काठमाडौं उपत्यकामा घर किन्दै हुनुहुन्छ ? यी स्थानमा पाइन्छन् करोड मुनीका घर



काठमाडौं । तपाईं ऋणपान गरेर १ करोड रुपैयाँ जुटाएर काठमाडौं उपत्यकामा घर किन्ने सोचमा हुनुहुन्छ भने तपाईंका लागि खुसीको खबर छ । काठमाडौं उपत्यकाभित्रै १ करोड रुपैयाँभन्दा कम मूल्यमा घर पाउन थालेको छ ।

पछिल्ला दिनमा कोरोनोको प्रभाव बढ्दै गएपछि कम मूल्यमा घर पाइन थालेको हो ।

पछिल्ला दिनमा मानिसका आवश्यकता र चाहना परिपूर्ति गर्ने ध्येयका साथ उपत्यकामा छिर्न चाहनेहरुको संख्या पनि बढीरहेको छ । यस्तै, देशविदेशमा गएर आर्थिक उपार्जन गरेकाले पनि घर बनाउने वा किन्ने इच्छा राख्दै आएका छन् ।

शिक्षा, स्वास्थ्य र बजारलगायत अन्य सेवा सुविधा सम्पन्न भएको स्थानमा सबैको बस्ने चाहना हुन्छ । त्यस्ता चाहना राख्नेका लागि काठमाडौं उपत्यका सहज नै छ ।

केही पैसा आफ्नो लगानी गरौ र केही पैसा ऋण लिएर पनि घर किनौं भन्नेहरुका लागि सरल मूल्यमा घर पाइन्छन् ।  उपत्यकामा बसोबास बढ्दै गएपछि सरल मूल्यमा घर पाउने कुरा आफैंमा असम्भव जस्तै छ ।

जग्गाको मूल्य पनि दिन प्रतिदिन बढीरहेको अवस्थामा पायक पर्ने ठाउँमा घर किन्न खोज्नु सामान्य मानिसका लागि सहज भने छैन । तर, जति नै महंगो भएता पनि मानिसले किन्न भने छोडेका छैनन् ।

पछिल्ला दिनमा केही पैसा भएका मानिसले जग्गामा राम्रो फाइदा देखेका कारण लगानी गर्न थालेका छन् । जसले गर्दा उपत्यकामा जग्गाको मूल्य छोइनसक्नुु अवस्थामा पुगेको छ ।

यदि तपाईंलाई जग्गा किनेर घर बनाउन झन्झट लागेमा सिधै घर पनि किन्न सकिने अवस्था छ । जग्गाको मूल्य नै महंगो भएको बेलामा तपाईले करोडभन्दा कम मूल्यमा घर किन्न सक्नुहुनेछ । त्यस्ता केही स्थान र केही घरका बारेमा हामीले जानकारी दिने प्रयास गरेका छौ ।

लकडाउनका कारण बैंकको ब्याज तिर्न नसकेर धेरै मानिसले घर बेच्न थालेको बताइन्छ । करोडभन्दा कम मूल्यमा घर किन्न चाहनेको लागि उपत्यकाभित्र नै एक तलाको घर पाउने अवस्था बनेको छ । उपत्यका भित्र भक्तपुर, ललितपुरलगायत क्षेत्र तथा चक्रपथ बाहिर सस्तो मूल्यमा घर पाइन्छ ।

हरिसिद्धि, ललितपुर

पछिल्लो समय ललितपुरको मुख्य बजार तथा चोकतिर भने सस्तो मूल्यमा घर पाउन निकै कठिन छ । तर, ललितपुरको हरिसिद्धि चोकमा ८० लाख बराबरको घर पाइन्छ ।

कूल ३ आना जग्गामा बनेको यो घर एक तल्लाको रहेको छ । साढे २ तल्लाको नक्सा पास भएको यस घरमा ३ कोठा र एक किचेनसहित ४ वटा कोठा रहेको छ । साथै, पार्किङको सुविधा पनि छ ।

थली, काठमाडाैं

यस्तै, स्वास्थ्य, शिक्षा तथा अन्य सेवासुविधाले सम्पन्न मानिएको थलीमा बस्ने मानिसको संख्या पनि बढ्दै गएको छ ।

यातायातको सुविधा भएको थलीमा जग्गाको मूल्य निकै महंगो छ । त्यस्तै, थलीमा बस्न चाहनेले ८६ लाख रुपैयाँमा एक तलाको घर किन्न सक्छन् । थली चोकबाट २ सय मिटर आसपासमा पर्ने उक्त घर एक तलाको छ । सो घरमा ६ वटासम्म बाइक पार्किङ गर्न सकिन्छ ।

त्यस स्थानमा जग्गाको मूल्य औसत भन्दा महंगो रहेको बताइन्छ । अहिलेको समयमा घर ८६ लाख रुपैयाँमा पाउनु भनेको असाध्यै सस्तो भएको घरजग्गा खरिद बिक्री केन्द्रका सञ्चालक सुरज खड्काले जानकारी दिए ।

माकलवारी, जोरपाटी

सामान्यतया माकलवारी जोरपाटीमा जग्गाको मूल्य नै प्रति आना १५ लाख रुपैयाँ माथि पर्दछ । यदि तपाईसँग थोरै बजेट छ । तर, घर किन्ने सोच बनाउनुभएको छ भने माकलवारी जोरपाटीमा ९९ लाखको एउटा घर विक्रिमा रहेको छ । उक्त घर कालोपत्रे सडकबाट ८० मिटरमात्रै टाढा छ । जोरपाटीबाट भने १ किलोमिटर टाढा रहेको छ ।

साथै, यदि तपाईसँग जग्गा छ भने पनि सो घरसँग सट्टापट्टा गर्न सकिने छ । २ आनामा बनेको यो घरमा साढे २ तल्लाको छ । यस घरमा ६ वटा कोठा, २ वटा बाथरुम, एउटा किचेन र बाइक पार्किङ गर्न सक्ने सुविधा छ । सो घर बनेको ८ वर्ष भइसकेको घर जग्गा खरिद बिक्री केन्द्रले जानकारी दिएको छ ।

सितापाइला, नागार्जुन

सितापाइला क्षेत्रमा पछिल्ला दिनमा क्रमशः बस्ती विस्तार भइरहेको छ । सितापाइला नागार्जुन नगरपालिका–६ मा ९७ लाख रुपैयाँमा एउटा घर बिक्रीमा छ । उक्त घर ३ आना २ दाममा बनेको छ । यो घर २०७२ सालमा ९/१२ को पिलर सिस्टमले बनेको हो ।

पदम कोलानी नजिकै रहेको यो घर १३ फिटको पक्की बाटोसँग जोडिएको छ । सो घरमा २ वटा सुत्ने कोठा, एउटा किचेन र बाथरुमसहितको सुविधा रहेको  घर जग्गा नेपालले जानकारी दिएको छ ।

कोटेश्वर, नरेफाँट

कोटेश्वरमा जग्गाको मूल्य नै प्रतिआना २० लाख रुपैयाँभन्दा माथि रहेको छ । कोटेश्वर नरेफाँटमा ३ आनामा बनेको ३ तल्ले घरमा ११ वटा कोठा रहेको छ । यसको मूल्य १ करोड रुपैयाँ रहेको घर जग्गा खरिद बिक्री केन्द्रका ब्रोकर मिलन लामाले जानकारी दिए ।

थानकोट, काठमाडौं

काठमाडौंबाट १४ किलोमिटर टाढा रहेको थानकोटमा पछिल्लो समयमा मानिसको बसोबास बाक्लिदै गएको छ । साथै, घरजग्गाको मुल्य पनि क्रमशः बढ्दै गएको छ ।

यस्तै यदि तपाई सिधै घर किन्न चाहनुहुन्छ भने हालै बनेको घर ९० लाख रुपैयाँमा किन्न सकिन्छ । थानकोटको मातातीर्थ नजिकै रहेको यो घर एक तलामा ३ वटा कोठा र माथि किचेन छ । यो घर २ आना २ दाममा बनेको हो । कूल १४ फिटको बाटो रहेको सो घर १२/१२ को पिलर बनेको घर जग्गा खरिद बिक्री केन्द्रले जानकारी दिएको छ ।

दधिकोट गाम्चा, भक्तपुर

पछिल्लो समय भक्तपुर दधिकोटतिर जग्गा किन्ने मानिसको संख्या बढ्दै गएको छ । सोही क्रममा दधिकोट गाम्छामा १ करोड ५ लाख रुपैयाँमा एक तले घर बिक्रीमा छ । ४ आना क्षेत्रफलमा बनेको यो घर एक तले हो । सो घरमा पुग्ने १३ फिट बाटा रहेको छ । घरमा ३ वटा कोठा सहित गाडी तथा मोटरसाइकल पार्किङ गर्ने सुविधा रहेको घरजग्गा खरिद बिक्री केन्द्रका सञ्चालक सुरज खड्काले जानकारी दिए ।

काँडाघारी, काठमाडाैं

यसैगरी काँडाघारी विष्टगाउँमा एक तलामा बनेको घरको मूल्य १ करोड १२ लाख रहेको छ । २० फिटको बाटो रहेको उक्त घर ३ आनामा बनेको हो । सनसिटीबाट झण्डै ९ सय मिटर टाढा रहेको यस घरमा ४ वटा कोठा रहेको खरिद बिक्री केन्द्रले जानकारी दिएको छ ।

यसो भन्छन् व्यवसायी

घर जग्गा बिक्री केन्द्रका प्रमुख असर मिया उपत्यकामा पनि करोड रुपैयाँभन्दा कम मूल्य घर पाइने बताउँछन् । उनले थोरै जग्गामा बनेको, सामान्यता मुख्य बस्ती र सडकभित्र भित्रका घर पाइने बताए । उनी भन्छन् ‘२ आनासम्ममा बनेका घर पाइन्छन् ।’

चक्रपथ बाहिर थानकोट, थली, भक्तपुरको सूर्यविनायक, ललितपुरको लेले जस्ता स्थानमा करोड मुनीका एक तले घर पाइने उल्लेख गर्दै ती स्थानका पाइने अधिकांश घर ३ आनामा बनेका हुन्छन् ।

उनका अनुसार काठमाडौंमा जग्गाको मूल्य नै बढी भएकाले करोड भन्दा कम मूल्यमा राम्रा घर पाउन भने मुस्किल नै छ ।


पुष्प दुलाल