उपाय सिटी कार्गोले ल्यायो नयाँ एप, यस्ता छन् सुविधा




काठमाडौं । विज्ञान तथा प्रविधिको क्षेत्रमा भएको पछिल्लो विकासलाई अनुसरण गर्ने क्रम हरेक क्षेत्रमा बढ्दै गएको छ ।

मोबाइल एप मार्फत आम जनसमुदायलाई कम्पनी र उसले दिने सेवाका बारेमा सहज रुपमा जानकारी दिने प्रचलन बढीरहेको छ ।

सोही क्रममा उपाय सिटी कार्गोले आफ्नो नयाँ एप सार्वजनिक गरेको छ । नयाँ एपले कम्पनीका संस्थापक, बोर्डका सदस्य, लगानीकर्ता र कर्मचारीलाई नयाँ एपले अनलाइन ढुवानी व्यवस्थापन गर्न थप मद्धत गर्ने विश्वास व्यक्त गरे ।

कम्पनीका अध्यक्ष सुमन रायमाझीले कम्पनीको भिजन, मिसन र मूल मान्यताका बारेमा प्रष्ट पार्दै विज्ञान तथा प्रविधिले ल्याएको पछिल्ला संयन्त्रको उपयोग गरिएको बताए ।

कम्पनीका चिफ अप्रेटिङ अफिसर आमिगो खड्काले कम्पनीको विगत र वर्तमानको तुलना गर्दै, गत आवमा गरेको प्रगति र आउने दिनमा यसले कसरी काम गर्छ भन्ने कार्ययोजना प्रस्तुत गरे ।

आगामी आवमा कम्पनीले आफ्नो सेवा काठमाडौं बाहिर पनि विस्तार गर्ने योजना रहेको बताए । उनका अनुसार उपत्यका बाहिरका १० ठूला सहरमा सेवा विस्तार गरिनेछ ।

नेपालीको इ कमर्स तथा कृषि व्यवसायमा पनि सप्लाइ–चेन’ लजिस्टिकको निकै समस्या रहेकाले उपाय सिटी कार्गोलाई व्यवसायीको विश्वासिलो लजिस्टिक साझेदार बनाउदै देशको आर्थिक रुपान्तरणमा अहम् भूमिका खेल्न चाहेको उनले बताए ।

उपाय सिटी कार्गो एपको विशेषताका बारेमा कम्पनीका प्रोडक्ट एण्ड डेभलपमेन्ट प्रमुख करण बस्नेतले सेवाग्राही एपमा ट्रयाकिङ र अटोमेटिक भ्याट बिलको को सुविधा रहेको र त्यस्को साथै चालकले पनि एपमा नै अटोमेटिक ट्रिप नोटिफिेकसन र आफ्नो आम्दानी पाउने हुँदा सेवाग्राही र चालक दुवैले एप मार्फत नै सजिलै काम गर्न सकिने बताए ।

सरकारले अगाडि सारेको ‘डिजिटल नेपाल’ को सपना पूरा गर्न उपाय सिटी कार्गोले लजिस्टिकको क्षेत्रमा आधार स्तम्भ तयार पार्ने विश्वास लिइएको छ ।  उपाय सिटी कार्गोमा हालसम्म ३ हजार ५०० भन्दा बढी ग्राहक र ५०० भन्दा बढी चालक सहयोगी समेत आवद्ध भइसकेका छन् ।


पुष्प दुलाल