुपमा लकडाउन गरेसँगै अब के गर्ने भन्नेमा अन्योलमा छन् उनी । भाइ, बहिनीसँगै भाडामा बस्ने उनी बेरोजगारपछि आर्थिक संकटका कारण चिन्ता बढ्न थालेको बताए । उनले पनि नयाँ जागिरको खोजीमा ‘मेरो जब डटकम’मा आवेदन दिए । तर, जागिर पाउँछ की पाउँदैन् भन्नेमा उनी विश्वस्त छैन ।

नेत्र र विपिनले मात्र होइन, कोभिड–१९ को महामारी फैलिएसँगै देश तथा विदशेमा हजारौं नेपाली बेरोजगार भएका छन् । साथै, कोरोनाका कारण धेरै उद्योग, व्यवसाय तथा व्यापार बन्द भएका छन् । कतिपय रोजगारदाताले कोरोनाको बहाना बनाउँदै कामदार निकालेका छन् ।

पाँच महिनाको बन्दाबन्दीपछि सरकारले गत साउन ६ गतेबाट लकडाउन खुकुलो ग¥यो । तर, होटल, रेष्टुराँ, उद्योग, पर्यटन क्षेत्र र अन्य व्यावसाय अझै खुल्न सकेको छैन् ।

यस्तै लकडाउनपछि सरकारले खुकुलो बनाएसँगै नेत्र र विपिनले जस्तै धेरै बेरोजगार मानिसले डिजिटल प्लेटफर्म अर्थात् अनलाइन प्लेटफर्ममार्फत जागिर खोजी गर्ने बढेका छन् ।

पछिल्लो समय डिजिटलको प्रयोगकर्ता बढेसँगै जागिर गुमाएकाले अहिले अनलाइन प्लेटमार्फत आवेदन दिएर जागिर पाउने व्यवस्था बनेको छ । जसमा अनलाइन प्लेटफर्ममा वेवसाइट, फेसबुक पेज, इन्स्टाग्राम तथा मोबाइल एपबाट जागिर खोज्न पाइन्छ ।

रोजगारी गुमाएका मानिसले अनलाइन मार्फत विभिन्न वेवसाइटमार्फत् आफूलाई पायक पर्ने जागिरको लागि आवदेन दिन सक्नेछन् । यस्तै, नेपालमा मेरो जब, रोजगारी डटकम, ग्लोवल जव डटकम, जव्स नेपाल, एचआर नेपाल, कुमारी जवलगायत अन्य कम्पनीले रोजगारदाता र जब खोज्ने मानिसबीच कुराकानी गरेर जागिर दिलाउने काम गर्दै आएको छ ।

नेपालको अनलाइन जबका पायनर बन्न सफल भएको ‘मेरो जब’ र ‘रोजगारी डटकम’मार्फत लकडाउन खुकुलो भएसँगै जागिर खोज्ने बढेको कम्पनीको संस्थापक शैलेन्द्र गिरी बताउँछन् ।

‘लकडाउनलगत्तै सबै मानिसको क्रियाकलाप घट्यो । दुई महिनासम्म ५ प्रतिशतले मात्रै काम भयो,’ गिरीले भने, ‘लकडाउन खोल्ने भन्ने वित्तिकै पहिलेको सामान्य अवस्थाभन्दा ४० प्रतिशत क्षमताले बढेको छ ।’

तर, बजारमा व्यापार व्यावसाय बन्द भएसँगै रोजगारदाता कम्पनीको भ्याकेन्सीमा कमी आएको उनले बताए । लकडाउनले व्यापार व्यावसाय बन्द भइसँगै रोजगारदाताबाट भ्याकेन्सी कम आउनु स्वाभाविक रहेको उनी बताउँछन् । उनका अनुसार बजारमा भ्याकेन्सी कम आउँदा आवदेन दिने मानिस बढेको उनले जनाए ।

हाल लकडाउन खुकुलो गरेसँगै म्यानेजर, एकाउन्टेन्ट, ड्राइभर, मजदुरजस्ता जागिरको खोजीमा मानिसले आवदेन दिन थालेका छन् । मेरो जवबाट म्यानेजर, एकाउन्टेन्ट, मार्केटिङ तथा अफिसमा बसेर काम गर्ने मानिसको लागि भ्याकेन्सी खुलाएको हुन्छ । त्यस्तै, रोजगारी डटकममा भने ड्राइभर, मजदुर, निर्माण हेल्पर, पियन, निर्माण कामदार पदको लागि आवदेन दिन सक्छन् ।

२००९ मा स्थापना भएको अनलाइन प्लेटफर्म ‘मेरो जव’ ले हालसम्म एक लाखभन्दा बढीले रोजगारी पाएको उनको दाबी छ । त्यस्तै, २०१२ मा स्थापना भएको ‘रोजगारी डटकम’ मार्फत २० हजारभन्दा बढीले रोजगारी पाएको उनको भनाइ छ ।

एचआर नेपालले पनि विगत लामो समयदेखि अनलाइन प्लेटफर्म मार्फत रोजगारदातालाई कर्मचारी र आम मानिसलाई जागिर खोज्ने काम गरिरहेका छन् ।

यस्तै, लकडाउनको समयमा भ्याकेन्सी कम आएकाले आवेदन दिने मानिस भने बढेको एचआर नेपालका संस्थापक देव गिरीले बताए । लकडाउनको समयमा धेरै बेरोजगार भएका कारण पनि आवदेकको संख्यामा वृद्धि भएको उनो बुझाइ छ ।

‘लकडाउनले गर्दा धेरै व्यावसाय बन्द भएसँगै कर्मचारी कटौती गर्न थालेको अवस्था छ,’ उनले भने, ‘यो अवस्थामा पुरानोलाई हटाएर नयाँ राख्ने कुरा हुँदैन्, जसले गर्दा बजारमा भ्याकेन्सी निकै कम आउन थालेको हो ।’

उनका अनुसार विगतको तुलनामा रोजगारदाताबाट भ्याकेन्सी कम आउन थालेको बताए । हाल १० प्रतिशत पनि बजारमा भ्याकेन्सी आउन नसकेको उनको भनाइ छ ।

यस संस्थाले १२ भन्दा माथि पढेका मानिसहरूको लागि जागिर भ्याकेन्सी गर्ने गर्दछ । जसमा अफिसियल स्टाफहरू, म्यानेजर, स्कुल, कलेज, कन्सलटेन्सी, म्यानपावर, सेल्सम्यान, एकाउन्टेन्टजस्ता मानिसलाई भ्याकेन्सी खुलाएको हुन्छ ।

विगतको दिनमा अफिसमा नै ५०/६० जना बुझ्न आउँथे भने अहिले फोनबाट वा भर्चुअल माध्यमबाट जागिर खोज्ने बढेका छन् । हाल कोरोनाले गर्दा मानिसहरू बाहिर त्यति धेरै हिँडडुन गर्न नसक्ने भएकाले कर्मचारी आवश्यक भएका रोजगारदाताले भर्चुअलमार्फत नै अन्तरवार्ता गर्न शुरु गरेको उनले जानकारी दिए ।

त्यसैगरी, ग्लोवल जव्स नेपालका ग्राहक सेवा प्रमुख पुष्पा न्यौपानेका अनुसार लकडाउनले गर्दा जब मार्केट डाउन भएकोे बताइन् ।

‘यो अवस्थामा कोही कम्पनीले पनि नयाँ कर्मचारी राख्न सक्दैनन्,’ उनले भनिन्, ‘कुनै पनि रोजगारदाता कम्पनीले अर्जेन्ट अवस्थामा मात्रै कर्मचारी राख्न खोजेका छन् ।’

उनका अनुसार लकडाउन खुकुलोसँगै जब खोज्ने संख्यामा वृद्धि भएता पनि रोजगारदाताको भ्याकेन्सी कम आएकाले भनेको जस्तो आवदेक आउन नसकेको बताइन् । उनका अनुसार भ्याकेन्सीमा लकडाउन पछि २० प्रतिशतले घटेको जानकारी दिइन् । साथै, लकडाउनको अवधिमा नै पनि कतिपयले भर्चुअलमार्फत अन्तवार्ता लिएर वर्क फ्रम होम गरिरहेको उनले बताइन् ।

विगतको दिनमा २० देखि २५ जनालाई रोजगारी दिँदै आएको कोरोनाको कारण ५ देखि १० जना मानिस पनि प्लेसमेन्ट गर्न मुश्किल रहेको अनलाइनका संस्थापकहरूले जनाएका छन् । साथै, ८० प्रशिततले रोजगारदाताको भ्याकेन्सीमा कमी आएको जनाएको छ ।

लकडाउनका कारण अधिकांश कम्पनीले कटौती गरेको अवस्थाले पनि भ्याकेन्सीमा कमी आएको सबै अनलाइन संस्थापकको भनाइ छ । जसले गर्दा आवेदकको संख्यामा वृद्धि आएको जनाएको छ ।

यसरी आवेदन दिन सकिन्छ
अनलाइनमार्फत जागिर खोज्न सजिलो तरिका छ । नेपालमा रोजगारमार्फत जोडिन सहयोग गर्ने धेरै अनलाइन कम्पनीहरू छन् ।

अनलाइन प्लेटफर्ममार्फत कुन रोजगारदातालाई कुन तहको जागिर हो भनेर स्पष्ट रुपमा अनलाइन कम्पनीले भ्याकेन्सी खुलाउँछ । खुलाइएपछि आफुलाई पायक पर्ने जागिरको लागि आवदेन दिन सक्नेछन् ।

आवेदकले कुन तहको लागि जागिर खोजेको हो, त्यही अनुसार आवेदनको लागि आफ्नो कागजात पेश गर्नुपर्ने हुन्छ । त्यसका लागि भ्याकेन्सी खुलाएको कम्पनीले सबै प्रकारमा कागजात पेश गरेर कम्पनीसँग जोडिदिने व्यवस्था गर्दै आएको छ । साथै, हाल लकडाउनले गर्दा अफिस गएर अन्तवार्ता दिन नसक्ने अवस्थामा फोन वा अनलाइनमार्फत अन्तवार्ता दिनेछन् ।


क्लिकमान्डु