जेठको तुलनामा असार महिनामा म्युचुअल फण्डको न्याभमा सुधार, सेयरमा कति गरे लगानी ?



काठमाडौं । असार महिनामा म्युचुअल फन्डको समग्र प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) मा सुधार देखिएको छ । जेठ महिनाको तुलनामा असार महिनामा धेरै फण्डको न्याभमा सुधार देखिएको छ ।

जेठ महिनामा १० रुपैयाँभन्दा कम न्याभ भएका ४ वटा कम्पनी थिए । तर असारमा आइपुग्दा एउटा फण्ड अर्थात् एनआईबिएल प्रगति फण्डको न्याभ ९.८६ रुपैयाँ छ । जेठभन्दा असारमा न्याभमा केही सुधार देखिएको हो ।

सेयर बजारमा आएको सुधारको असर न्याभमा पनि परेको देखिएको छ । पछिल्लो समयमा समग्र सेयर बजारमा सामान्यतया सुधार देखिएको छ । जसको असर न्याभमा देएिको हो ।

तथापि फण्डहरुले अपेक्षाअनुसार सेयर बजारमा लगानी भने गरेका छैनन् । उनीहरुको बैंकमा पैसा राखेर ब्याज खाने प्र्रवृति भनेको हटेको छैन ।

जेठ महिनामा ५ अर्ब २ करोड ५२ लाख १ हजार ६१८ रुपैयाँ बैंक मौज्दातमा पैसा राखेपनि असार महिनामा यो रकम बढेर ५ अर्ब १० करोड ९० लाख ८७ हजार ७३३ रुपैयाँ पुगेको छ ।

यता सूचिकृत सेयरमा लगानी पनि जेठको तुलनामा असारमा घटेको छ । छ । जेठ महिनामा ८ अर्ब ८५ करोड ५२ लाख १४ हजार ६६१ रुपैयाँ रहेकोमा असार महिनामा यो अंकले घटेर ८ अर्ब ७९ करोड ९८ लाख ३३ हजार २८ रुपैयाँ छ ।

पछिल्लो समयमा बजारमा गिरावट आएपछि बैंक मौज्दातमा राख्ने क्रम बढेको हो । तर केही समय यता बैंक ब्याज पनि घटेपछि अब फण्डहरुले के गर्ने हुन् भन्नेमा अन्योलता देखिएको छ ।

म्युचुअल फन्डले सेयर बजारमा लगानी गर्ने र त्यसको असर बजारमा देखिने भन्दै फण्डको विकास गरेको हो ।

फण्डले बजार घटेको समयमा सेयर किन्ने र अनावश्यक बढेको समयमा सेयर बेचेर बजारलाई स्थिर बनाउने अपेक्षा थियो । तर नेपालमा भने त्यो हुन सकेको छैन ।

फण्डले आफ्नो भूमिका निर्वाह गरेका थिए भने लगानीकर्ताको लगानी सुरक्षित हुने र बजारमा लगानीकर्ताको ध्यान पनि कायम नै रहने थियो । तर बैंकबाट ब्याज खान पल्केका कारण लगानीकर्ता निराश बन्नु परेको छ । जसले गर्दा फण्डहरुले बैंक मौज्दातमा राख्ने पैसा बढाएका छन् भने सूचिकृत सेयरमा लगानी घटाएका छन् ।

जसले गर्दा फण्डले साधारण सेयर (आईपीओ) मा आरक्षण दिएको छ भने कर छुट पनि दिएको छ । फण्डहरुलाई यस्तो सहुलियत पाएपनि उद्देश्यअनुसार काम गरेका छैनन् ।

जेठको तुलनामा असारमा एनएमबि फिफ्टीको न्याभमा मात्रै गिरावट आएको छ । जेठमा १० रुपैयाँ ४२ पैसा रहेकोमा असारमा १० रुपैयाँ ९ पैसा छ । अन्य सबैको न्याभमा सुधार देखिएको छ ।

यता सूचिकृत सेयरमा नबिल ब्यालेन्स फण्ड–२ ले जेठको तुलनामा सूचिकृत सेयरमा लगानी घटाएको छ भने अन्यको बढेको छ ।

यस्तै सिटिजन्स म्यूचुअल फण्ड–१, सिटिजन्स म्यूचुअल फण्ड-२, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ को बैंक मौज्दात घटेको छ भने बाँकी सबैको बढेको छ ।


क्लिकमान्डु