म्यानपावर व्यवसाय संकटमा, कार्यरत एक लाख कर्मचारी भए बेरोजगार



काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोनाले गर्दा वैदेशिक रोजगारीमा कामदार पठाउने म्यानपावर व्यावसाय निकै प्रभावित भएको छ ।

नेपालीहरूको प्रमुख गन्तव्य बनेको खाडी मुलुकलगायत यूरोपको देशमा कोरोना फैलिएसँगै म्यानपावर व्यवसायीमा असर पर्न थालेको थियो । त्यसैबेला नेपालले पनि चैत ११ गते लकडाउन गर्यो । लकडाउन गरेसँगै अधिकांश म्यानपावर बन्द भए । म्यानपावर व्यावसाय बन्द भएसँगै म्यानपावरमा आबद्ध एक लाख मानिस बेरोजगार भएको संघले जनाएको छ । साथै, बन्दका कारण वैदेशिक रोजगारीमा जान तयार रहेका हजारौं नेपाली जान पाएनन् । जसले गर्दा धेरै मानिस बेरोजगार भएका छन् ।

आर्थिक वर्ष २०७५/७६ मा नेपालको कुल गार्हस्थ उत्पादनमा रेमिट्यान्सको हिस्सा २५.४ प्रतिशत छ । लकडाउनका कारण वैदेशिक रोजगारीमा मानिसहरु जान पाएका छैनन् । जसले गर्दा आगामी दिनमा रेमिट्यान्स घट्ने निश्चित छ ।

राष्ट्र बैंकको तथ्यांक अनुसार आव २०७५/७६ मा कुल ८ खर्ब ७९ अर्ब ३ करोड रुपैयाँ रेमिट्यान्स आएको छ । र, एक अध्ययन अनुसार ३ प्रतिशत रेमिट्यान्स घट्ने देखिएको छ ।

सरकारले लकडाउन खुकुलो बनाएता पनि म्यानपावर व्यावसाय भने सञ्चालनमा आउन सकेको छैन् । कतिपय म्यानपावर पलायन हुने अवस्थामा छन् भने कतिपय म्यानपावरले अफिसको भाडासमेत तिर्न नसकेर छाड्नुपर्ने स्थिति सिर्जना भएको छ । जसको असर त्यहाँ कार्यरत कर्मचारीमा पनि परेको छ ।

म्यानपावर कम्पनीमा आबद्ध रहेका सम्पूर्ण कर्मचारी कोरोनाका कारण विदामा रहेको म्यानपावर व्यावसायीहरूले बताएका छन् ।

पछिल्लो समय कोरोनाले मात्र होइन, एक आर्थिक वर्षमा एक सय जना कामदार पठाउन नसके पुनः खारेजीमा पर्न सक्ने प्रावधानले पनि निकै चिन्ता बढाएको थियो । सरकारले कोरोनाका कारण चालु आर्थिक वर्षमा एक सय जना कामदार पठाउने विषयमा छलफल गरी हालको लागि त्यो प्रावधान हटाइसकेको छ ।

आर्थिक वर्ष २०७८/७९ मा नवीकरणका लागि पछिल्ला दुई आर्थिक वर्षमा प्रतिवर्ष १ सय कामदार पठाएको हुनुपर्ने व्यवस्था गरिएको छ । यस विषयमा भने एक आर्थिक वर्षमा सय कामदार पठाउने प्रावधान खारेज गर्नुपर्ने व्यावसायीले माग गरेका छन् ।

म्यानपावर व्यावसाय संकट अवस्थामा छ- अध्यक्ष गैरे
कोरोनाले गर्दा अधिकांश म्यानपावर व्यावसाय संकट अवस्थाबाट गुज्रिरहेको वैदेशिक रोजगार व्यावसायी संघका अध्यक्ष विष्णु गैरेले बताए । उनका अनुसार सबै व्यावसाय सञ्चालनमा आउँदा म्यानपावर व्यावसायी सञ्चालन हुन नसक्दा निकै कठिन भएको उनले बताए ।

अहिले व्यावसाय नभएता पनि अफिसको घरभाडा, कर्मचारीको मासिक तलबले गर्दा निकै मारमा परेको उनले बताए ।

‘कोरोनाले गर्दा करिब ५ महिनादेखि पूर्ण बन्द अवस्थामा छ,’ उनले क्लिकमाण्डूसँग भने, ‘सरकारले एक वर्षको निमित्त धरौटी रकम फिर्ता गरे मात्र कार्यालय सञ्चालनमा ल्याउँछौ ।’

उनका अनुसार व्यावसायीले राखेको धरौटी रकम सापटी स्वरुप सरकारले कार्यान्वयन गरेमा कार्यालय सञ्चालनमा आउने उनको उनको दाबी छ ।

उनले भने, ‘सबै म्यानपावर व्यावसायीको अवस्था नाजुक छ । सरकारले पहिला हामीलाई बचाउनुप¥यो र धरौटीको रकम फिर्ता गर्नुपर्यो ।’

साथै, एक आर्थिक वर्षमा सय कामदार पठाउनुपर्ने प्रावधान हटाउनुपर्ने व्यावसायीले माग राखेका छन् । यस विषयमा सरकार र व्यावसायीको सहमतमा एउटा मापदण्ड बनाएर अगाडि बढ्नुपर्ने उनको बुझाइ छ । साथै, नियामवलीभन्दा ऐनमा जानुपर्ने उनले बताए ।

कर्मचारीलाई विदामा राखेका छौं- व्यावसायी
कोरोनाले सबै म्यानपावर व्यावसाय बन्द भएसँगै सबै कर्मचारीलाई बिदामा राखेको व्यावसायीहरूले बताएका छन् ।

‘कोरोनाले गर्दा म्यानपावर बन्द भयो । बन्द भएसँगै म्यानपावरमा आबद्ध सबै कर्मचारी बिदामा छन् । अफिसको भाडा तिर्न सकेको छैन्,’ म्यानपावर व्यावसायी होम तिमल्सिनाले भने ।

उनका अनुसार म्यानपावरमा आवद्ध भएका कर्मचारी लकडाउनसँगै गाउँमा गएकाले हालसम्म कुनै मासिक तलब दिइएको छैन ।

सरकारले कोरोनाको बेलामा पनि म्यानपावर व्यवसायी प्रति कुनै चासो नदेखाएको उनको आरोप छ । हालसम्मको स्थिति सामान्य रहे पनि बाँकीको दिनमा के गर्ने भन्ने विषयले बढी पिरोलेको उनले बताए ।

‘कोरोनाका कारण ठप्प व्यावसाय छिट्टै सञ्चालनमा आउँछ सोचेको थिए, तर लम्बिँदै गएको हुनाले व्यावसाय बन्द गर्ने कि के गर्ने भन्ने विषयमा अन्योलमा छौं,’ उनले भने ।

यस्तै, अर्को म्यानपावर व्यावसायी रघु पुरीको भनाइ पनि उस्तै छ । अहिले म्यानपावरहरू सबै बन्द भएको अवस्थामा कसरी अगाडि बढ्ने भन्ने विषय निकै कठिन बनेको उनले बताए । उनले पनि सबै कर्मचारीलाई बिदामा राखेको जानकारी दिए ।

सरकारले वैदेशिक रोजगार म्यानपावरलाई मर्यादित बनाउने भन्दै धरौटी बृद्धि गरेता पनि अझै विभिन्न नीति नियम ल्याइ अप्ठ्यारो बनाएको उनको आरोप छ ।

‘कोरोनाले गर्दा समस्यामा परेको म्यानपावरलाई सरकारले धरौटी रकम फिर्ता गरेमा केही समयको लागि म्यानपावर सञ्चालन गर्न सजिलो हुन्थ्यो,’ उनले क्लिकमान्डूसँग भने, ‘व्यावसायीले फिर्ता हुनुपर्छ भन्ने माग राख्दा पनि सरकारले वेवास्ता गर्दा व्यावसायी मारमा परेका छन् ।’

‘सेप्टेम्बरबाट वैदेशिक रोजगार सञ्चालनमा आउँछ कि भन्ने थियो । तर कोरोना बढ्दै गएकाले सञ्चालनमा नआउने हो कि भन्ने चिन्तामा छौं,’ उनले भने ।

यी दुई म्यानपावर व्यावसायी मात्र होइन अधिकांश म्यानपावरको भनाइ उस्तै रहेको छ । अधिकांश म्यानपावरमा आबद्ध भएका कर्मचारी बिदामा छन् । साथै, कोरोनाका कारण ठप्प भएका कारण निकै चिन्तित छन् ।

करिब एक लाख कर्मचारी बेरोजगार
वैदेशिक रोजगार व्यावसायी संघका अनुसार म्यानपावरसँग प्रत्यक्ष रूपमा आबद्ध भएका करिब एक लाख मानिस बेरोजगार भएको जनाएको छ ।

जसमा मेडिकल, ओरिन्टेसन सेन्टर समग्र रुपमा सबै जोडिएका गरी एक लाख बेरोजगार रहेको वैदेशिक रोजगार व्यावसायी संघका अध्यक्ष विष्णु गैरेले जानकारी दिए । उनका अनुसार वैदेशिक रोजगार ठप्प भएसँगै आर्थिक आम्दानी गर्ने बाटो बन्द भएकाले कर्मचारीलाई तलब दिन नसकेको बताए ।

दैनिक रुपमा वैदेशिक रोजगारमा निर्भरता रहने भएकाले व्यवसायीलाई आर्थिक संकटको बेला सरकारले सहयोग गर्नुपर्ने उनी बताउँछन् । यसमा सरकारले संवेदनशिलताका साथ सहयोग गर्नुपर्ने उनको माग छ ।


क्लिकमान्डु