काठमाडौं महानगरभित्र विद्यार्थीको रुचिअनुसारको सिकाइ कार्यक्रम शुरु गरिँदै, छानिए २५ विद्यालय



काठमाडौं । विद्यार्थीको चाहना र इच्छा अनुसारका विषय अध्ययन गर्न पाउने गरी काठमाडौैं महानगरपालिकाभित्रका २५ विद्यालयमा व्यवहारिक सिकाइ कार्यक्रम सञ्चालन हुने भएको छ ।

घोकन्ते विद्या मात्रै अगाडि बढाइरहेको नेपालको शिक्षा प्रणालीका थप केही सुधार गर्ने लक्ष्यका साथ महानगरभित्रका विद्यालयमा पहिलो चरणमा व्यवहारिक ज्ञान सहितको शिक्षा दिन लागिएको हो ।

विशेष गरी महानगरभित्रका सामूदायिक विद्यालयमा व्यवहारिक ज्ञान सहितको शिक्षा प्रदान गर्न लागिएको हो । महानगरले सञ्चालन गर्न लागेको उक्त शैक्षिक प्रणालीलाई ‘स्टिम शिक्षा प्रणाली’ नाम दिइएको छ । अझ त्यसलाई अर्को शब्दमा आविष्कार कार्यक्रम पनि नाम दिइएको छ ।

आविष्कार कार्यक्रमका लागि आवश्यक कार्यविधि तयार हुनका साथै बजेट समेत विनियोजन भइसकेको महानगरको सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले बताए ।

उनका अनुसार अब विद्यालयसँग सम्झौता गरेर काम अघि बढाउन मात्रै बाँकी छ । अहिले कोरोनाका कारण सिर्जना भएको समस्याले गर्दा समय लागेको हो । त्यस कार्यक्रमको लागि २५ वटा विद्यालय समेत छनौट भएका छन् ।

कोरोनाका कारण उक्त कार्यक्रम सुरु हुन नसकेपनि कोरोना न्यूनिकरण भएसँगै कार्यक्रमले पूर्णता पाउने छ ।

आविस्कार कार्यक्रम अर्थात् स्टिम कार्यक्रममा विज्ञान, प्रविधि, इन्जिरियरिङ, मानविकी र गणितीय विषयमा किताबी ज्ञान भन्दा बाहेक विद्यार्थी आफैले आविष्कार गर्ने क्षमताको विकास गरिने बस्नेतको भनाइ छ । यस कार्यक्रमका लागि विभिन्न २५ विद्यालयमा आविष्कार क्लबको स्थापना गरिनेछ । यस्तै , दिगो विकासका लक्ष्यसँग सम्बन्धित समस्याको समाधान गर्नका लागि महानगरस्तरीय आविष्कार प्रतिस्पर्धा समेत गरिनेछ ।

कार्यक्रमको छनौटमा परेका विद्यालयमा कक्षा ५ देखि कक्षा ९ सम्मका १५ देखि २० विद्यार्थीहरु समेटेर आविष्कार क्लब गठन गरिनेछ ।

आगामी भदौदेखि शुरु भई ६ महिनासम्म उक्त कार्यक्रम सञ्चालन हुनेछ । त्यस क्लबका विद्यार्थी स्टिमका शिक्षकामार्फत् गरिने विभिन्न कार्यशालामा भाग लिनेछन् ।

ती विद्यार्थीलाई आवश्यक पर्ने स्रोत तथा साधन समेत कार्यक्रमले उपलब्ध गराउनेछ । क्लवका विद्यार्थी हप्ताको दुइ पटक भेला भई उपलब्ध औजार तथा उपकरण प्रयोग गरी विज्ञान, प्रविधि, इञ्जिनियरिङ, कला र गणितको माध्यमबाट समस्या हल गर्ने उपायको खोजी गर्नेछन् ।

उनीहरुले किताबी ज्ञानलाई व्यवहारमा उतार्ने कलाको अभ्यास गर्नेछन् । शिक्षक–विद्यार्थी सिकाइभन्दा साथिसाथिबीच सिक्ने र सिकाउने वातावरणको विकास गरिनेछ ।

कार्यक्रमको अन्त्यमा प्रत्येक विद्यालयका आविष्कार क्लबहरुको सहभागितामा आविष्कार मेला सञ्चालन गरिनेछ । त्यसमा दिइएको समस्याको उत्तम हल निकाल्ने विद्यालय तथा विद्यार्थीहरुलाई पुरस्कृत गरिनेछ ।

यो कार्यक्रमले विद्यार्थीलाई रुचिअनुसार नयाँ नयाँ कुरा आविष्कार गर्नेतर्फ झुकाव रहोस भनेर उक्त कार्यक्रम शुरु गर्न लागिएको हो ।

विद्यार्थीले गरेको कार्यक्रमबाट महिनामा एकपटक आन्तरिक भेला गरेर आफ्नो सिर्जना अरुलाई देखाउने र नयाँ आउन चाहनेलाई सजिलो हुने उनको तर्क छ । यो कार्यक्रमको लागि प्रत्येक विद्यालयका लागि १÷१ लाख रुपैयाँ बजेट विनियोजन गरिएको उपाध्यक्ष बस्नेतको भनाइ छ ।

त्यस रकमले विद्यार्थीको लागि आवश्यक उपकरण खरिद गर्नुपर्ने हुन्छ । विद्यालयको लागि आवश्यक शिक्षक भने आयोगले नै पठाउने भएको छ । साताको कम्तिमा २ दिन विद्यार्थीले समूहमा काम गर्नेछन् ।


क्लिकमान्डु