अमेरिकी राष्ट्रपति ट्रम्पले लगाए टिकटक र वीच्याटमा प्रतिबन्ध



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ भिडियो एप टिकटक र वीच्याटमा प्रतिबन्ध लगाएका छन् । उनले यी दुई चिनियाँ एपमा प्रतिबन्ध लगाउने आदेशमा हस्ताक्षर समेत गरेका छन् ।

तत्कालका लागि यो प्रतिबन्ध ४५ दिनसम्म लागू हुनेछ । प्रतिबन्ध लगाउनुका पछाडि अमेरिकाको राष्ट्रिय सुरक्षाको हितमा गरिएको फैसला भएको उनले तर्क गरेका छन् ।

उक्त निर्णयसँगै अब अमेरिकामा कम्तीमा ४५ दिन चिनियाँ एप टिकटक र वीच्याट प्रतिबन्ध हुनेछन् । जसमा टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्ससँग कुनै पनि प्रकारको लेनदेनमा रोक लगाइएको छ ।

अमेरिकी कम्पनी माइक्रोसफ्टले अमेरिकामा टिकटकको कारोबार खरिद गर्न चाहेको छ ।

भारत र चीनबीचको तनावका कारण भारत सरकारले टिकटकसहित ५० भन्दा बढी चिनियाँ एपमा प्रतिबन्ध लगाएको केही समयपछि अमेरिकाले पनि टिकटक र वीच्याटमा प्रतिबन्ध लगाएको हो ।

वीच्याटको मालिक चिनियाँ कम्पनी टेन्सेन्ट हो । ट्रम्पको उक्त आदेशपछि टेन्सेन्टको सेयरको मूल्य घटेको छ ।

अमेरिका राष्ट्रपतिले टिकटक र वीच्याट प्रतिबन्ध लगाउने आफ्नो आदेशमा सूचना तथा सञ्चार तरिका तथा सेवाको सप्लाइ चेनसँग सम्बन्धित राष्ट्रिय आपतकालको सामना गर्नका लागि अतिरिक्त कदम उठाउनु जरुरी भएको बताएका छन् ।

‘अमेरिका र चीनका कम्पनीहरुले बनाएका मोबाइल एपको विस्तारसँगै अमेरिकाको राष्ट्रिय सुरक्षा, विदेश नीति र अर्थव्यवस्थामा खतरा उत्पन भएको छ,’ उनले भनेका छन् ।

ट्रम्पले दुबै एपलाई ‘खतरा’को संकेत दिएका छन् ।

टिकटकलाई बाइटडान्स नामक कम्पनीले सन् २०१७ मा शुरुवात गरेको थियो । त्यसपछि उसले म्युजिकल्ली नामक भिडियो सेवालाई खरिद गरेको थियो । जुन अमेरिका तथा युरोपका युवामाझ निकै लोकप्रिय थियो ।

पूरा विश्वमा टिकटकका ५० करोड तथा अमेरिकामा मात्रै करिब ८ करोड टिकटकका प्रयोगकर्ता छन् । टिकटकका प्रयोगकर्तामध्ये २० वर्ष वा त्योभन्दा कम उमेर समूहका धेरै छन् ।

अमेरिकामा अधिकारी तथा नेताहरुले टिकटकका माध्यमबाट बाइटडान्स कम्पनीले डाटा एकत्रित गरिरहेको र त्यो तथ्यांक चिनियाँ सरकार समक्ष पुर्याएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
केही समय अघि माइक्रोसफ्ट कम्पनीले टिकटक खरिद गर्नका लागि बाइटडान्स कम्पनीसँग कुराकानी गरिरहेको छ र उसले १५ सेप्टेम्बरसम्म यो सम्झौताको कुराकानी पूरा हुने अनुमान गरिएको छ ।

माइक्रोसफ्टले अमेरिका, क्यानडा, अष्ट्रेलिया र न्यूजिल्याण्डको बजारमा टिकटकको अधिकार खरिद गर्न चाहेको छ ।  – एजेन्सी


क्लिकमान्डु