मुद्दति निक्षेपमा भन्दा सस्तो ब्याजदरमा कर्जा दिँदै बैंकहरु
काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले निक्षेपभन्दा सस्तो ब्याजदरमा कर्जा प्रवाह गर्न थालेका छन् ।
लगानीयोग्य रकम थुप्रिएपछि बैंकहरुले मुद्दति निक्षेपको भन्दा सस्तो ब्याजमा कर्जा योजना सार्वजनिक गर्न थालेका हुन् । मुद्दति निक्षेपमा भन्दा कर्जामा सस्तो ब्याजदर निर्धारण गर्न अहिले वाणिज्य बैंकहरु बीच तीव्र प्रतिस्पर्धा नै हुन थालेको छ ।
केही बैंकले मुद्दति निक्षेपमा ८.७५ प्रतिशतसम्म ब्याज दिँदा केही वाणिज्य बैंकले भने ७.२५ प्रतिशत ब्याज तय गरी कर्जा प्रवाह गरेका हुन् । लकडाउन खुल्ला भए पनि कोरोनाको संक्रमणको जोखिम हालसम्म सामान्य हुन सकेको छैन । सोही कारण बैंकमा कर्जा लिने ग्राहकभन्दा निक्षेप जम्मा गर्ने ग्राहक नै बढी देखिएका छन् ।
नयाँ कर्जाको माग नहुँदा बैंकिङ प्रणालीमा २ सय अर्ब रुपैयाँ बढी अधिक तरलता छ । सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकले यही साउन १६ गतेसम्म ३४ खर्ब ८७ अर्ब ४९ करोड रुपैयाँ निक्षेप संकलन गर्दा २८ खर्ब ६६ अर्ब ५ करोड रुपैयाँ मात्रै कर्जा प्रवाह गरेका छन् ।
सो समयमा वाणिज्य बैंकहरुको औसत सिसिडी रेसियो ७२.०५ प्रतिशत थियो । पछिल्लो पटक मौद्रिक नीति मार्फत राष्ट्र बैंकले वाणिज्य बैंकहरुको सिसिडी ८० प्रतिशतबाट सीमा बढाएर ८५ प्रतिशत पुर्याएको छ ।
बैंकहरुले निक्षेप संकलनको तुलनामा कर्जाको माग नहुँदा नयाँ रणनीतिक कर्जा योजना सार्वजनिक गरेका हुन् । त्यसमा सवारी, घर/जग्गा तथा अन्य प्रकारका व्यवसायजन्य कर्जा योजना रहेको छ ।
ब्याजदर बजारको माग र आपुर्ति अनुसार निर्धारण हुने गर्दछ ।
तर नेपाल बैंकर्स संघले केही समय अघिसम्म संस्थागत मुद्दति ७ प्रतिशत, व्यक्तिगत ८ प्रतिशत र बचतको ५ प्रतिशतसम्म ब्याजदर निर्धारण गर्ने भद्र सहमति गरेको थियो ।
तर संघले बजारमा तरलता बढी भएको र समयानुकूल ब्याजदर निर्धारण गर्न बजारलाई नै छाडिदिने भन्दै सहमति तोडेका थिए ।
त्यसपछि बैंकहरुले आफुखुसी ब्याजदर निर्धारण गरिरहेका छन् । बैंकहरुले आफु अनुकूल ब्याजदर निर्धारण गर्दा मुद्दति निक्षेपमा भन्दा सस्तो ब्याजदरमा कर्जा दिन थालेका हुन् ।
बैंकहरुले राष्ट्र बैंकको नियमनमा रहेर निक्षेप जम्मा गर्दा ब्याजदरमा अन्तर पर्न गएको नेपाल बैंकर्स संघका निर्वतमान अध्यक्ष ज्ञानेन्द्र ढुंगानाको भनाइ छ ।
‘ राष्ट्र बैंकले कुल निक्षेपमा संस्थागत निक्षेप ५० प्रतिशतभन्दा बढी हुन नपाउने व्यवस्था गरको छ,’ ढुंगानाले क्लिकमाण्डूसँग भने, ‘कुल निक्षेपमा व्यक्तिगत निक्षेपको हिस्सा बढाउन बैंकहरुले ब्याजदर धेरै दिएका हुन् ।’
बैंकहरुमा कर्जाको तुलनामा निक्षेपको परिमाण बढी भएपनि राष्ट्र बैंकको नियम पालना गर्न बैंकहरुले व्यक्तिगत निक्षेपमा बढी ब्याज दिएर हिसाब मिलान गर्न खोजेको उनको भनाइ छ ।
बैंकहरुले सार्वजनिक गरेका पछिल्लो मुद्दति निक्षेपको ब्याजदर र सस्तो कर्जाको ब्याजदर हेर्दा बैंकहरुले जतिमा निक्षेप लिए त्यतिमा नै कर्जा प्रवाह गर्न थालेको देखिन्छ ।
गत शुक्रबार राष्ट्रिय वाणिज्य बैंकले ७.२५ प्रतिशत ब्याजदरमा घरकर्जा योजना ल्याएको छ । यसअघि नै बैैंकले मुद्दति निक्षेपमा पनि ७.२५ प्रतिशत नै ब्याजदर निर्धारण गरिसकेको थियो ।
लगानीयोग्य रकम बढी भएर बजारमा व्यवसायीक प्रतिस्पर्धा गर्न वाणिज्य बैंकहरु मध्ये सबैभन्दा सस्तो ब्याजदरमा कर्जा योजना ल्याएको बैंकका डेपुटी सीइओ कविराज अधिकारीले बताए ।
‘हाम्रो बेसरेट पनि अन्य बैंकहरुको तुलनामा सबैभन्दा थोरै छ,’ उनले क्लिकमाण्डूसँग भने, ‘अहिले ल्याएको सस्तो घर कर्जा योजनामा फाइदा भने छैन तर अरु बैंकहरुले भन्दा सस्तो दरमा घरकर्जा दिँदा बैंकको विश्वसनीयता भने बढ्छ ।’
बैंकको कुल निक्षेपमा २० प्रतिशतभन्दा बढी मुद्दतिको हिस्सा नभएको उनको भनाइ छ । सोही कारण कर्जा र निक्षेपको बीचमा रहेको ब्याजदर अन्तरले व्यवसायमा खासै असर नगर्ने उनले बताए । हाल बैंकको बेसरेट ६.०७ प्रतिशत छ ।
यसैगरी, एनआएईसी एशिया बैंकले सुपर चमत्कारिक कर्जा योजना सार्वजनिक गरिसकेको छ । त्यसमा बैंकले घर/जग्गा सवारी कर्जा ८.२५ प्रतिशत व्याजमा नै दिइरहेको छ । यसरी बैंकले ८.२५ प्रतिशतमा कर्जा लगानी गर्दा बजारबाट मुद्दति निक्षेपमा पनि ८.२५ प्रतिशतसम्म ब्याज दिएर निक्षेप संकलन गरिरहेको छ ।
यसरी राष्ट्रिय वाणिज्य बैंकले ७.२५ प्रतिशतमा कर्जा प्रवाह गर्दा सिभिल बैंकले भने ८.७५ प्रतिशतसम्म मुद्दति निक्षेपमा ब्याज दिइरहेको छ । साथै, सिभिलले दिएको निक्षेपको ब्याजदरभन्दा कम ब्याजदरमा अन्य वाणिज्य बैंकहरुले पनि कर्जा योजना सार्वजनिक गरिसकेका छन् ।
त्यसमा स्ट्याण्डर्ड चार्डर्ट ७.५९ प्रतिशत र नबिल ७.९९ प्रतिशत ब्याजदरमा सवारी, घर/जग्गा कर्जा योजना सार्वजनिक गरेका छन् ।
कोरोनाको असहज परिस्थितिमा बैंकहरुले सार्वजनिक गरेका सस्तो कर्जा योजनाले ती बैंकको विश्वसनियतामा ह्रास आउने माछापुच्छ्रे बैंकका सीइओ सन्तोष कोइरालाको भनाइ छ ।
‘नयाँ ऋणीलाई मात्र सस्तो ब्याजदर दिँदा पुराना ऋणी ती बैंकहरु प्रति रुष्ट हुन सक्छन्,’ सीइओ कोइरालाले क्लिकमाण्डूसँग भने, ‘कोरोनाले गर्दा कतिपय पुरानो ऋणीले साँवा र ब्याज भुक्तानी गर्न सकेका छैनन् तर बैंकले भने उनीहरुलाई पुरानै ब्याजदर दिएर नयाँलाई मात्र सस्तो कर्जा योजना सार्वजनिक गरिरहेका छन् ।’
यस्ता बैंकसँग पुराना ऋणीले भविष्यमा अन्य कारोबार नगर्ने सम्भावना बढी रहको उनको भनाइ छ । कोरोना कालमा ल्याइएका सस्तो कर्जा योजनाले बैकिङ क्षेत्रमा प्रतिस्पर्धात्मक व्यवसाय नभएको उनले जानकारी दिए ।
‘मानिससँग घर/जग्गा र सवारीमा लगानी गर्ने पैसा नै छैन र भएकाले पनि अहिले खरिद गर्दैनन्,’ उनले भने, ‘पहिलेको जस्तो अवस्थामा यस्ता स्किम बजारमा आउने हो भने अहिलेसम्म ऋण स्वाप हुने समस्या अत्याधिक भइसक्थ्यो र बाध्यताले सबै बैंकहरुले यस्ता स्किम ल्याउन पर्ने हुन्थ्यो ।’
बैंकहरुले सस्तो कर्जा योजना ल्याएपनि त्यसले बजारमा हालसम्म खासै असर नपारेको उनले जानकारी दिए ।