लगानीकर्ताले ब्रोकरमा राखेको अग्रिम धरौटीमा प्रतिफल पाउने



काठमाडौं । दोस्रो बजारमा सेयर कारोबार गर्ने लागनीकर्ताहरुले धितोपत्र दलाल व्यवसायी (ब्रोकर) लाई अग्रिम धरौटी (एडभान्स डिपोजिट) बापत बुझाएको रकममा अब प्रतिफल पाउने भएका छन् ।

नेपाल धितोपत्र बोर्डले धितोपत्र कारोबर सञ्चालन विनियमावली-२०७५ मा संशोधन गर्दै धरौटीमा प्रतिफल दिनुपर्ने व्यवस्था गरेको हो ।

हाल लगानीकर्ताहरुले अनलाइन वा अफलाइनबाट सेयर कारोबार गर्दा ब्रोकर कम्पनीमा २५ प्रतिशत रकम अग्रिम धरौटी राख्नुपर्ने व्यवस्था रहेको छ ।

उक्त रकम ब्रोकर कार्यालयमा राख्दा लगानीकर्ताले उक्त रकमको प्रतिफल नपाएको गुनासो बढेपछि बोर्डले यस्तो व्यवस्था गरेको हो ।

लगानीकर्ताले धितोपत्र दलाल व्यवसायीलाई बुझाउने धरौटी रकममा सृजित हुने दायित्व तथा प्रतिफलका लागि लगानीकर्ता र धितोपत्र दलाल व्यवसायीबीच हुने सम्झौतामा उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ ।

यो व्यवस्थाले धितोपत्र कारोबारका लागि लगानीकर्ताले राखेको धरौटी रकममा प्रतिफल प्राप्त हुने नहुने सन्दर्भमा कायम रहेको अन्यौलता अन्त्य हुने बोर्डले विश्वास लिएको जनाएको छ ।


पुष्प दुलाल