बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई घरबाटै काम गराउन राष्ट्र बैंकको निर्देशन




काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था कर्मचारीलाई घरबाटै काम गराउन र सिफ्टमा काम गराउन निर्देशन दिएको छ ।

कोरोनाका जोखिम र संक्रमणको मात्रामा वृद्धि भएको भन्दै केन्द्रीय बैंकले जोरबिजोर प्रणाली तथा सरकारले तोकेको स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी सेवा प्रवाह गर्न भनेको हो ।
राष्ट्र बैंकले सेवा बिजनेस कन्टिन्युटी प्लान बनाउन समेत निर्देशन दिएको छ ।

केन्द्रीय बैंकले आइतबार एक परिपत्र जारी गर्दै बैंक तथा वित्तीय संस्थालाई विशेष परिस्थितिलाई ध्यान दिएर वर्क फर्म होमको व्यवस्था मिलाउन भनेको छ ।

साथै, कार्यालयमा अत्यावश्यक कर्मचारीलाई आलोपालो प्रणालीमा कर्मचारी उपस्थि हुने व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।

त्यस्तै प्रादेशिक शाखामा न्यूनतम कर्मचारीबाट सेवा सञ्चालन गर्ने वा वैकल्पिक रुपमा संचालन गर्न सकिने शाखा पनि आलोपालो सञ्चालन गर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले आग्रह छ ।

कोरोना भाइरसको सन्त्रास बढेसँगै देशका विभिन्न स्थानमा गरिएको बन्दाबन्दी, निषेधाज्ञा, सवारी साधनको आवागमनमा जोरबिजोर प्रणाली लागू गरेपछि राष्ट्र बैंकले बैंकहरुलाई उक्त निर्देशन दिएको राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी, विद्युतीय माध्यमबाट हुने कारोबारलाई प्रोत्साहन गर्न निर्देशन दिएको छ ।

यस्तै, बैंकिङ सेवामा रहेका जनशक्ति तथा सेवाग्राहीको सुरक्षा तथा संक्रमणलाई न्यूनीकरण गर्न सुरक्षाका सबै उपाय अनिवार्य रुपमा अपनाउन निर्देशन दिएको छ ।


पुष्प दुलाल