मैले शुरुदेखि उठाएको महासंघको वैधानिकता र विधानको माग सम्बोधन भएको छ: चन्द्र ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकालले आफूले शुरुदेखि उठाउँदै आएको मागका आधारमा महासंघको पदाधिकारीको बैठकले ६ सदस्यीय समिति गठन भएको बताएका छन् ।

बुधबार महासंघको जुम मिटिङमार्फत् बसेको पदाधिकारीको बैठकले ५४औं वार्षिक साधारण सभा र निर्वाचनको मोडालिटी तय गर्ने विषयमा सुझाव दिन समिति गठन गरेको छ ।

‘मैले शुरुदेखि नै यो विषय उठाएको हो, त्यसबेलामा चुनावको मात्रै कुरा गरेको भनेर व्याख्या गरियो, तर मैले महासंघको वैधानिकता र विधान सम्मत काम हुनुपर्छ भनेको थिए, आज त्यो माग पूरा भएको छ,’ उनले भने ।

उनले शुरुदेखि आफूले उठाएको मागमा अहिले आएर सबै एकजुट भएर सर्वसम्मत निर्णयबाट समिति गठन गरिएको बताए ।

आज गठन भएको समितिमा जिल्ला नगर, एसोसिएट संघ र वस्तुगत संघका तर्फबाट २/२ जना प्रतिनिधि सदस्य छन् ।

गठित समितिले १५ दिनभित्र साधारण सभा र निर्वाचनको मोडालिटी कस्तो गर्ने भन्ने विषयमा सुझाव दिनेछ । उक्त सुझावका आधारमा महासंघको पदाधिकारी बैठकले निर्णय लिनेछ !


क्लिकमान्डु