साउन लागेसँगै घरजग्गाको कारोबार बढ्यो, सुनसरीमा सबैभन्दा बढी कारोबार



काठमाडौं । लकडाउनको कारण साढे दुई महिना बन्द भई खुलेको मालपोत कार्यालयमा कारोबार बढेको छ । मुलुकभर सञ्चालनमा रहेका १०८ वटा मालपोत कार्यालय लकडाउनपछि असार २ गतेदेखि कारोबार शुरु गरेका थिए ।

सरकारले गत ११ चैतबाट ६ साउनसम्म लकडाउन गरेको थियो । लकडाउनअघि फागुन महिनामा मात्र कूल १ लाख ६२ हजार कारोबार भएका थिए । लकडाउनपछि खुलेको कार्यालयमा असार महिनामा कूल १६ हजार ६०७ वटा कारोबार भएको छ ।

लकडाउन खुकुलो भए पनि यातायातलगायतका विभिन्न क्षेत्रमा प्रतिबन्ध यथावत रहेकाले फागनुको तुलनामा असारमा निकै कम कारोबार भएको हो । तर साउनयता भने कार्यालयमा मालपोत कारोबारले गति लिएको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागद्वारा उपलब्ध तथ्याङ्कअनुसार असार महिनाभन्दा साउन २० गतेसम्ममा ४६ हजार ३ सय ६१ ले मालपोत कारोबार बढेको छ । असार महिनामा १६ हजार ६०७ कारोबार भएकोमा २७९ प्रतिशतले बढेर ६२ हजार ९ सय ६८ कारोबार साउन २० गतेसम्म भएका छन् ।

मालपोत कार्यालय खुल्ला भएसँगै दुई महिनामा क्रमिकरुपले बढेको भूमि व्यवस्थापन तथा अभिलेख विभागका सूचना अधिकारी सञ्जिव नेपालले जानकारी दिए ।

‘दुई महिनामा नै कारोबार ८० प्रतिशतले बढेको छ,’ सूचना अधिकारी नेपालले क्लिकमाण्डूसँग भने, ‘तर कोरोनाको संक्रमण दिनहुँ बढ्दा सामान्य अवस्थाको भन्दा अहिले कारोबार घटेको छ ।’

केही जिल्लामा कोरोना बढेसँगै आवातजावतमा निषेध भएका कारण सेवाग्राही नआउने भएकाले केही मालपोत कार्यालय अझै सुचारु हुन नसकेको उनले बताए । तर, सेवाग्राहीको आवश्यकता अनुसार अधिकांश मालपोत कार्यालय सञ्चालनमा रहेका विभागले जनाएको छ । यस्तै, लकडाउनका कारण घरजग्गाको कारोबारमा कमी आएको उनको बुझाइ छ । साथै, मानिसहरू चाहेर पनि मालपोत कार्यालयसम्म पुग्न नसकेको र संक्रमणको जोखिमले जान नसकेको अवस्था रहेको उनको भनाइ छ ।

कोरोना भाइरसको कारणले जिल्ला बाहिर आवतजावतमा कडाइ गरेको छ । जसले गर्दा सेवाग्राहीहरू निकै प्रभावित भएका छन् ।

साउनबाट दैनिक २ हजारदेखि ५ हजारसम्म दैनिक कारोबार भइरहेको नेपालले बताए ।

‘विगतको दिनमा दैनिक ५ हजारभन्दा माथि कारोबार गर्ने मालपोत कार्यालय अहिले कोरोना भाइरसको महामारीका बेला पनि लगभग ३ हजारभन्दा माथि कारोबार गर्न सकेका छन्’ उनले भने ।

साउनमा सबैभन्दा बढी कारोबार सुनसरीमा

असार २ गतेबाट कारोबार शुरु गरेको नेपालभरिका मालपोत कार्यालयमध्ये साउनमा सबैभन्दा बढी कारोबार भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा–सुनसरीले गरेको छ ।

इनरुवा–सुनसरीले साउन २० गतेसम्म मात्रै २ हजार ६ सय ९५ करोबार गरेको छ । त्यस्तै, बेलवारी–मोरङले २ हजार ५ सय भद्रपुर–झापाले २ हजार ३ सय ७८ कारोबार गरेको छ । त्यसपछि उपत्यकाका जिल्ला भक्तपुर र लगनखेलले कारोबार बढी गरेको छ ।

यस्तै, लकडाउनअघि फागुन महिनामा भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर–झापालले सबैभन्दा बढी कारोबार गरेको थियो । फागुनमा भद्रपुर–झापाले ६ हजार १ सय ७४ कारोबार गरेको थियो । त्यस्तै, इनरुवा–सुनसरीले ६ हजार १ सय ७४, बेलवारी–मोरङले ५ हजार २ सय ६२, लगनखेल–ललितपुरले ४ हजार ८१ कारोबार गरेको थियो ।

कारोबार शुरु गर्न नसकेका १३ मालपोत

सरकारले लकडाउन खुकुलो गरेसँगै १०८ मालपोत कार्यालयमध्ये १३ वटा मालपोत कार्यलयले भने कारोबार शुरु गर्न सकेको छैन् । त्यस्तै, ९५ वटा मालपोत कार्यालयले भने निरन्तर कारोबार गरिरहेको विभागले जनाएको छ ।

देशभरका मालपोत कार्यालयमध्ये कारोबार हुन नसकेको मालपोतमा दिङ्गला–भोजपुर, खोटाङबजार–खोटाङ, बलरा–सर्लाही, चन्द्रनिगापुर–रौतहट, मनाङ, रुकुम (पुर्व, पश्चिम), डोल्पा, मुगु, हुम्ला, झोताभैरव –बझाङ, बाजुरा र अछाम रहेका छन् ।


क्लिकमान्डु